सरकारलाई सदन र सडक दुवैबाट दबाब दिनुपर्छ : माधव नेपाल
हेटौंडा : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको मिसन सफल पार्न समाजवादी मोर्चा मोर्चा तयार गरिएको बताएका छन्।
आइतबार हेटौंडामा समाजवादी मोर्चाद्वारा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले जनहितको काम गर्न मोर्चा बनाइएको दाबी गरे।
उनले भने, ‘अब सदन र सडक दुवैबाट दबाब दिनुपर्छ। सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता छ। तर, त्यस्तो हुँदैन। सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ। त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं। हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं।’
उनले संविधानको पूर्ण कार्यान्वयनको पक्षमा मोर्चाले काम गर्ने बताए। त्यस्तै भ्रष्टाचार मुक्त नेपाल, विकास तथा समृद्धि र राष्ट्रिय अखण्डताको विषय नै मोर्चाको प्रमुख उद्देश्य भएको बताए। अध्यक्ष नेपालले समाजवादी मोर्चामा आवद्ध हुन आग्रह गर्दै कार्यकर्तालाई उत्साहका साथ काम गर्न निर्देशन दिए ।