अर्घाखाँचीमा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ मा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। चिसोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थीहरू खुशी भएका छन्।
क्लिक इन्टरनेसनल एजुकेसन काठमाडौंले मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई गरी ३ सय ४४ जनालाई न्यानो पोशाक वितरण गरेको छ।
३ वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले न्यानो ट्रयाक्सुट सेट वितरण गरेका हुन् । किरण माध्यामिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक प्रदान गरिएको क्लिक ईन्टरनेसनल एजुकेसनका म्यानेजिङ्ग डाइरेक्टर गोविन्द खनालले बताए।
मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले चिसो मौसम बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्यानो पोशाक वितरण गरेकोमा संस्थालाई धन्यवाद दिए।
'जाँडोबाट बच्न र बचाउन' भन्ने उद्देश्यका साथ न्यानो पोशाक वितरण गरिएको क्लिक इन्टरनेसनल एजुकेसनका म्यानेजिङ्ग डाइरेक्टर गोविन्द खनालले बताए। खनालले समाजमा केही गर्नु पर्छ भनेर विद्यार्थी र शिक्षकहरूलाई यसरी न्यानो पोशाक स्वरुप ट्रयाक्सुट सेट वितरण गरेको बताएका छन्।
यस संस्थाले सामाजिक क्षेत्र लगायत अन्य क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ। किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले विद्यार्थीहरूलाई न्यानो पोशाक सरकारले दिनु पर्ने समयमा क्लिक इन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !