माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत् उत्पादन १८ घण्टा बन्द हुने
दोलखा : जिल्लाको बिगु गाउँपालिका-१ लामाबगरमा रहेको बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट १८ घण्टा विद्युत् उत्पादन बन्द हुने भएको छ।
जलविद्युत् केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न सोमबार बिहानबाट विद्युत् उत्पादन बन्द गर्न लागिएको हो। जलविद्युत् केन्द्रमा सोमबार बिहान ४ बजेबाट राति १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा तथा अन्य गेग्रान हटाउन लागिएको हो। जसका कारण १८ घण्टा विद्युत् उत्पादन बन्द हुने विद्युत् केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए।
वर्षाका कारण बाढीले बगाएर ल्याएका गेग्रान जलाशयमा भरिँदै गएको छ, ‘जलाशयमा थुप्रिएको गेग्रान निकाल्न जलाशय खाली गरेर सफा गर्नु नियमित प्रक्रिया हो,' उनले भने ।’
तामाकोसी जलविद्युत् केन्द्रले सोही समयमा बालुवा थिग्राउने पोखरी, टनेल, र विद्युत् गृहको समेत सरसफाई र मर्मत गर्ने पनि उनले बताएका हुन्। ‘वर्षमा दुई पटक जलाशय सफा गर्नुपर्ने भए पनि हालसम्म एक पटक मात्रै सफा गरिएको छ,’ ‘अबदेखि हिउँद र वर्षा दुवै समयमा जलाशय सफा गर्ने तालिका बनाएका छौं।’
जलाशय सफा गर्ने क्रममा तामाकोसी नदीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि केन्द्रले आग्रह गरिएको छ। जलाशय खाली गर्ने क्रममा बाँधस्थलबाट पानी छाड्दा नदीमा एक्कासि पानी सतह बढ्ने भएकाले तामाकोसी र सुनकोसी तटीय क्षेत्रका स्थानीयलाई माछा मार्न, पौडी खेल्न, नुहाउन लुगा धुन, शव जलाउन, नदीबाट बालुवा निकाल्न नजान आग्रह गरिएको छ।