६१ किलो सुन प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सर्राफ पक्राउ
सिमराः ६१ किलो सुन प्रकरणमा बाराका शिवकुमार सर्राफ पक्राउ परेका छन् । सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका सर्राफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार कलैयाबाट पक्राउ गरेको हो ।
सर्राफलाई पक्राउ गरी काठमाडौं लगिएको छ । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा सर्राफको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको स्रोतले जनाएको छ । सर्राफ सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत हुन् ।
उनी पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । यस प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा समेत पक्राउ परिसकेका छन् ।
हङकङबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए पनि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।