अर्जुनचौपारीमा निर्मित हेलिप्याडको सफल परीक्षण
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका- १ सहेलेमा नवनिर्मित हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ। नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलो पटक अवतरण गरिएको हो।
असार मसान्तमा निर्माण सम्पन्नपछि नेपाली सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।
नेपाली सेनाका कर्णेल रचन श्रेष्ठसहितको टोलीले हेलिकोप्टरको अवतरण परीक्षण गरेको हो। अवतरणपछि हेलिप्याड उपयुक्त ठाउँमा बनेको कर्णेल श्रेष्ठले प्रतिक्रिया दिए।
हेलिप्याड दैनिक २० जनाको श्रमदानबाट १५ दिनमा सम्पन्न भएको पालिकाले जनाएको छ। एमआई १६ हेलिप्याड निर्माण गरिएको हो। हेलिप्याड निर्माणसँगै पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका सहित पर्वका केही वडाले समेत उपयोग गर्न पाउने छन्।
अत्यावश्यक तथा जोखिमका समयमा छिटोभन्दा छिटो मानवीय उद्धारमा सहज बनाउने उद्देश्यले हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
जनश्रमदानसहित ७ लाख ३३ हजार ४५९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। पक्की ढलानसहित रंगरोगन गरिएको हेलिप्याड ६०- ६० फिट लम्बाइ र चौडाइको छ।