किन पाइँदैनन् सर्वोत्कृष्ट कर्मचारी ?

किन पाइँदैनन् सर्वोत्कृष्ट कर्मचारी ?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : एक लाखभन्दा बढी कर्मचारी रहेको निजामती सेवामा यसपालि कोही पनि सर्वोकृष्टमा छनोट भएनन्। २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता सरकारले सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी नै भेटेको छैन।

प्रत्येक वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने व्यवस्था छ। यो वर्ष सर्वोत्कृष्टबाहेक ४० जनालाई मात्र पुरस्कार दिइयो। सर्वोत्कृष्टलाई २ लाख, उत्कृष्टलाई १ लाख र निजामती सेवा पुरस्कारबापत ५० हजार रुपैयाँ दिइन्छ। 

सरकारले हालसम्म चार जनालाई मात्रै निजामती सर्वोत्कृष्ट पुरस्कार दिएको छ। तिनमा २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी,  २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी छन्। विगतमा पुरस्कार पाएकाहरू विवादरहित हुन सकेनन्। यसले पनि सरकारले सर्वोत्कृष्ट छान्ने आँट नगरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।  

२०६१ सालदेखि निजामती सेवा दिवस बनाउन थालिएको हो। निजामती सेवा ऐन भने २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यका पालामा बनेको थियो। तल्लो तहसम्मै निरन्तर जनसेवामा रहेका इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीको कार्यसम्पादनलाई ध्यान दिएर मूल्यांकन गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। 

जनप्रशासन क्याम्पसका सहप्राध्यापक डा. नरेन्द्र पौडेल कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ नभएका कारण सर्वोत्कृष्ट पाउन गाह्रो भएको ठान्छन्। ‘निजामती प्रशासनले इमान्दारीका साथ काम गर्न सकेन। त्यही भएर सर्वोत्कृष्ट कर्मचारी नपाइएको हो,’ उनले भने। 

पूर्वसचिव एवं प्रशासनविद् शारदाप्रसाद त्रिताल भने राम्रो काम गर्ने कर्मचारी नभएको भन्दा पनि नखोजिएको बताउँछन्। छनोट प्रक्रिया र छनोट गर्ने हाकिमको तालमेल नभएर सर्वोत्कृष्ट कर्मचारी पुरस्कार वितरण हुन नसकेको उनको ठम्याइँ छ। उनले छनोट प्रक्रिया पनि कडा रहेको सुनाए। ‘राम्रो काम गर्ने कर्मचारी जति पनि छन्। एक महिनाअघि खोजेर कहाँ पाइन्छ, ?’ उनले भने, ‘छनोट प्रक्रिया पनि कडा छ।’  

रेकर्ड (अभिलेख) राख्ने प्रणाली नहुनाले पनि नपाइएको उनको भनाइ छ। ‘हाम्रोमा रेकर्ड राख्ने प्रणाली नै छैन’, उनले भने। उनी राम्रा र जटिल कामको समाधान गर्ने कर्मचारी निजामती प्रशासनमा पर्याप्त भएको बताउँछन्। ‘सिफारिस गर्ने हाकिमको सरुवा भएको भएै हुन्छ,’  उनले भने, ‘नयाँ आएकाले वास्तविक काम गर्ने कर्मचारी चिन्दैनन्, अनि कसरी छनोट हुन्छ राम्रा कर्मचारी ?’ 

  •     सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी उत्कृष्ट, आदर्शवान्, नैतिकवान् तथा अनुकरणीय कार्यसम्पादन गरेको हुनुपर्ने व्यवस्था 
  •     विगतमा पुरस्कृत हुनेहरू विवादरहित हुन नसकेकाले सरकारले सर्वोत्कृष्ट निजामती पुरस्कार दिन आँटेन  

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी उत्कृष्ट, आदर्शवान्, नैतिकवान् तथा अनुकरणीय कार्यसम्पादन गर्ने हुनुपर्ने व्यवस्था छ। निजामती सेवा नियमावलीका अनुसार पुरस्कार सिफारिस गर्न मुख्यसचिवको अध्यक्षमा समिति हुन्छ। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको हुनुपर्ने व्यवस्था छ। 

त्यस्तै, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा प्रशासनिक बेरुजु नदेखिएको, प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको हुनुपर्छ। 

को को पुरस्कृत भए ? 

सरकारले २०औं निजामती सेवा दिवसमा ४० कर्मचारीलाई पुरस्कृत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूलाई पुरस्कृत गरेका छन्। उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल छन्। 

त्यस्तै, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्रसाद लम्सालले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाए। राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदवारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनीलकुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजस्व कार्यालय हेटौंडाका नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.