‘पुस्तौंदेखि बदनामीको बोझ’बोक्दै झिंझावासी
धनुषा : ‘अहासुनके गाउँ उहे चोरडाकुबला गाउँ हब ने ?,’ (तपाईंहरूको गाउँ त्यही चोरडाकाहरूको गाउँ हो नी ?) यो प्रश्नले झिंझा बासीहरूको पिछा अझसम्म छाडेको छैन।
धनुषाको विदेह नगरपालिका—४ झिंझा गाउँ देशभरिनै चोरडाँकाहरूको गाउँको नामले बदनाम भएपछि अहिलेसम्म पनि त्यसको मारमा गाउँलेहरू छन्। बाजे, पुर्खाहरूले कुनै बेला डाका, चोरी जस्ता घटनाहरूमा संलग्न भएकै कारण तिनका पुस्ताहरूलार्ई बदनामीको बोझ झेल्नु परेको छ।
तीन दशकअघिसम्म धनुषाको झिंझा, अकौडासँगै नरहिया र कपटौललगायतका दुसाध (पासवान) बहुल गाउँका अधिकांश व्यक्तिहरूको पेशा नै चोरी डकैती थियो। घरमा दुलो (सेंध) खनेर सरसामान चोरी गर्थे। चोरी गर्नकै लागि सीमापारी भारतका गाउँहरूमा पनि जान्थे, कहीँकतै ठूलो चोरी वा डकैंती भयो भने यीनै गाउँका मान्छेहरूले गरेका होलान् भनिन्थ्यो। तर, विस्तारै अवस्था फेरिएको छ। दुसाध बस्तीका युवाहरू थोर बहुत शिक्षित हुँदै गएका छन्। विदेश गएर कमाउन थालेपछि गाउँ टोलको अनुहार पनि फेरिएको छ तर, चोरडाकाका सन्तान भनि गरिने नराम्रो व्यवहार फेरिएको छैन।
‘पहिला–पहिला गाउँका जमिन्दारहरूले पनि दुसाधहरूलार्ई चोरी डकैतीमा लगाएका थिए,’ आफैंं पनि विगतमा डाकाको काम गरेका ७० वर्षीय सुट्टु पासवानले पुरानो अनुभव सुनाउँदै भने, ‘पहिला न स्कुल थियो, न शिक्षा थियो, हामी दलितहरूको लागि त अपमान बाहेक केही थिएन अनि पेट पाल्नलार्ई चोरी डकैती गर्थे। म आफैंं पनि डकैंती गर्न जान्थे समूहमा। तर, अहिले अवस्था फेरिए पनि युवाहरूका लागि काम छैन। उनीहरूले फेरी पनि पुरानो बाटो अपनाउलान् कि भन्ने डर छ।’
‘पहिला–पहिला हमरा सुनके घरमे मरुवाके रोटी सेहो नै जुरै छलै, गहुँमके त बडि दुरकै बात’ (पहिला–पहिला हाम्रो घरमा कोदोको रोटी पनि खान धौ–धौ थियो, गहुँको रोटी खाने कुरा त परै जाओस्) स्थानीय ७५ वर्षीय वृद्ध इन्दिया पासवानले सुनाए, ‘पेटको आगो निभाउन चोरी, डाका र अरु थुप्रै गर्न नहुने काम गथ्र्यौं तर, अहिले बालबच्चाहरू पढ्न थालेका छन्। यदि सरकारले जागिर दियो भने हाम्रा छोराछोरीहरू इज्जतको जीवन बिताउन चाहन्छन्।’
‘हाम्रा बाजे र तिनका बुवाहरूले यो चोरी डकैतीको काम गर्थे। हामी त गाउँमा मेहनत मजदुरी गरेर जीवन चलाउँछौं तर, पनि आसपासका गाउँहरूले नै हाम्रो गाउँलार्ई हेप्छन्। अहिले पनि चोर डाकाकै नजरले हेर्छन्,’ झिंझाका मनोज पासवान भन्छन्, ‘रोजगारीको अभाव र गरिबिले गर्दा हाम्रा पुर्खाहरू चोर डाका बने तर, अहिले पनि अवस्था सुध्रिएको छैन। देशमा राजनीति फेरिए पनि हाम्रो समूदायको दुर्दशा पुरानै छ।’
८५ घर दुसाध र २० घर महरा समुदायको बसोबास रहेको भिंmझा गाउँमा राज्यको पहुँच न्यून देखिन्छ। देशैभरी खुल्ला दिशामुक्त अभियान चलाइए पनि दुसाध बस्तीमा शौचालय न्यून छ। ‘बस्ने घर त माटो र खरको छ शौचालय कहाँ बाट बनाउने,’ बस्तीकी समुन्द्रीदेवी पासवान भन्छिन्, ‘हामीलार्ई कहिँ कतैबाट शौचालय बनाउन सहयोग आएको छैन। बस्तीका सबैजसो शौच गर्नका लागि खेत र चौरीहरूमै जान्छौं।’
शिक्षाको अवस्था पनि निकै कमजोर रहेको दुसाध र महरा समुदायमा सयजनाको परिवारमा एक, दुईजना मात्रै जागिरे छन्। ‘विद्यालय छ तर, शिक्षक नै छैनन्। वडा कार्यालय र स्थानीय सरकारले कुनै सुविधा नदिँदा दलितका बालबालिकाहरूलार्ई पढाउने अवस्था नै छैन,’ दुसाध बस्तीमै रहेको राष्ट्रिय प्राथमिक विद्यालय भिंmझाका शिक्षक रामसेवक ठाकुर भन्छन्, ‘यस विद्यालयमा १३४ जना बालबालिकाहरू अध्ययनरत छन् तर, शिक्षक हामी दुईजना मात्रै छौं। बच्चाहरूलार्ई विद्यालयमा घेरेर राख्नु बाहेक अरु केही गर्न सकेका छैनौं।’
गाउँघरबाट विदेशिने बाटो खुलेपछि गाउँका केही युवाहरू वैदेशिक रोजगारमा जान थालेका हुन्। तर, विदेश जानका लागि पनि चर्को ब्याजमा ऋण लिएर जानुपर्ने बाध्यता भएको हुँदा त्यो रकमको समेत जोहो गर्न नसकेकोले अधिकांश युवाहरू बेरोजगार भएर गाउँमै बस्नु पर्ने बाध्यता रहेको स्थानीय इन्दल पासवानले सुनाए। ‘ऋण माग्न जाँदा पनि हामीलार्ई कसैले दिँदैनन्। हामीले छिमेकी गाउँहरू ठाडी, खजुरीका साहुहरूबाट पहिला ऋण लिएर विदेश जान्थ्यौं। तर, पछिल्लो समय मिटरब्याजीलार्ई सरकारले कारबाही गर्न थालेपछि कसैले ऋण दिन पनि मान्दैन। अब त झन् घर न घाटको भएका छौं।'