निकुञ्जमा टाइम कार्ड नहुँदा बढिरहेछन् दुर्घटना

निकुञ्जमा टाइम कार्ड नहुँदा बढिरहेछन् दुर्घटना
सुन्नुहोस्

नेपालगन्ज : पूर्व–पश्चिम राजमार्गमा बाँकेको शमशेरगन्जनजिक शुक्रबार राति बस दुर्घटना भयो। बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनीका सात जनाको मृत्यु भयो भने २५ जना घाइते भए।

इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी–८ शमशेरगन्जनजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग शुुक्रबार राति ठोक्किएको थियो। दुर्घटना हुँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको निधन भएकोे होे।

पूर्व–पश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू नहुँदा तीव्र गतिका कारण सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ।

१६ जेठ २०८० मा बाँकेको अगैयामा कार र बस ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोलीनजिकै मंगलबार दिउँसो पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बस र पश्चिमतर्फबाट जाँदै गरेको बा१३च ८२५३ नम्बरको कार ठोक्किँदा कारमा सवार सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रुपन्देही निवासी ५३ वर्षकी डा. सञ्जु खाती खड्का र कार चालक गोरखा निवासी अन्दाजी ३५ वर्षीय सुवास अधिकारीको मृत्यु भएको थियो।

१९ जेठ २०७७ पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा लकडाउनका बेलामा भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी मध्यरात १२ बजेतिर सडकमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। ९ असार २०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभरमा पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा आएको बा१४झ २७८९ नम्बरको कार अनियन्त्रित भएको थियो। सडकबाट खस्दा कारचालक भरतपुर महानगरपालिका–१२, चितवनका ४१ वर्षीय कमलराज लम्साल र कारमा सवार पूर्वीनवलपरासी कावासोती–८ का २२ वर्षीय क्षितिजराज कुँवरकोे मृत्यु भएको थियो।

६ महिनायता पूर्व–पश्चिम राजमार्गमा भएका दुर्घटनाका दर्जन बढी मृतकको सनाखत, मुचुल्का र घाइतेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारी राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको बताउँछन्। उनी भन्छन्, ‘बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि टाइम कार्ड लागू गर्न सक्ने हो भने धेरै दुर्घटना र अकालमा मृत्यु हुुनबाट जोगाउन सकिन्छ।’ बाँके राष्ट्रिय निकुञ्जले टाइम कार्ड लागू गर्दा सवारीमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने उनको भनाइ छ।

बाँके राष्ट्रिय निकुञ्जका प्र्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाह पनि निकुञ्जभित्र हाइस्पिडका कारण दुर्र्घटना हुने भएकाले टाइम कार्डको आवश्यकता बढेको बताउँछन्। वार्डेन शाह भन्छन्, ‘टाइम कार्ड लागू गर्न अगैयामा नेपाली सेनाको पोस्ट स्थापना गर्नुपर्छ। अगैया–ओभरी क्षेत्रमा भए पनि टाइम कार्ड लागू गर्न सकिन्छ। अरू ठाउँमा बस्ती भएकाले सम्भव हुँदैन।’

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख एवम् इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा ०७७/७८ देखि ०७९/८० सम्म तीन आर्थिक वर्षमा ४ सय २८ सवारी दुर्घटना भएकोमा ५६ वटा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्र भएका छन्। जुन जिल्लाको कुल दुर्घटनाको १३ प्रतिशत हो। दुर्घटनामा १ सय ६५ जनाको ज्यान गएको छ। निकुुञ्ज क्षेत्रमा मात्र ४४ जनाको ज्यान गएको छ। जिल्लामा दुर्घटनामा भएका मृत्युको २६.६६ प्रतिशत मृत्यु निकुञ्जमा भएको छ।

बर्दिया निकुञ्जमा टाइम कार्डको सफलता 

बर्दिया राष्ट्रिय निकुञ्जले नेपाली सेनाको चिसापानी–अम्रेनी र सैनावार–रम्मापुर पोस्टमा टाइम कार्ड लागू गरेको छ। यी दुवै क्षेत्रमा निकुञ्जभित्र प्रतिकिलोमिटर ४० को गतिमा गाडी चलाउन पाइन्छ। गाडी चालकलाई एउटा पोस्टले २२ मिनेटको टाइम कार्ड दिने गरेको छ। बर्दिया निकुुञ्जका सूचना अधिकारी आशिष न्यौपाने टाइम कार्ड लागू गरेपछि सवारी दुर्घटना र सवारीको ठक्करबाट वन्यजन्तुकोे ज्यान जाने घटना न्यूनीकरण भइरहेको दाबी गर्छन्।

‘निकुञ्जमा छिटो जान पनि पाइएन। ढिलो जाँदा पनि कारबाही हुन्छ। ४० को स्पिडमा चलाउँदा गाडी नियन्त्रण गर्न सकिन्छ’, न्यौपाने भन्छन्, ‘नियम उल्लंघन गर्ने सवारी धनीलाई कम्तीमा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुन्छ।’ निकुञ्जकोे रम्मापुर चेकपोस्टमा कार्यरत संरक्षण अधिकृत विष्णु रोकाय दैैनिक एक/दुईजना कारबाहीमा परिरहेको बताउँछन्। उनी हाइस्पिडका कारण एउटा पनि गाडी दुर्घटनामा नपरेको बताउँछन्।

जिल्ला ट्राफिक कार्यालय बर्दियाका सई नरेन्द्र सिंंह टाइम कार्डका कारण बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा निकै कम दुर्घटना हुने गरेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.