साम्प्रदायिक सद्भाव भड्काउनेहरू सक्रिय भए : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय रहेको बताएका छन्।
अखिल नेपाल महिला संघ मध्यपुर थिमी नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताए।
ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको विशेष महत्व रहेको बताए। उनले मुलुकको अवस्थामा परिवर्तन ल्याए पनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे। ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरूमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहरिने खतरा कायमै रहेको बताए।
उनले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे। मुलुकका उत्सव चाडपर्वहरूले आफ्ना खुट्टामा आफैं उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ।