दशकपछिको नेपाल
कवि अर्जुन पराजुलीले हालै एउटा कवितामार्फत बिग्रँदो अर्थतन्त्र र युवाको पलायनले भोलिको नेपाल कस्तो होला भन्ने कल्पेका छन्। उनको व्यंग्य कविताको अंश यस्तो छ–
केही वर्षपछि मेरो देशमा
सटर हुनेछन् पसल हुने छैनन्
अस्पताल हुनेछ, नर्स हुने छैनन्
बिरामी हुनेछन्, डाक्टर हुने छैनन्।
कविता सामाजिक सञ्जालमा भाइरल थियो। खासगरी उद्यमी व्यवसायीले अझ धेरै यसलाई मन पराए। जे होस् निराशाको बादल मडारिएको उनको कविताले देशको सुदूर भविष्यको चिन्ता गरेको छ। यही हालतमा भोलिको नेपाल अस्तव्यस्त हुनेछ र देशलाई प्रगतिपथमा लैजान आजै सोच्नुपर्छ भन्ने कविताको सन्देश छ। पराजुलीले कविता कोरेकै साता सांसद डा. स्वर्णिम वाग्लेले अमेरिकामा ४० अर्ब डलरको नेपाली अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्याउने, नेपालमा समुन्नति ल्याउनेबारे विभिन्न ठाउँमा प्राज्ञिक बहस गरेको बताए। नेपालमा यस्तै बहस होनहार राजनीतिज्ञहरूले किन गरेनन् ? कहाँ छन् बौद्धिकहरू ? कहाँ छन् विश्वविद्यालयका प्राध्यापकहरू ?
नेपालमा धेरैजसो बुद्धिजीवी निराशाका भाषा बोल्छन्। सकारात्मक सोच राखेर देशको चिन्ता गर्नेहरू भने कम छन्। देशमा सबै कुरा बिग्रियो, खत्तम भयो भनिन्छ। भयो त भयो, अब के गर्ने ? रुने ? कराउने ? देशै छोडेर भाग्ने ? समस्याबाटै भाग्ने ? त्यो होइन नि। समस्या हुन्छन्। त्यसलाई निराकरण गर्ने हो। आजभन्दा चार दशकअघि दिनको एक छाक खाने हैसियतमा रहेको चीनले अहिले ४० करोड मानिसलाई गरिबीको अवस्थाबाट मुक्त गरेको छ। अहिले चीन विश्वकै आर्थिक महाशक्ति राष्ट्र बन्दैछ। सिंगापुरलाई लि क्यान युले तीन दशकमै एसियाकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सुन्दर देश बनाए। चीन, सिंगापुर आदिले भ्रष्टाचार र कुशासनलाई समूल नष्ट गरेर देशलाई यो उचाइ दिए।
आजको विश्वव्यापी प्रतिस्पर्धाको युगमा हामीले अरू देशको विकास बुझ्न सकेनौं भने आफूलाई अघि बढाउन सक्दैनौं। हाम्रा नीतिनिर्माता, राजनीतिक नेतृत्व, भविष्यका कर्णधार युवा र पँुजीको बागडोर सम्हालेका उद्योगीले समृद्धिको सपना देख्न सक्नुपर्छ। आज नेपाली देशमा भएको कुशासन, भ्रष्टाचार, बेरोजगारी र सुविधाविहीन अवस्थाले हायलकायल भएर विदेशीको आँगनमा पुगेका छन्। अब डायस्पोराले बुझ्नैपर्छ कि आफ्नो देश त नेपाल हो। नेपालकै विकास र समृद्धिमा तिनले सघाउन जरुरी छ। अर्काको देशमा रमाएर, अरूले सिर्जना गरेका भौतिक पूर्वाधार र अवसरहरूमा रमाएर सगरमाथाको देशको नागरिक भन्न सुहाउँदैन। त्यसकारण बाठो हुनुभन्दा इमान्दार हुनु, देशविहीन हुनुभन्दा गरिबै हुनु, स्वाभिमानी हुनु कति हो कति राम्रो।
हामीले नेपाल किन बनाउन सक्दैनौं ? अरूले बनाएका जस्ता गगनचुम्बी भवन बनाउन सकौंला नसकौंला। यसै पनि नेपाल भूकम्पीय जोखिममा छ। दुई दर्जन राष्ट्रिय गौरवका आयोजनालाई रफ्तारमा सम्पन्न गर्ने हो भने १० वर्षपछिको नेपाल समृद्ध हुनेछ। सांसदले कल्पेजस्तो १०० अर्ब डलरको जीडीपी बनाउन हामीलाई एक दशक नै काफी छ। तर निर्माणाधीन आयोजनाहरूलाई शीघ्र सम्पन्न गर्ने, बिजुलीको व्यापार बढाउने र पर्यटकीय रूपमा देशलाई चम्क्याउन जरुरी छ। हामीले बिजुली बेचेर, पर्यटक घुमाएर र बहुमूल्य जडीबुटीको सदुपयोग गरेरै देशको आर्थिक हैसियत माथि लैजान सक्छौं। देश त स्वाभिमान, सपना र पसिना रोपेर बन्छ।
नेपालको आर्थिक समृद्धिको सबैभन्दा सम्भावनाको क्षेत्र जलविद्युत् हो। केही वर्षयता नेपालले छिमेकी भारतलाई बिजुली बेच्न थालिसकेको छ। चरम लोडसेडिङको अवस्था पार गरेर अहिले नेपालले ४५२ मेगावाट बिजुली निर्यात गरिरहेछ। गत वर्ष नेपालले १६ अर्बभन्दा बढी रकम बिजुलीको व्यापार गरेर कमायो। जलस्रोतबाट करिब ८३ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेकोमा आगामी ३–४ वर्षभित्रै ७ हजार मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने आधार तय भइसकेको छ। हरित ऊर्जाको रूपमा रहेको जलविद्युत् क्षेत्रबाट नेपालले वार्षिक १० खर्बको व्यापार गर्ने आधार भारतसँग भएको १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने पछिल्लो सम्झौताले तय गरेको छ।
हालसम्म नेपालमा २६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ। आगामी १० वर्षमा कम्तीमा १०–१२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने हो भने १५–२० खर्ब रकम वार्षिक आम्दानी बिजुलीको व्यापारबाटै हुन सक्छ। बनाउने भनिएका ६ हजार मेगावाटको पञ्चेश्वर आयोजना, १० हजार मेगावाट क्षमताको बृहत् कर्णाली चिसापानी आयोजना, १२ सय मेगावाटको बूढीगण्डकी आयोजना, ९ सय मेगावाटको अरुण तेस्रोलगायत निर्माणको क्रममा रहेका र गर्ने भनिएका साना–ठूला आयोजनाहरूबाट हजारौं मेगावाट बिजुली एक दशकमै उत्पादन गर्न सकिने छन्। यसबीच संशयको घेरामा रहेको एमसीसी सही अर्थमा कार्यान्वयन भए भारतमा बिजुली निर्यात गर्ने बिजुली राजमार्ग तयार हुनेछ।
यसरी जलविद्युत्का उल्लेखित आयोजनाहरू आगामी १० वर्षभित्र बनाउन सक्यौं भने हाम्रो अर्थतन्त्र अर्थशास्त्री वाग्लेले भनेजस्तो १०० अर्ब डलरको बनाउन कठिनाइ छैन। त्यसैमाथि नेपालमा अहिले जलविद्युत्सहित दुई दर्जनभन्दा बढी राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छन्। ती सबै आयोजना अबको एक दशकमा सक्नेगरी अघि बढ्ने हो भने नेपालले त्यसैमा टेकेर बहुआयामिक समृद्धि पहिल्याउन सक्छ। जस्तो कि काठमाडौं–निजगढ फास्ट ट्र्याक बन्दा तराईको काठमाडौंसँगको दूरी घट्छ र वार्षिक ७ अर्बभन्दा बढीको इन्धन जोगिनेछ। भारत निर्भर काठमाडौंको तरकारी तथा खाद्यान्नको जोगाड तराईका बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीले प्रत्यक्ष रूपमा गर्नेछन्। जसले व्यापारघाटा घटाउन सघाउनेछ। हालका वर्षहरूमा भारतसँग नेपालको व्यापारघाटा वार्षिक १४ खर्ब हाराहारी छ। व्यापारघाटा घटाएर बिजुली खपत बढाउने हो भने मात्र नेपालको ठूलो धनराशि बिदेसिनबाट जोगिनेछ। त्यसले अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ।
कृषिमा पनि आत्मनिर्भर हुन सक्छौं। हालका वर्षहरूमा कृषिजन्य वस्तुको आयात वार्षिक ४ खर्ब नाघिसकेको छ। कम्तीमा १० वर्षभित्र कृषिमा आत्मनिर्भर हुने सोचसहित लगानी बढाउन सकिनेछ। महŒवपूर्ण खम्बा पर्यटनमा नेपाल विश्वमै उत्कृष्टमध्ये पर्छ। अत: जलविद्युत्, पर्यटन, कृषि र गुणस्तरीय पूर्वाधारहरूको शीघ्र विकासबाट हामीले आगामी एक दशकमै सम्पन्न राष्ट्र हुने आधार तयार गर्न सक्छौं। एक दशकपछि नेपालीले हैसियत सम्पन्न नागरिकको रूपमा विश्वसामु चिनाउन सक्छौं।