कांग्रेसले भन्यो - सहमहामन्त्री यादवमाथि सांघातिक हमला गर्नेमाथि कडा कारबाही होस्
काठमाडौं : नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निन्दा गरेको छ। घटनालगत्तै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्।
'सह-महामन्त्री महेन्द्र यादवमाथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण भएको हो,'विज्ञप्तिमा भनिएको छ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको कांग्रेसले जनाएको छ।
आक्रमण गर्ने व्यक्तिमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।
बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि सांघातिक आक्रमण भएको थियो। नुवाकोटका श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए।
उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।