नेपाल–भारत सिनेमा सेतु
सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ स्रष्टा नरबहादुर दाहाललाई सम्पादन, मुद्रण, प्रकाशन, राजनीतिक गतिविधि र लेखनका समग्र संगम मान्छन्।
‘सुरसंगीतका केही साधक’को सार्वजनिकीकरण असोजमा गर्नेगरी तयारी थियो। संगीत विषयक मेरो पहिलो यस कृतिमा दार्जीलिङका १६ संगीतकर्मीको जीवनी रहेकाले सो भूभागलाई दृष्टिगत गरी भारतको सिलिगुडीमा कार्यक्रम गर्ने योजना थियो। तर, अचानक भदौ २१ गते सामाजिक सञ्जालमा अपत्यारिलो खबर सम्प्रेषण भयो, ‘नरबहादुर दाहाल सर रहनु भएन।’ भारतीय नेपाली साहित्यका अग्रजले भदौ २१ गते महाप्रस्थानको यात्रा तय गरे।
लामो चिनजान त मेरो थिएन दाहालसित भौतिक रूपमा तर साहित्यिक चिनजान चारदशक अगाडिदेखिको हो। धेरैलाई थाहा नहोला– दाहाल साहित्यिक अभियन्ता त छँदै थिए, भारतीय क्षेत्रमा नेपाली सिनेमाको वितरणमा पनि उनले लामो समय खर्चिए। वरिष्ठ निर्देशक तुलसी घिमिरे दाहाललाई भारतको पूर्वाेत्तर आसाम क्षेत्रका नेपाली सिनेमाका सम्बन्ध सेतु मान्छन्। आफ्नो पहिलो सिनेमा बाँसुरीको वितरणमा दाहालको सहयोगलाई उनले अविस्मरणीय मानेका छन्। लामो समय उनी आसामको गौहाटीमा रही सो कार्य गरे भने उमेर ढल्कँदै गएपछि जन्मभूमि कालिम्पोङ फर्किए।
समालोचक रामकृष्ण शर्मा र पारसमणि प्रधानका छिमेकी उनी १५ वर्षकै उमेरमा उनीहरूको संगतले साहित्यमा लहसिन थाले। अझ ११ वर्षको उमेरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालिम्पोङ भ्रमणका बेला उनको दुई घण्टाको प्रवचन डेग नचली सुनेका थिए दाहालले। देवकोटाको गहकिलो सम्भाषण ११ वर्षे किशोरले के कति बुझे त्यो उनैलाई थाहा होला। तर, यसबाट साहित्यप्रतिको गम्भीर आकर्षण पैदा भई यसबाट अलग्गिनै सकेनन्। साहित्यमा यस्तो दिलचस्पी त रह्यो तर त्यसले जीवन धान्नु कल्पनाबाहिरको कुरा थियो।
यसैबेला तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरू रामबाबु र भरतबाबु प्रसाईंसित सम्पर्क भयो र उनी प्रसाईं बन्धुहरूको आग्रहमा झापाको बिर्तामोड आए। त्यहाँ उनी झण्डै तीन वर्ष बसेर उनीहरूले स्थापना गरेको विद्यालयको बागडोर सम्हाले। यही अवधिमा भरतबाबुको सौजन्यतामा दाहालको पहिलो कविताकृति उन्माद सन् १९५८ मा छापियो। नेपालमा राजनीतिक अस्थिरताले जरो गाडेपछि उनी भारत फर्किएर आसामको गौहाटीमा व्यापार व्यवसायका साथै नेपाली सिनेमाको वितरणमा लागे।
बुढ्यौलीले गाँजेपछि छोराहरूले बनाएको सिलिगुडी नजिकैको सुकुनाको घरमा बस्न थाले दाहाल। सिलिगुडीको सुकुना र सालबाडीलाई भारतीय नेपाली साहित्य र संगीतको पछिल्लो केन्द्र बनाउन लागिपर्दै त्यो क्षेत्रमा मोहन ठकुरी, विन्द्या सुब्बा, जीवन नामदुङ, ज्ञानेन्द्र खतिवडा तथा कालुसिंह रनपहेलीहरूलाई एकीकृत गरी नेपाली साहित्य र संगीतको ग्राम बनाउने श्रेय पनि दाहाललाई जान्छ। जगदम्बाश्री विजेता आसामका व्यापारी तथा समाजसेवी हायमन दास किराँतको सौजन्यतामा ‘वरपीपल’ कृति छापिएपछि दाहाल कथाकारमा दरिए। रमाइलो कुरा के थियो भने दाहालको यो कथासंग्रह र इन्द्रबहादुर राईको एकमात्र उपन्यास ‘आज रमिता छ’ सँगै निस्केका थिए।
सन् १९६५ मा ‘मध्यरातको तारा’ उपन्यास प्रकाशन गर्ने दाहालले रूपनारायण सिंहले सम्पादन गरेको भारती पत्रिकामा थुप्रै निबन्ध लेखे। ‘झल्झली आँखामा’ संस्मरण, ‘लभ यू जिन्दगी’ कथासंग्रह तथा नरेन्द्रबहादुर कुमाईं तथा पादरी गंगाप्रसाद प्रधानको जीवनी आदिको प्रकाशनले उनलाई बहुआयामिक र बहुविधाका साहित्य सर्जकको परिचय गराएको छ। ‘कन्यादान’ उपन्यास, ‘तिम्रो प्रीति मेरो गीत’ तथा ‘आघात’ जस्ता कवितासंग्रह र सेलपापा हास्यव्यंग्यले उनलाई यो क्षेत्रको थप परिचय प्राप्त भएको छ।
निधन हुनु केही अघिसम्म पनि सिलिगुडीबाट प्रकाशित हुने नेपाली दैनिक हिमालचुलीमा उनका रचना नियमित रूपमा प्रकाशित भैरहेका थिए। सो पत्रिकामा मात्रै उनका झण्डै ५०० रचना प्रकशित भएको उनले अन्तर्वार्तामा बताएका थिए। उनको साहित्यिक जीवनको उठान नै भारती, प्रभात तथा गोर्खा जस्ता साहित्यिक पत्रिकाबाट सुरु भएको थियो। नेपालबाट बनेको पहिलो सिनेमा आमाको रिल लिएर उनले आसामका थुप्रै ठाउँमा प्रदर्शन गराए। त्यहाँ फरफरक कालखण्डमा हरिभक्त कटुवाल, लीलबहादुर क्षेत्री, नव सापकोटा आदिको सहयोगमा उनले सम्झना, कुसुमे रुमाल, लाहुरे, माइतीघर आदिको वितरण गरे। समयक्रममा उनी बिस्तारै सिनेमा क्षेत्रबाट साहित्यमै फर्किए।
सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ दाहाललाई सम्पादन, मुद्रण, प्रकाशन, राजनीतिक गतिविधि र लेखनका समग्र संगम मान्छन्। ५ सेप्टेम्बर १९३७ सालमा कालिम्पोङमा जन्मेका दाहाल आजीवन जागिरमा रहेनन्, त्यसैले उनको जीवन यायावरीय रह्यो। दार्जीलिङको नेपाली साहित्य सम्मेलन तथा गोर्खा दुःख निवारक सम्मेलनले आयोजना गर्ने थुप्रै साहित्यिक तथा सांगीतिक कार्यक्रमहरूको संयोजन गरे।
अगमसिंह गिरी, अम्बर गुरुङ, इन्द्रबहादुर राई, रामलाल अधिकारी तथा शिवकुमार राईहरूसित लामोे समयसम्म उनको सहकार्य रह्यो। गत साल नेपाल प्रज्ञाप्रतिष्ठानले प्रदान गरेको भानु अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार पाएका दाहालको नेपालयात्रा मात्र होइन, उनको जीवनको यात्रा पनि त्यसको छ सात महिनामात्र कायम रहन पुग्यो। अब त्यो क्षेत्रमा यस्ता जेष्ठ र वरिष्ठ अभियन्ताका रूपमा उपन्यासकार लीलबहादुर क्षत्रीमात्र बाँकी छन्।