झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि नगरपालिकाको अपिल

झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि नगरपालिकाको अपिल
भेटिएका शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृह हेरचाँह गर्दै गृहकी व्यवस्थापक गंगा लिम्बू र कर्मचारी कंचन रिजाल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : दुई साताअघि झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि भद्रपुर नगरपालिकाले अपिल गरेको छ ।  नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशु (छोरा)को वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचिकृत हुन आउन आग्रह गरेको छ ।   

गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । 

त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्णरुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेको थियो।

सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएन । त्यसपछि नगरपालिकाले बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको हेरचाह गर्न चाहनेले निवेदन दिन अपिल गरेको हो। 

बालकको आमा वा बुबा तर्फका नातेदार,बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८ को नियम ५३ (५) बमोजिम ७ (सात) दिन भित्र तपसिल बमोजिमको कागज प्रमाणसहित निवेदन पेस गर्न भनिएको छ।

नगरपालिकाकी उपप्रमुख राधा कार्कीले भनिन्, ‘सूचिकृत हुनेहरू मध्येबाट सबै प्रक्रिया पूरा गरी छनौटमा परेकालाई मात्र शिशुलाई जिम्मा लगाइनेछ।'

शिशु भेटिएदेखि नै शिशुलाई धर्मपुत्र बनाउने करिब एक सय बढी इच्छुक व्यक्तिहरू सम्पर्कमा आइसकेको बुझिएको छ । इच्छुकहरूमध्ये डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत रहेका छन् । हाल शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृहमा राखिएको छ । 

युवायुवतीले राखेर गएका थिए शिशुलाई झाडीमा

शिशुलाई दुई युवायुवतीले झाडीमा राखेर गएको सीसीटीभी फुटेजमा देखिएको थियो । आकाशे रङ्गको कुर्ता र पाइन्ट लगाएकी  युवती र कालो सेतो चेक सर्ट र पाइन्ट लगाएको, पछाडि ब्याग भिरेको  युवाले ती शिशुलाई सँगै बोकेर ल्याउँदै गरेको किरात कोलोनी भवन छेउको घरमा लगाइएको सीसीटीभी फुटेजमा हेर्न सकिन्छ ।

 शिशु बोकेर सँगै आउँदै गरेका उनीहरूलाई स्थानीय मनिका गिरीले पनि देखेकी थिइन् । युवाले ती शिशुलाई अप्ठ्यारो गरी बोक्दा गिरीले कसरी नानी बोक्नु भएको ? भनेर सोधेको स्थानीय परी खवासले जानकारी दिएकी थिइन् । 

तर, सीसीटीभी  फुटेजमा युवायुवतीको अनुहार प्रस्ट नदेखिँदा अझै उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । सिसिटिभीको फुटेज हेर्दा शिशु फाल्नेहरू नजिकका नभएको अनुमान गर्न सकिन्छ ।

 शिशुलाई लगाइदिएको बाक्लो खालको टोपी, मोजा, पन्जाबाट ती शिशु गर्मी ठाउँको नभएर पहाडी क्षेत्रको हुनसक्ने स्थानीयले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.