मेसीबिनै अर्जेन्टिनाको प्रभावशाली जित
बोलिभिया : अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसीबिनै सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा प्रभावशाली जित निकालेको छ। विश्वकप विजेता अर्जेन्टिनाले बुधबार भएको छनोट खेलमा बोलिभियालाई ३–० गोलले पराजित गरेको हो।
समुन्द्र सतहभन्दा तीन हजार ६ सय मिटरमाथि रहेको बोलिभियाको राजधानी लापाजमा भएको खेल अर्जेन्टिनाले तुलनात्मक रुपमा सहज जित निकालेको हो। यसअघिका खेलमा चुनौतीपूर्ण नतिजा निकाल्दै आएको अर्जेन्टिनाले कप्तान एन्जल डी मारियाको उत्कृष्ट प्रदर्शनमा बोलिबियामाथि सहज जित निकालेको हो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले एन्जो फर्नान्डेजको गोलमा अग्रता लिएको थियो।
उनले कप्तान डी मारियाको पासमा गोल गरेका थिए। रोबर्टो फर्नान्डेजले पहिलो हाफमै रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। ४२औं मिनेटमा निको टाग्लियाफिकोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ८३औं मिनेट निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए।
यस्तै अर्को खेलमा ब्राजिलले घरेलु टोली पेरुलाई १–० गोलले हरायो। ब्राजिलको संघर्षपूर्ण जितमा मार्किन्हसले ९०औं मिनेटमा गोल गरेका थिए। मार्किन्हसले नेमारको कर्नरलाई सदुपयोग गर्दै हेड गोल गरेका थिए।