बीपीलाई देउडा सुनाउँदा. . .

बीपीलाई देउडा सुनाउँदा. . .

देउडा गीत सुन्दै जननायक बीपी कोइरालाले प्रस्तोताको काँधमा हात राख्दै ‘डोटेली गीत संगीतको सेवा गर्नू र प्रजातन्त्रको पक्षमा लागिरहनू’ भन्ने अर्ती दिएका थिए।

काँ बग्छै कर्णाली नदी कइ झाजर छिरी

यसाइ दिन् गैझान्या हुन्कि आउन्या हुन् कि फिरी

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई नेपालको सबैभन्दा लामो नदी कर्णालीलाई प्रतीक मानेर उनकै अगाडि २०३५ सालमा सुनाएको देउडा गीत हो माथिको। सात वर्षसम्मको प्रवास (भारत) बसाइपछि उनी नेपाल आइसकेका थिए। बसाइ मित्रपार्क चाबहिलमा थियो। दिनहुँ कयौं मानिसहरू उनकोमा भेट गर्न गइरहन्थ्ये। पंक्तिकार पनि तत्कालीन विद्यार्थी नेताहरू पुरुषोत्तम दाहाल, सुरेश मल्ल, बलबहादुर केसीलगायतसँग त्यहाँ पुगेको थियो। कुनै नयाँ मानिस भेट्न आएको देख्यो भने सोधपुछ गर्ने बानी भएका बीपीलाई पुरुषोत्तम दाहालले मेरो परिचय गराएका थिए।

‘सान्दाजु यसले गीत पनि गाउँछ’ भन्ने जानकारी बीपीका अगाडि गराए। उनको नजिक रहेर देउडा गीत सुनाएँ माथिको पंक्तिको। लय थियो ठाडीभाका। नजिकमा रहेर गीत सुनाउँदा डर पनि लाग्यो, खुसी पनि लाग्यो। गीत सुन्दै बीपीले प्रस्तोताको काँधमा हात राख्दै ‘डोटेली गीत संगीतको सेवा गर्नू र प्रजातन्त्रको पक्षमा लागिरहनू’ भन्ने अर्ती दिए। ती वाक्य मेरा लागि जीवनपर्यन्त आशीर्वादका रूपमा लागू भइरहेछन्। उनको आशीर्वादका कारण पनि हुन सक्छ यो उमेरमा पुग्दा देउडा संस्कृति र गायन छोड्न सकिराखेको छैन। 

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि सडकमा, गाउँबस्तीमा र कारागारभित्र पनि देउडागीत गाउन, श्रोता र दर्शकलाई सुनाउन छोडिनँ। लोकतन्त्रमा संलग्न हजारौं, लाखौं जनसमुदायले अभिरुचिपूर्वक सुने, ताली र भावनाले निकै साथ दिए। पटक–पटकको आन्दोलनमा सक्रियताका साथ भाग लिएँ, कारागारमा थुन्निएँ। केवल राजनीतिका पाठशाला मानिएका बन्दीगृहलाई पंक्तिकारले गीतसंगीतको पाठशाला बनाउने सुनौलो मौका पाएँ। 

यस अर्थमा मैले आफूलाई भाग्यमानी र देउडा गायनको जेठो कलाकार बन्ने सौभाग्य पाएँ। आठ वर्षसम्म काठमाडौंको सुन्दरीजल जेलमा बिताएका बीपीले राजनीतिको केन्द्रबिन्दु र साहित्यको पनि पवित्र पाठशाला बनाए सुन्दरीजल जेललाई। नरेन्द्र दाइ, सुम्नीमा, दोषी चस्मालगायतका उनका अनमोल कृतिहरू त्यहीबाट लिखित रत्नहरू हुन्। 

२०३४ साल मंसिरमा वडा प्रहरी कार्यालय कमलपोखरी काठमाडौं, २०३५/०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनताका हनुमानढोका, २०३९ सालको सडक सफाइ आन्दोलनताका वडा प्रका कमलपोखरी, २०४२ सालको ऐतिहासिक सत्याग्रहमा नक्खु कारागार ललितपुर, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पुनः हनुमानढोका र २०६२/२०६३ सालको ऐतिहासिक जनआन्दोलनमा महिला प्रशिक्षण केन्द्र जावलाखेल ललितपुर, प्रहरी प्रशिक्षण कार्यालय महाराजगन्जमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको माग गर्दै राजनीतिक बन्दीका रूपमा थुन्निएको थिएँ।

माथिका ठाउँहरूमा पटकपटक गरी एक वर्ष १० महिना जति बन्दी अवस्थामा रहँदा देउडा संस्कृतिको माला जपिनै रहेँ। त्यसबेला राजनीतिक बन्दीहरू स्व. जगन्नाथ आचार्य, बासु रिसाल, जानकी कुइँकेल, आनन्ददेव भट्ट, विमलेन्द्र निधि, प्रकाशशरण महत, विष्णुबहादुर मानन्धर, कुबेर शर्मा, नीलाम्बर आचार्य, नरहरि आचार्य, लेखनाथ न्यौपाने, मोदनाथ प्रश्रित, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, महेन्द्रराय यादव, योगेश भट्टराई, स्व.राधेश्याम जोन्छे, स्व.नवीन्द्रराज जोशीलगायतका नेताहरूले देउडागीतहरू बन्दीगृहमा राम्रोसँग सुनेका थिए।

२०६३ सालमा सुदूरपश्चिमको महान् पर्व बिसुमा प्रहरी प्रशिक्षण केन्द्र महाराजगन्जमा मानव अधिकारवादी र २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडी, श्याम श्रेष्ठलगायत तत्कालीन सयौं राजबन्दीहरूलाई चौरमा देउडा खेल खेलाएको थिएँ। प्रायः सबै जनाले डेढी कदममा खेलिने पाइतला प्रधान खेल देउडामा घुमेका थिए। वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित कांग्रेस नेता नरहरि आचार्य, सुरेश भट्ट, लोकेश ढकाल, सत्यराज भण्डारीले त हामी सुदूरपश्चिमको देउडा सिक्नका लागि पनि बन्दी भएका रहेछौं। जुन हाम्रा लागि सांस्कृतिक उपलब्धि पनि सिद्ध भएको छ भन्ने प्रतिक्रिया दिएका थिए। 

भैंसी प्यायो मधुवन साल फाल्यो गोगन
काँ हाली पिँठ्यूको चुल्ठो काँ हाली जोवन ?

प्रदेशीको मार्मिक गीत हो माथिको। देउडा गीतहरू समय परिस्थिति र ऋतुअनुसारका पनि हुने हुँदा यी गीतहरू कालजयी हुन्छन्। भाक्या (भाका) र शब्दहरू जनजिब्रोमा झुन्डिने हुँदा माटोको वास्ना एकातिर मगमगाउँछ अर्कोतिर गायत्री मन्त्र कण्ठ (घाँटी) मा झुन्डिएझै देउडा गीतका शब्दशब्द मनमस्तिष्कमा नबिर्सने गरी झुन्डिएका हुन्छन्। यस्तो किन हुन्छ भन्दा मातृशक्तिका प्रभावले मात्र हो।

वेदले मातृभूमिलाई आमा भनेर व्याख्या गरेको छ। यही कुरालाई भगवान् श्रीकृष्णले श्रीभद्भागवत महापुराणमा पनि वज्रवासी गोपी र गोपिनीहरूलाई सुनाउनु भएको छ। हुन पनि यो कुरा सत्य किन पनि छ भन्दा किराँत राईहरूको पवित्र प्रकृति पूजन पर्व उभौली, उधौलीमा साकेला नाच्दा जुन शक्ति प्राप्त हुन्छ, त्यो शक्ति भनेको मातृ शक्ति हो। जसरी देउडा गाउँदा स्वाभाविक रूपमा शब्दहरू उत्पन्न हुन्छन्।

मातृभूमिको पूजा गर्ने मातृभूमिबाट उब्जनी भएका अन्नबालीद्वारा देवता, पितृलाई चढाउने परम्पराले हामीमा शक्ति सञ्चार हुन्छ। त्यसैले त हामीहरू निरोगी र हृष्ठपुष्ठ हुन्छौं। जसले मातृभूमि या माटोलाई अवहेलना गर्दछ त्यो व्यक्ति संस्कृति विरोधी र पापी हो भनी मनुःस्मृतिमा उल्लेख गरेको छ। ‘पापोहम् पापकर्माणि...’ त्यसै भनिएको होइन।

देउडा संस्कृतिमा दैवीय शक्ति छ भन्ने मेरो पहिलेदेखिकै मान्यता हो। त्यसैले त देउडा गीतहरूमा मालिका, शुर्मादेवी, शैलेश्वरीलगायतका शक्तिपीठहरूको चर्चा र मष्टामाण्डु, पशुपतिनाथ, मुक्तिनाथ आदि देवादीदेवहरूको पनि व्याख्या गरिएको हो। देउडा गीतका हालसम्मका कान्छा गायक मानिएका सुश्रुत जोशी तिमिल्सिनाले २०५४ सालमा नौ वर्षको उमेरमा गाएको कालजयी गीतमा यी शब्द रहेका छन्।

मष्टामाण्डू बान्नीमाण्डू ध्वजा फिरिफिरी
मेरा दाजु घर आइझाउ बम्बैको ऋण तिरी
(लयः बिहान बेलुकी, पानी भै म, बगी 
दिउँकी माछी भै मिलुँकी)

मष्टो सुदूर र कर्णाली प्रदेशका जनताको शक्तिशाली कुल देवता हुन्। वान्नी, बझांगी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको भूमि हो, जसको पल्लो छेउमा मष्टा देवताको पवित्र मन्दिर छ। यस धर्तीको वर्णन यो गीतमा गरिएको छ। देश प्राकृतिक स्रोत सम्पदामा धेरै धनी छ। तर, काम नपाएर सयौं युवाहरू बम्बै सहर पुगेका छन्। बम्बैया रोग (एड्स) ले समात्ला समयमै सतर्क हुनका लागि घरका मौ–कपिला (परिवारजन)ले दाजुलाई आफ्नै घरमा छिटो आउ भनी गीतमा बोलाएको प्रसंग छ। 

देउडागीतले सबैथरी जातजाति, धर्म संस्कृति र सबैथरी नागरिकलाई एकै ठाउँमा जोड्ने काम गर्दछ। पृथक्–पृथक् समूहका संस्कृतिलाई पनि एकै आँगनीमा भिœयाउनका लागि परापूर्वकालदेखि भूमिका खेलेकोले देउडा संस्कृति देशका लागि जेठो संस्कृति हो। जसको पछिल्लो उदाहरण हो– सबैथरी जातजाति, नरनारी र वृद्धवृद्धा सम्मिलित देउडा खेल। जसमा सबै अटाएका हुनाले देउडा सुदूरपश्चिमको माटोमा जन्मिएता पनि यसको जरा फेद र हाँगाहरू नेपालभरि फैलिएका छन्। यसको विशाल र अर्थपूर्ण संस्कृति र शैली अन्य ठाउँको संस्कृतिमा भेटिँदैन। रोधीमा एकथरी (गुरुङ) जाति मात्र, उभौलीमा किरात जाति मात्र, झिनझिया नाचमा मैथली संस्कृति मात्र समावेश भएको भेटिन्छ तर देउडामा त्यस्तो देखिँदैन। देउडामा सबै जातजाति समेटिएको भेटिन्छ।  

विगतदेखि वर्तमानसम्म देउडा गीतसम्बन्धी प्रसंग जोड्नाको कारण भनेको सुदूरपश्चिमको भूमिबाट त्यहाँका छाँगा छहराहरू, वन–उपवनका बोली भाषाहरू गाउँबस्तीका शैलीहरू र प्रतिध्वनिहरू रेडियो नेपालभित्र कसरी मुखरित र गुञ्जित भए ? बिसु पर्व र गौरापर्वमा देशका प्रधानमन्त्री, मन्त्रीहरू, प्रशासकहरू देउडा खेलमा कसरी एकीकृत भए भन्ने बारेको इतिहास पाठकहरूलाई सम्झाउन खोजिएको मात्र हो।

मेरा साना मिहिनेत र पसिनाले देउडा गीत र संस्कृति देशभरि फैलिएको होइन, यसमा धेरै ठूलो ठक्कर खाएको र इतिहास बोकेको छु। कुनै बेला तालीभन्दा गाली धेरै खाएको थिएँ। लहलहाउँदो उमेर देउडागीत संकलन र गायनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै गाउँबस्तीमा बिताएको छु। आर्थिक धरातल कसरी बिग्रिएको छ ? सामाजिक जिन्दगी देउडामय भए पनि निजी जिन्दगी कसरी व्यतीत भइरहेछ ? सर्जकहरू सबैले पंक्तिकारका बारे धेरथोर अनुभव गरेकै हुन सक्छ।  

वर्तमान अवस्थामा देउडा गीतलाई फरक शैलीले केही व्यक्तिले अथ्र्याउँदा दुःख लाग्छ। गीतलाई भाषाको रूपमा मात्र हेरिँदा, हरेक गीतहरू बिगारेर गाउँदा र कतैकतै झ्याउरे गीतलाई पनि देउडा गीतमा समावेश गर्न खोज्दा मन पोल्दो रहेछ। देउडा गीतसम्बन्धी हालसम्म नीति छैन, संस्कृति बुझ्ने बीपी कोइरालाजस्तो राजनेता छैन। कारागारमा कठोर जीवन बिताउँदा देउडागीत मेरा लागि साथी बनेका थिए। ती दिनहरू फर्केर आउने छैनन्। रातदिन देउडा गीतका विविध भाकाहरू बन्दी साथीहरूलाई सुनाउने गर्थें, अर्थ बुझाइदिन्थ्ये। सुन्नेहरू दंग पर्थे। आदर्शमय समाजबाट जन्मेका मातृशक्तिका गाथाहरू अमर भएर जानेछन् भन्ने आशा गर्नुबाहेक अब दोस्रो विकल्प रहेन। 

डाँडा गाउन्या को हो को हो ? गैरी गाउन्या लछु
इन्द्र दुःखी कालो बादल मान्छे दुःखी म छु
(अछामका लेक, बझाङका धुरा, झम्का गुलेली...आरू फुलेली फुलेली)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.