मुखै रसाउने खजुरीको प्याजी

मुखै रसाउने खजुरीको प्याजी
खजुरी स्टेसनमा मोहन यादवको प्याजी पसल। मनिका झा
सुन्नुहोस्

धनुषा : जनकपुरबाट रेल चढेर भारतको जयनगरसम्म यात्रा गर्ने क्रममा पाँचौ स्टेसन हो खजुरी। हुनत खजुरी अन्य धेरै कारणले प्रख्यात छ तर, यहाँँ पुग्नेबित्तिकै सबैभन्दा पहिला याद आउँछ मिठो प्याजीको। 

सिँगै प्याजलाई बडो कलात्मक रूपमा काटेर, त्यसभित्र मरमसला हाली, लप्पक बेसनमा चोपेर, तोरीको तेलमा तारेपछि मुखै रसाउने प्याजी तयार हुन्छ। हुनत प्याजी मधेसका अधिकांश नास्ता पसलहरूमा खान पाइन्छ। तर, खजुरीको प्याजीको स्वादै बेग्लै छ। एकपटक खजुरीको प्याजी खाएकाहरू पटक–पटक खान आउँछन्। 

खजुरी स्टेसन पछाडि ५५ वर्षीय मोहन यादवको पुस्तेनी प्याजी पसल छ। हुनत यो पसल अहिले स्टेसनको नयाँ संरचनाका कारण अस्तव्यस्त बनेको छ तर, प्याजी भने पुरानै शैलीमा यहाँँ बनाइन्छ। मोहन र उनकी पत्नी बेचनी यादवलाई प्याजी बनाउन दिनभरी भ्याइनभ्याइ हुन्छ। कामको चाप धेरै भएर उनले गाउँकै एकजना नातेदार काममा सहयोगी पनि राखेका छन्। मोहनको पुरै परिवार यही प्याजी पसलको कमाइबाट चलेको छ। मोहनका बुवा बौकु यादव पनि खजुरी स्टेसनमा प्याजीकै पसल चलाउँथे। बौकुले चलाउन थालेको प्याजी पसल खजुरीकै पहिलो रहेको दाबी मोहन गर्छन्। 

२०४५÷०४६ सालतिर बौकुले खजुरी स्टेसनमा मुरही, कचरी पसल चलाएका थिए। त्यतिबेला स्टेसनमा आएर भारतका एक हलुवाइले पनि नास्ता पसल थापे। उनैले प्याजी र दहीबरा बनाएर बेच्न थाले। ती भारतीय हलुवाइको देखासिखी गर्दै बौकुले पनि प्याजी बनाउन थाले र पछि बौकुको प्याजी पसल निकै प्रख्यात भयो। उनको देखासिखी गर्दै अन्य नास्ता पसलेहरूले पनि प्याजी पसल चलाउन थालेका हुन्। सो बेला प्याजीको दाम मात्रै ३५ पैसा थियो। 

करिब सय वर्ष पुरानो दोकानलाई मोहनले पनि निरन्तरता दिए। ‘घरव्यवहार सबै यो प्याजी पसलले नै चलेको छ। म सानैदेखि बुवासँगै दोकानमा बस्थेँ। बुवाले प्याजी बनाउनु हुन्थ्यो। हामी तीन दाजुभाइ सानो छँदा रेलका यात्रीहरूलाई प्याजी बेच्थ्यौं तर, बुवा बितेपछि अन्य दाजुभाइहरूले यो पेशालाई निरन्तरता दिनु भएन। सबै छुट्टै कामहरूमा लागे म चाहि बुवाको कामलाई नै अगाडि बढाएँ। विवाह गरेर श्रीमती ल्याएपछि उनले पनि प्याजी बनाउन सिकिन र अहिले दुवैजनाले पसल चलाएका छौं,’ मोहनले सुनाए, ‘बीचमा रेल बन्द हुँदा यो पसल पनि बन्द भएको थियो। हाम्रो पुरानो पसल रेल विस्तारको बेला भत्कियो। त्यसपछि छाप्रो बनाएर कहिले एक, ठाउँ त कहिले अर्को ठाउँ सर्दै जेनतेन व्यापार गरेका थियौं तर, अहिले फेरी रेल चल्न थालेपछि व्यापार पनि चलेको छ,’ मोहनकी पत्नी बेचनीले सुनाइन्।  २० रुपैयाँ प्रतिपिस पाइने प्याजी खान रेलका यात्री मात्रै नभइ खजुरी गाउँ आउने जोकोही पनि स्टेशन पुग्ने गरेको मोहनले सुनाए। 

मोहनकै पसल छेउमा रहेको भोला साहको पसल पनि निकै पुरानो छ। उनका बाउबाजेले पनि पुस्तौदेखि प्याजी बनाएरै घरपरिवार चलाएका थिए। भोलाले पनि पुरानै पेशालाई निरन्तरता दिएका छन्। 

खजुरी स्टेशनमा बेचिने प्याजीका पारखी यस मार्गबाट यात्रा गर्ने अधिकांश यात्रुहरू छन्। कति त निकै पुराना प्याजीको स्वाद पाएकाहरू पनि छन् जसले अहिलेको प्याजीमा पहिलाको जस्तो स्वाद नरहेको दाबी गर्छन्। ‘पहिला–पहिला मसलाहरूमा निकै स्वाद हुन्थ्यो, प्याजीमा प्रयोग गरिने सबै मसलाहरू सिलौटामा पिसेको हुन्थ्यो तर, अहिले सबै प्याकेटका मसलाहरू प्रयोग हुन्छ अनि स्वाद पनि कम भएको छ,’ खजुरीको प्याजीका पारखी रामसोभित साह भन्छन्, ‘अहिलेको बेसन, तेल सबैमा मिलावट छ। तर, जे भएपनि खजुरीको प्याजीको जति स्वाद अन्य ठाउँको प्याजीमा छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.