मृत भेटिएका चित्रबहादुर राजीको हत्या भएको आशंका

मृत भेटिएका चित्रबहादुर राजीको हत्या भएको आशंका
मृतक राजी अगुवा चित्रबहादुर राजी । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

टीकापुर : कैलालीको टीकापुर नगरपालिका -१ का ५६ वर्षीय चित्रबहादुर राजीको मृत्यु शंकास्पद देखिएको छ ।  नेपालमै अल्पसंख्यक मानिने राजी समुदायका अगुवा चित्रबहादुरको शव ज्योतिनगरस्थित उनको घरदेखि सय मिटर पर शुक्रबार फेला परेको थियो ।

स्थानीय बासिन्दाका अनुसार शुक्रबार बिहान १० बजे उनी मृत अवस्थामा फेला परेका थिए । उनका छिमेकी रत्नबहादुर राजीका अनुसार चित्रबहादुरको नाक,कान र टाउको पछाडिबाट रगत आएको थियो।

‘उनको नाक, कान र टाउको पछाडिबाट रगत आएको थियो, शव उठाउँदा घाँटी पूरै लुलो थियो,'रत्नबहादुरले भने, ‘घाँटी लुलो हुनु,रगत आउनुले हामीलाई मृत्यु शंकास्पद लागेको छ ।’

लामो समयदेखि राजी शाल्म समाज टीकापुरको अध्यक्ष रहेर समुदायको अधिकार र संरक्षणका लागि काम गर्दै आएका चित्रबहादुरको मृत्युले राजी समुदायलाई क्षति पुगेको रत्नबहादुरले बताए ।

‘हामी राज्यबाट पीडित माछा मार्ने,मह काँड्ने अल्पसंख्यक समुदायका हौं,'रत्नबहादुरले भने ‘हाम्रो शिक्षा, दिक्षा र अधिकारका लागि आवाज उठाउने नेता गुमाएका छौं, निकै दुःख लागेको छ ।’     

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए ।  ‘पोष्टमार्टम् भइसकेको छ, रिपोर्ट आउन भने बाँकी छ,' प्रहरी निरीक्षक अवस्थीले भने ‘मेडिकल रिपोर्टले के भन्छ, थप कुरा त्यसपछि थाहा होला तर घटनाबारे हामीले सुक्ष्मरुपमा अनुसन्धानको दृष्टिकोणबाट हेरिरहेका छौं ।’

नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि रहेका राजी २०७४ को स्थानीय तह निर्वाचनसँगै नेकपा एमालेमा प्रवेश गरेका थिए । राजीको शव टीकापुर अस्पतालमा राखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.