पाइनै छाड्यो गिद्धको खान्की

पाइनै छाड्यो गिद्धको खान्की
सुन्नुहोस्

गुलरिया : नेपालमा गिद्धको आहारा घट्न थालेको छ। घरमा पालेका पशुहरू मरणोपरान्त माटोमुनि पुर्ने तथा कृषि प्रणालीमा विषादीको प्रयोग गर्ने परिपाटी बढेसँगै गिद्धको आहारामा कमी आएको हो।

गिद्धको आहारामा कमी आएर संरक्षणमा चुनौती आएपछि संरक्षणकर्मीहरू चिन्तित भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी प्रकृतिको कुचिकारको रूपमा परिचित पन्छी गिद्धको आहारामा संकट आएको बताउँछन्। ‘घरपालुवा जनावर मरेपछि माटोमा पुर्ने प्रचलन बढेको छ। कृषिमा प्रयोग गरिने किटनाशक औषधीका कारण किरा फट्याङ्ग्राको आहारा पनि गिद्धका लागि जोखिम छ,’ उनले भने। 

विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन्। जसमध्ये नेपालमा पाइने गिद्धमध्ये ८ प्रजाती संकटापन्न अवस्थामा छन्। चारवटा प्रजाति अति संकटापन्न अवस्थामा छन्। गिद्धको संख्या घट्दा पर्यावरणमा समेत असर पुगेको भण्डारीले स्पष्ट पारे। मरेका पशुहरू खाएर प्रकृति शुद्ध पार्ने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ।

नेपालमा डंगर गिद्ध, सानोखैरो गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोड गिद्ध, लामोठुँडे गिद्ध, राजगिद्ध र खैरो गिद्ध गरी ९ प्रजातीका गिद्ध पाइने बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवं पन्छी विज्ञ रामबहादुर शाहीले बताए। रैथाने ६ प्रजातीका गिद्धले नेपालमा गुँड बनाउँछन्। दुईवटा हिउँदे आगन्तुक हुन्। एक प्रजाति लामो ठुँडे गिद्ध कहिलेकाँही देखिन्छन्। डंगुर गिद्ध, सानोखैरो गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोड गिद्ध नेपालका रैथाने हुन्। राजगिद्ध र खैरोगिद्ध हिउँदे आगन्तुक हुन्।

बर्दियामा मात्रै ७ प्रजातिका गिद्ध भेटिन्छन्। नेपालमा गिद्धको संख्या २० हजार छ। अव्यवस्थित विद्युतीय तारबार, अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धहरू उद्धार हुन नसक्नु, बासस्थान विनास, आधुनिक कृषि प्रणालीको विकासलगायत मृत चौपाया गाड्ने चलनले आहारा अभाव गिद्ध संरक्षणका प्रमुख चुनौती हुन्। शाहीले भने, ‘पशुहरूमा लुकिछिपी हुने डाइक्लोफेनेक औषधीहरूको प्रयोग गिद्ध मासिनुको प्रमुख कारण हो।’

यसैबीच बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा विविध कार्यक्रम गरी गिद्ध सचेतना दिवस मनाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, एनटीएनसी, पन्छी संरक्षण संघ, प्रकृति संरक्षण क्लब, संरक्षणका क्षेत्रमा कार्यरत संघ–संस्थाहरूलगायत स्थानीयको सहभागितामा गिद्ध संरक्षणका बारेमा सचेतना जगाउँदै दिवस मनाइएको हो। सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्व गिद्ध सचेतना दिवसको रुपमा मनाइँदै आएको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.