सुनको झारी नि सुकिलो पारी...

तीजमा संगिनी

सुनको झारी नि सुकिलो पारी...

संगिनी गीत, गाथा नदी किनारमा उब्जिए। दुःखका साथ भन्नुपर्छ। आज हामी नदीकिनारमा त छौं तर नदीको नजिक छैनौं।

कोसीको किनारमा के फूल फुल्यो

फूल र फुल्यो सयपत्री किनारै उज्यालो

आकाशले धर्तीलाई हरियाली तीज पठाइसकेको छ। माइती बादलले पठाएको हरियो सारी र चुरा पहिरिएर सिंगारिएकी थिइन्– पहाड रानी। वनपाखामा मयूर नाचिरहेको थियो। बुट्ट्यानबाट झ्याउँकिरी बासेको आवाज आइरहेको थियो। म थिएँ– पूर्वी पहाडमा।

म त्रिशूली, तादी र लिखुको सेरोफेरोमा हुर्किएको मान्छे। बागमतीपूर्वको कोसी प्रदेशको भाका अनौठो लागिरहेको थियो। यस्तो तीज गीत पहिलोपटक सुन्दै थिएँ। मैले त हरिदेवी कोइरालाको हमक्याइँलो, सितारा राखेको डोरी, हीरादेवी वाइबाको शिरफूल धुन पनि छैन मैले जानेको, सावित्री शाहको हातमा लिउँला कलम मसीजस्ता 

खालका तीज गीतमात्र सुनेको थिएँ। तर यस्तो तीज गीत पहिलोपटक सुन्दै थिएँ। गीत रहेछ– बागमतीपूर्व कोसी प्रदेशमा प्रचलित संगिनी गीत।
लोकभाषामा लोकद्वारा रचित गीत नै लोकगीत हो। कुनै पनि देशको सभ्यता, संस्कृति आदिको परिचय लोकगीतमार्फत नै हुन्छ। पूर्वीय सभ्यताको वेद वेदान्तमा मत्र्यलोक, सत्यलोक, नारदलोक आदिको अधिक चर्चा भएको छ। लोकशब्दको वैदिक साहित्यमा अधिक पाइन्छ। आदिकविले पनि एकदिन नारद सत्यलोक पुगिगया भनेर लोकशब्दबाट रामायणको सुरुआत गरेका छन्। जब बौद्ध धर्मको उदय भयो, मानवीय भावनाको पनि महŒव बढ्दै गयो। लोक शब्द सम्पूर्ण मानव जाति माझ उत्कृष्टताको बोधक बन्यो। सारा लोकमानसका विचारलाई संरक्षण र संवद्र्धन गर्ने माध्यम नै लोकसाहित्य बन्यो।

समाजमा दुई वर्ग देखा परे– एउटा सम्पन्न वर्ग अर्काे वचित वर्ग। सम्पन्न वर्ग शिक्षित थिए, तिनीहरूले आफ्ना कृतिलाई लिपिबद्ध गरे। यसको ठीकविपरीत जुन वर्गहरू निरक्षर थिए, शिक्षा र पहुँचको अवसरबाट वञ्चित थिए। उनीहरूले आफ्ना संस्कार, रिवाज, प्रथा, परम्परा आदिलाई लोकगीत, लोककथा, लोकनाटक आदिको माध्यमबाट सुरक्षित राख्ने कोसिस गरे। जसमा लोकगीतको स्थान प्रमुख रह्यो। 

लोकगीत त्यस्तो विधाको रूपमा चर्चित भयो। जुन कुनै पनि व्यक्ति र वर्ग विशेषसँग सम्बन्धित नभएर सिंगो समाजको धरोहर बन्यो। यसको उद्भव जनसाधारणको मौखिक परम्परासँग रह्यो। यो नै हाम्रो समाज, परिवार, नातागोताको सम्बन्ध, मेलमिलाप, गृहस्थी जीवनको समस्या आदिको जानकारी पाउने सरल माध्यम बन्यो। संगिनी गीतलाई पनि यही दृष्टिकोणबाट हेर्नु जरुरी छ।

संगिनी बाह्रमासे, सर्वकालिक लोकगीत भए पनि मूलतः संगिनी लोकगाथा हो। यसको उत्पत्ति गाथाबाट नै सुरु भएको छ। गाथा अर्थात् कथात्मक गीत। जसरी पश्चिममा सोरठी, घाटु, धमारीलगायतका लोकगाथा चर्चित छ। त्यस्तै पूर्वमा चर्चित गाथामध्ये संगिनी गाथा हो। एक शब्दमा गाथालाई जनसाधारणको महाकाव्यभन्दा अतिशयोक्ति नहोला। लोकगीत र गाथामा यही फरक हुन्छ। लोकगीतको स्वरूप सानो हुन्छ। लोकगाथाको स्वरूप बृहत् हुन्छ। यो सय पानाभन्दा पनि अधिक हुन्छ।

यस्ता गाथाहरू समुदायको सुख, दुःख, हर्ष, विस्मात, राग, विराग आदिको चेतले उब्जिएको हुन्छ। यसको रचनाकार अज्ञात भएकाले प्रामाणिक मूलपाठको अभाव पाइन्छ। गाथाको सूत्रपात गरेपछि गाथाकार समाजलाई सुम्पिएर ओझेल हुन्छ। तत्पश्चात् यसमा निरन्तर अन्तहीन धारा प्रवाहित हुन थाल्छ। एउटा काल सकिन्छ, अर्काे कालको आगमन हुन्छ।

गितांगेले आफ्नो इच्छा मुताबिक केही पंक्ति जोड्दै जान्छ। जब यो एक गितांगेबाट अर्काे गितांगेमा जान्छ। यसको स्वरूपमा परिवर्तन आउन थाल्छ। तर यसमा छन्द, अलंकार, सूक्ष्म भावको अभावको कारण साहित्य झैं पढ्नमा भन्दा श्रवण गर्नमा अधिक आनन्द आउँछ। यद्यपि यो मौखिक

परम्परागत रहे पनि वेदझंै लिपिबद्व भएनन्– गाथाहरू। यसको आकर्षक पक्ष भनेकै लिपिबद्ध नहुनु हो। जब लिपिबद्ध हुन्छ, स्वतः यसको महत्त्व पनि घट्छ। संगिनी गाथा र गीत पनि यसबाट अछुतो रहनै सक्दैन।

माथि नै उल्लेख गरिसके कि गाथा भन्नु नै कथात्मक गीत हो। संगिनी गाथा कोसी प्रदेशका राजा हरि मल्लसँग जोडिएको छ। उनै मल्ल राजाबारे ऐतिहासिक खोजमा उल्लेख भएको पाइन्न। हरि मल्ल राजाले राज्य गरेको ठोस प्रमाण भेटिन्न तर लोककथा, गाथा भने हरि मल्ल राजाको अधिक चर्चा भेटिन्छ। जसरी त्रिशूली पारिको सोरठी गाथामा जयसिंगे राजा र हेमवती रानीको चर्चा पाइन्छ। त्यस्तै संगिनी गाथामा हरि मल्ल राजा र भवल्ली रानीको चर्चा पाइन्छ।

अक्सर संगिनी गाउँदा कतै भवल्ली, कतै विमली त कतै विमलु रानी आदि भनेर सम्बोधन गरेको पाइन्छ। कथाअनुसार २०, २२ का हरि मल्ल राजा र पाँच वर्षकी भवल्ली रानीको विवाह हुन्छ। सानै उमेरकी रानीसँग विवाह गरेकोमा हरि मल्ल राजा पछुतो डुब्छन्। उक्त पीडा राजाले आमालाई सुनाउँछन्। अरुण उपत्यकाको संकलनमा रहेका गीतका यी गेडाहरूले हरि मल्ल राजाको अवसादग्रस्त मनोदशा छर्लंग पार्छन्–
बिसै र बाइसका हरि मल्ल राजा
चार पुगी पाँचकी भवल्ली रानी 
यी दुईको बिहे भयो नि 
सिरानमा सुताउँदा सिरानी हुन्छिन्
पाउमा राख्दा पाउ पोसै हुन्छिन्
म कसो गरुँ नि ?

यस कथामा तत्कालीन समाजको अनमेल विवाह, बालविवाहको मार्मिक र कारुणिक तस्बिर पाइन्छ। जसमा कस्तो पात्तिएको जोगी आएछ भनेर आमालाई इतिवृत्तान्त सुनाउँछिन्। अन्ततः आमाले छोरालाई चिनी हाल्छिन्। उनी त तिम्रा पति हुन् भनेर भनेर चिनाएको कुरा यी गेडाहरूले प्रष्ट्याउँछन्–
आमाले पनि चिनी है हालिन्
हरि मल्ल भनेर बालै हरि मल्ल भनेर 
हे शिव शिवनारायण हरि हरि मल्ल भनेर 
शिरदेखि पाउसम्म हेर्दै गहका आँसु तपतपी झारिन्
सुन न सुन नि हे मेरी वधू यी तिम्रा स्वामी हुन्
हे शिव शिव नारायण हरी यी तिम्रा स्वामी हुन्
पितृसत्तात्मक, सामन्ती र दासयुगमा नारी कतिसम्म दासी भएर जीवन जिउन बाध्य थिए भन्ने तथ्य यस्तो छ–
सुनको झारी नि सुकिलो पारी 
लौ झट्टै लिई आउ,
जोर पाउ धोइ नि सुकिलो पारी 
खोपीमा लिई जाउ ए मेरी वधू 
खोपीमा लिई जाउँ
हे शिवशिव नारायण हरि
खोपीमा लिई जाऊ।
अन्ततः रानीले चिन्छिन् र सुरुमा आफू
ले चिन्न नसकेको पीडा गेडामार्फत यसरी व्यक्त गर्छिन्–
कान चिरे जोगी डरलाग्दो फुस्रो 
कसरी चिनुँ म ए मेरी आमै कसरी चिनुँ म
चार पुगी पाँचकी थिइँ रे आमै कसरी चिनुँ म 
हे शिव शिव नारायण हरि कसरी चिनुँ म ?
हरि मल्ल राजाको गाथाबाट सुरु भएको यो गीत 
लोकमा यति चर्चित भयो कि यसका सुवासहरू चौतर्फी फैलिँदै गए। यो कमला खोंच, बागमतीमा पनि यसका धाराहरू प्रवाहित हुन थाले–
बागमतीको किनारमा के फूल फुल्यो 
फूल रै कटहर चम्पा किनारै उज्यालो 
दुई थुँगा टिपी मन्दिरमा चढाउँ 
ओ हर हर मन्दिरै उज्यालो।

कसले लगाएको यो फूलबारी
कसले बार्‍यो बार हरहर कसले बार्‍यो बार
गौरीले लगाएको यो फूलबारी 
शिवजीले बारे बार हर हर 
शिवजीले बारे बार ?

लयको माधुर्यताका कारण संगिनी गीतपूर्वको पहिचान बन्यो। अक्सर यो गीत बाह्रमासे गीत नै हो। महिलाले ढिकी, जाँतो, पानी, पँधेरो आदि गर्दा पनि यो गीत गाएको पाइन्छ। तर पनि यसको महŒव भने पूजाआजा, लाखबत्ती प्रज्ज्वलन, सप्ताह, एकाहा, नवाहा, विवाह उत्सव, तीज र विशेष कार्यक्रममा पनि रहेको पाइन्छ।

यो विशुद्ध महिलाहरूले मात्र गाउने गीत हो। यो गीत अरू भाषीले पनि त्यति नै रुचिको साथ गाइएको पाइन्छ। तर पनि यो गाथा, गीत मूलतः खसआर्य, वैदिक सनातनी, आर्य समुदायका महिला समुदायमा चर्चित छ। साथीसंगी मिलेर समूहमा गोलो घेरा बनाएर, टाउकोमा कलश राखेर, हात जोडी घुम्दै नाचिन्छ। लामो लेग्रो तानेर लस्काएर गाउँदै नाचिने यो गीत सुन्दा र नृत्य हेर्दा कताकता सुदूर पश्चिमको गौरा गीत र नृत्यको झल्को आउँछ। 

हुन सक्छ– खसआर्यहरू पश्चिमबाट पूर्व जाँदा पश्चिमका गौराको झल्को मेटाउन संगिनी पो रचे कि ? गौरा पर्व गीतको रूपमा मात्र सीमित छ भने संगिनी बाह्रमासको रूपमा। अनुमान सही नहुन पनि सक्छ। यो गीत सुरु गर्दा घरका कुल पितृ देउता, वरिपरि, गाउँघर, देउराली आदि देवीदेवता जुहारिन्छ। अनि खोलानाला, सिमेभुमे पुकारा गरिन्छ। मोनिका चुँडालको स्वरमा रहेको यी गेडाहरू यस्तै भाव दर्शिन्छ–

यसै र घरका नी कुलथानी देउता
यसै र गाउँका सिमेभुमे अनि नागै र नागिनी
तम रक्षा गरे पो हम रक्षे होला 
खेल्दै जाउँ संगिनी शिव शिव 
खेल्दै जाउँ संगिनी।

तीज पर्व केवल संस्कारसँग मात्र पर्व नभएर प्रकृतिसँग पनि जोडिएको पर्व हो। भाद्रमासको वर्षा ऋतुमा सुरु हुने यो पर्वमा चौतर्फी हरियाली छाइरहेको हुन्छ। प्रकृतिका हरियालीसँगै महिला हृदय नदी झै तरल भएर बगिरहेको हुन्छ। मयूर भएर नाचिरहेको हुन्छ। भन्नलाई हरितालिका तीज भनिन्छ तर यो वास्तवमा हरियाली तीज हो।

प्रकृतिको मादकता कारण कहीँ यसलाई मधुश्र्रवा तीज पनि भनिन्छ। यस्तै मधुश्रवा तीजमा बाटो माथिको बर पिपलका पात हरिया भएर बयली खेलिरहेका छन्। एउटी चेली यस्तै पातहरू हेर्दै बाबालाई सम्झिरहेकी हुन्छे। यस्तै बाह्य प्रकृति स्त्री मनका भित्री प्रकृतिका विरह, वेदनाका सुस्केरा अरुण उपत्यकाको संकलनमा रहेको यी गेडाहरूमा झल्किन्छ–

बाटै र माथिको वर र पिपल 
बयेली खेल्ने पात 
बाबै र ज्युको काखैमा बसी 
दुःख, सुख कहौंला भन्थे 
झमक्कै पर्‍यो रात 
हे शिव शिव, श्रीराम चन्द्र
झमक्कै पर्‍यो रात।

आज पनि ग्रामीण महिलाले अनेकौं बुहार्तन झेल्नुपर्छ। खेतबारी, बस्तुभाउ हेर्नु, घाँसदाउराका निम्ति रनवन चहार्नु उनीहरूको दैनिकी झैं भएको छ। उनीहरूबाट यही आशा गरिन्छ कि उनीहरू रातदिन मेसिन झै खटिइरहुन्। समाजको यो सोच अझै बदलिन सकेको छैन। पुस्तका खड्काको स्वरमा रहेको यी गेडा सायद यहि सोचको उपज हुनुपर्छ–

बाबा र ज्यूको धुरी है भरी परेवा घुरुरु 
नौडाँडा काटी दिई हाल्यौ बाबा मन रुन्छ धरुरु
तीजै र आयो नि चाँडै आयो माइतीघर जानलाई 
न आए बाबा न आए दाजु चेलीलाई लिनलाई
त्यो माइती गाउँलाई कुहिरोले ढाक्यो देखिन्न कुनै छेउ
यस्तै नै हो कि छोरीको कर्म पाइन मैले भेउ 
मेरो बाबा पाइन मैले भेउ।

लोकसाहित्यको प्रमुख विशेषता भनेकै त्यसको खुलापन हो। चाहे स्त्री मनका हार्दिकता होस्, प्रेम प्रणयका भाव नै होस् अथवा कोमलता नै किन नहोस् ? ती सब लोकगीतमा खुल्छन्। लोकगीतको सबैभन्दा महŒवपूर्ण पक्ष नै यही हुन्छ कि त्यसमा स्त्री मनको अनन्त खुला मैदान हुन्छ जहाँ उनीहरू उन्मुक्त भएर खेलिरहेका हुन्छन्। नवीनकुमार खड्काको संकलन र श्रेयषी चेम्जोङको स्वरमा रहेको सायद यही सोचको उपज हो कि–

बिहानी पख बालेको बत्ती 
जोर बत्ती झलल 
जेठा है दाजै नि डोलीमा चढ्दा 
शिर माउर फरर
जेठी है भाउजू नुहाउनै जाँदा 
दूध कोसी सरर।

संगिनी गीत, गाथा नदी किनारमा उब्जिए। दुःखका साथ भन्नुपर्छ। आज हामी नदीकिनारमा त छौं तर नदीको नजिक छैनौं। सबैजना नदीलाई फोहोरमैला बोक्ने गाडीको रूपमा सोच्ने मनोरोगले ग्रस्त छन्। कोसी र बागमतीको किनारामा फुलेको संगिनीजस्ता सुगन्धित फूलहरू बढ्दो आधुनिकीकरण, सहरीकरणका प्रचण्ड तापका कारण ओइलाएर झर्ने अवस्थामा पुगेका छन्। 

सस्ता र बजारिया तीज गीतका कारण कुनामा थन्किन बाध्य छन्। यस्ता फूलहरू फक्रिनु पर्छ। यी संस्कृतिका अमृतधारा हुन्। शदियौंसम्म लोकमानसका नसामा बगिरहनु पर्छ। अन्त्यमा सम्पूर्ण महिला दिदीबहिनीलाई हरियाली तीजको शुभकामनासहित संगिनीका यी गेडाहरू पस्किँदै 
बिट मार्न चाहन्छु–
कोसीको किनारमा के फूल फुल्यो 
फूलै र फुल्यो निलकमल किनारै उज्यालो
दुई थुँगा टिपी नि आकाशलाई चढाउँ 
दुई थुँगा टिपी नि धर्तीलाई चढाउँ 
धर्ती नै उज्यालो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.