विशालको राष्ट्रिय कीर्तिमान
पुरुष ९६ केजी तौलसमूहमा प्रतिस्पर्धा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
काठमाडौं : नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पुरुष ९६ केजी तौलसमूहमा प्रतिस्पर्धा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए। विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन्। यसअघि स्न्याचमा १२५, क्लिन एन्ड जर्कमा १६१ र कुलमा २८३ केजीको कीर्तिमान विशालकै नाममा थियो।
आईडब्लुएफ विश्व च्याम्पियनसिपमै विकास भट्टले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। पुरुष ८१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका थिए।
नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिप (आईडब्लुएफ) मा १६ वर्षपछि सहभागिता जनाएको हो। आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले सहभागिता जनाएका छन्। पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन्। यस्तै महिला ५५ केजीमा टिकामाया गुरुङ र ६४ केजीमा शारदा चौधरीले खेल्ने छन्।