पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाउन सुरु
काठमाडौं : किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’अभियान बुधबारबाट सुरु भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोप अभियानको सुरुवात गरेका हुन्।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको बताए। ७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै उनले हाललाई २० हजार भाइल खोप आइपुगेकाले त्यसबाटै अभियान सुरुवात गरिएको जानकारी दिए। पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जिवन बचाउन सरकार संवेदनशिल रहेको उनको भनाई छ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरि खोप उपलब्ध गराइदिन प्रस्ताव गरेको बताइन्। उनले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन्।