प्रसिद्ध जोगेनी जाँत,जहाँ दलित हुन्छन् 'पूजारी' (फोटो फिचर)
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ मेला सम्पन्न भएको छ । प्रत्येक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ बिहीबार सम्पन्न भएको हो । यो जाँतमा मुख्य पुजारी सुनी थरका दलित समुदायका मानिस छन् । हजारौं दर्शनार्थीले मेला भरेका छन् ।
यो मेला परापूर्वकालदेखि नै मनाइँदै आइएको हो । सो मेलामा सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।
जाँतमा अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गर्छन् भने उक्त जात्रामा जातीय भेदभाव हुँदैन । किरियामा बसेका या रजस्वला भएका महिला पनि यो जात्रामा जान पाउँछन् । उक्त जात्रामा सुनी,तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ ।
दलित पूजारी हुने यस मेलामा भुतको पुजा गर्ने गरिन्छ । जात्राको दिन तोकिएपछि गाउँबाट सार्की थरका र तिरुवा थरका परिवारले पूजा सामाग्री पोखलो उठाउने काम गर्दछन् ।
उक्त जात्राको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन् । भागेश्वर गाउँपालिकाले मेलाको अवसरमा सार्वजनिक बिदा समेत दिएको थियो।