कर्णालीमा अधिवेशनको तयारीमा जुट्यो एमाले
अधिवेशनबारे जानकारी दिन बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश समितिमा १० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताए।
वीरेन्द्रनगर : कर्णालीमा नेकपा एमालेले अधिवेशनको तयारी थालेको छ। आगामी असोज १० र ११ गते प्रदेश अधिवेशनको तयारीमा जुटेको एमालेले जनाएको छ। त्यसका लागि आवश्यक तयारीका काम भइरहेको एमाले कर्णालीका इन्चार्जसमेत रहेका सचिव लेखराज भट्टले जानकारी दिए।
अधिवेशनबारे जानकारी दिन बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश समितिमा १० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताए। प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गर्दै उनले अधिवेशनका लागि छनोट भएका प्रतिनिधिमध्ये एक तिहाइ महिलाको संख्या अनिवार्य गरिएको बताए।
प्रदेश इन्चार्ज भट्टले प्रथम कर्णाली प्रदेश अधिवेशनका लागि ६ सय ५० जना प्रतिनिधि तोकिएको र त्यसमा दलित, आदिबासी जनजाति, अल्पसंख्यकलार्ई प्रमुख प्राथमिकतामा राखिएको बताए।
एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गर्ने तयारी भइरहेको बताए। एमाले कर्णालीको नेतृत्वका लागि १० जनाभन्दा धेरैले आकांक्षा व्यक्त गरेका छन्। यहाँ पनि लुम्बिनीमा जस्तै प्रदेशको नेतृत्वका लागि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
कर्णालीमा प्रदेश अध्यक्षका लागि कालिकोटका मीनबहादुर शाही, नगिन्द्र शाही, दैलेखका विष्णु रिजाल, राजबहादुर बुढा, जाजरकोटका नीरज आचार्य, सुर्खेतका नवराज रावत, ध्रुव शाही, हुम्लाका दल रावल, मुगुका मोहन बाँनियालगायत नेताहरूले लबिङ गरिरहेका छन्।
कर्णाली प्रदेशबाट एमालेमा ३० जना केन्द्रीय सदस्य छन्। कार्यकारी भूमिका हुने भएकाले पोलिटब्युरो सदस्यसमेतले प्रदेश अध्यक्ष बन्ने रहर गरिरहेका छन्।
पोलिटब्युरो सदस्य गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेलले प्रदेश अध्यक्ष बन्नका लागि चाहना राखेको एमालेका प्रदेश स्तरीय नेताहरू बताउँछन्। कर्णालीमा पौडेल गुटको नेतृत्व स्थायी कमिटी सदस्य यामलाल कँडेलले गरिरहेका छन् भने अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पोखरेल गुट चलाइरहेका छन्। कर्णाली एमालेमा कँडेल र बोगटीबीचको रस्साकस्सीले सर्वसम्मत नेतृत्व चुनिने सम्भावना कम छ।