संघीय निजामती सेवा विधेयक संशोधनको माग
निजामती सेवा दिवसमा जीतपुरसिमराका कर्मचारीको हातमा कालो पट्टी
सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले २०औं निजामती सेवा दिवसका दिन शुक्रबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरेका हुन् ।
प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेर दिवस नमनाउने निर्णय गरेका थिए ।
स्थानीय तहका कर्मचारीलाई विभेद गर्दै प्रस्ताव गरिएको निजामती सेवा विधेयक संशोधन नभएसम्म कुनै पनि दिवस नमनाउने कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जीतपुरसिमराका कर्मचारीले संघीय निजामती सेवा विधेयक नभइ एकीकृत निजामती सेवा ऐन ल्याउनपर्ने बताएका छन् । उनीहरूले सरकारलाई विधेयक संशोधन गर्न १४ बुँदै सुझाव समेत दिएका छन् ।
सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । तर, देशभरका स्थानीय तहका कर्मचारीले भने यसको विरोधमा उत्रिएका छन्।