अत्याधिक रक्तस्राबले सुत्केरीको मृत्यु
जाजरकोट : अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरीको मृत्यु भएको छ। कुशे गाउँपालिका–७ समाईलाकी ४० वर्षीया जानुका नेपालीको रक्तस्राव नरोकिँदा मृत्यु भएको हो।
बच्चा जन्माएको ६ घण्टासम्म पनि साल नझरेपछि उनको ज्यान गएको वडा सदस्य मानबहादुर विकले बताए। ‘बच्चा जन्मिएको ६ घण्टासम्म पनि साल नझर्दा धेरै रगत बग्यो जसका कारण उनको अकालमै ज्यान गयो। ’विकले भने,‘समयमा स्वास्थ्य संस्था लैजान सकेको भए उनको ज्यान जोगिने थियो। हेलचक्राई र लापरबाहीले उनको अकालमा ज्यान गयो।’
बिहीबार बिहान ५ बजे नेपालीले घरमै छोरीको जन्म दिएकी थिइन् तर लामो समयसम्म साल नझरेपछि उनको दिउँसो ११ बजे मृत्यु भएको हो। उनका श्रीमान घरमा नभएको र घरका अरु परिवारले समयमा स्वास्थ्य संस्था लैजान नसक्दा घरमै सुत्केरी हुन बाध्य भएकी थिइन्।
सबैभन्दा नजिकको स्वास्थ्य संस्था पुग्न कम्तिमा ३ घण्टा पैदल हिड्नुपर्छ। उनका तीन छोरी र एक छोरा छन्। नाबालिका छोरीको अवस्था सामान्य छ।