कारागारको पर्खाल नाघेर भागेका बुढाक्षेत्री अझै भेटिएनन्
गुलरिया : आइतबार बिहान सवा ३ बजे बर्दिया कारागारबाट फरार ‘टोपे’ भनिने अजीव बुढाक्षेत्री आसपासका जिल्ला वा सीमावर्ती भारततर्फ पुगेको प्रहरीको आशंका छ। बुढाक्षेत्रीलाई फेला पार्न नसकेपछि प्रहरीले उनको हुलिया सार्वजनिक गरेको छ।
बर्दिया जिल्ला अदालतले ०७२ फागुन ५ गते एक जना व्यक्तिको हत्याको आरोपमा बुढाक्षेत्रीलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजाय सुनाएको थियो। त्यस बेला बुढाक्षेत्री अदालत परिसरबाटै भागेका थिए। ठाकुरबाबा नगरपालिका–८, सुतैया घर भएका उनलाई प्रहरीले ७ वर्षपछि ०७९ कात्तिक २१ गते पक्राउ गर्यो। त्यसपछि अदालत दाखिला गर्यो। हत्या र भागेको दुवै कसुर जोडेर अदालतको पुनः ३० वर्ष कैद सजाय सुनायो।
त्यसपछि उनलाई जेलमा राखियो। तर, करिब ९ महिना २६ दिन कारावास जीवन बिताएपछि भदौ १७ गते पुनः कारागारको पर्खाल नाघेर भागे। स्रोतका अनुसार पर्खाल नाघेर भाग्ने क्रममा प्रहरीसँग लछारपछार परेको थियो। कपडासमेत नलगाएको अवस्थामा भारतीय जंगलमा देखेको सूचनाहरू स्थानीयले दिएको प्रहरीले जनाएको छ। प्रहरीका जासुसी कुकुरले पनि सीमातर्फ नै बुढाक्षेत्री भागेको संकेत देखाएका छन्।