मौसम नखुल्दा घुर्मैलो पछ्यौरी, खुलेपछि तिम्बुङ पोखरी

मौसम नखुल्दा घुर्मैलो पछ्यौरी, खुलेपछि तिम्बुङ पोखरी

फिदिम  : स्वर्ग कस्तो हुन्छ ? सायद स्वर्ग कसैले देखेको छैन। नदेखेको स्वर्ग पुग्ने कुरै भएन। तर, पवित्र, शान्त, शौम्य, सुन्दर, रमणीय, अनुपम, अलौकिक र आकर्षक ठाँउनै स्वर्ग हो भन्ने भास्य छ। त्यसैले त तिम्बुङ पोखरीलाई मानिसले स्वर्गको उपमा दिन्छन्। 

चार हजार तीन सय ३५ मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी प्राकृतिक छटाहरूको अनुपम भू–स्वर्ग हो। यहाँ पुग्ने अधिकांशले पोखरीलाई स्र्वगसँग तुलना गर्छन्। तिम्बुङको भ्रमण गरेपछि फिदिमका धनकुमार लावतीले स्वर्गको टुक्रासँग पोखरीको तुलना गरे। ‘नपुगेको, नदेखेको स्वर्गको के बयान गरुँ ! स्वर्ग त यही कतै छ, केवल महशुस गर्न सक्नुपर्छ,’ उनी भन्छन् ‘तिम्बुङ पोखरी स्वर्गको एउटा टुक्रा हो।,’

लावतीले भनेजस्तै स्वर्ग भनेकै तिम्बुङ जस्तो लाग्छ। तिम्बुङ साँच्चिकै शान्त छ। सफा छ। सुन्दर छ। मनमोहक छ। अनुपम अनि अलौकिक छ। तिम्बुङ एउटा सुन्दरताको कुमारी गन्तव्य हो। तिम्बुङ दर्शन गर्ने जो कोहीको मन पुलकित हुन्छ। पुष्पित हुन्छ। पल्लवित हुन्छ। तिम्बुङ पुगेर मात्र नेपाल बुझ्न सकिने जोरपोखरीका भीम खतिवडा तर्क गर्छन्। ‘नेपाल बुझ्ने हो भने एक पटक तिम्बुङ पुग्नै पर्छ,’ खतिवडाले भने ‘तिम्बुङ देखेपछि कसले भन्छ नेपाल स्वर्ग हैन भनेर ?,’ 

तिम्बुङ पुग्नेबित्तिकै चिसो सिरेटोले कान निमोठ्नुअघि पोखरीको अनुपम दृश्यले मन लोभ्याउछ। नीलो कञ्चन, स्निग्ध पोखरी, जसलाई कडा चट्टानले घेरेर सुरक्षित गरेको छ। नीलो आकाश पानीमा टल्कन्छ। भित्ताको अजंगको पहाड पोखरीमा ऐना झैं देखिन्छ। यतिलेमात्र तिम्बुङको पहिचान कहाँ हुन्छ र ? सफा पोखरीको सुन्दरताले पुग्ने सबैंको मन लोभ्याउछ। पोखरीको वरीपरिका पहरामा लोपन्मुख बनस्तपति केन्जो र माईकोपिला फूलेको देखिन्छ। यहाँको प्रकृतिसँग विचरण गर्न मिल्छ। क्षणभरमै बादल लुकामारी खेल्न आइपुग्छ। मौसम नखुल्दा घुर्मैलो पछ्यौरीले अनुहार छोपेको परिवेशमा तिम्बुङलाई देखिन्छ। ‘यहाँको प्रकृतिमा उमंगका लाभाहरू पोखरीको पानीमा सलबलाएको देखिन्छ,’ तिम्बुङ पुगेर तुलसी आचार्यले भने ‘यो क्षेत्र प्राकृतिक रूपमा सुन्दर मात्र हैन, पवित्र पूण्यभूमि पनि हो। पोखरी पुगेर फर्केपछि गहिरो ध्यानबाट व्यूँझेजस्तो भयो।’ तर, उनले पोखरीसम्म पुग्नका लगि पूर्वाधार निर्माणमा राज्यले चासो दिनुपर्ने बताए। 

पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्वा गाँउपालिकाको संगमस्थलमा तिम्बूङ पोखरी अवस्थित छ। तिम्बुङ क्षेत्रमा क्षणभरमै मौसम बदलिन्छ। पोखरी र कुहिरोको लुकामारी बिचित्रको लाग्छ। कुहिरोले पोखरीलाई छोप्ने र छाड्ने क्रम निरन्तर चलिरहन्छ। पोखरी आसपाका भौगोलिक दृश्यहरू अनुपम छन्। पोखरीको निकासबाट पाँचथर र ताप्लेजुङको सिमारेखा भएर निरन्तर बगिरहन्छ इवाँ खोला अर्थात् इन्द्रवाती। 

पोखरीको दृश्यावलोकन गर्न बिहानको समयमा उपयुक्त हुने पर्यटन व्यवसायी अमिर राईले बताए। ‘मौसम खुलेको बेला मात्र पोखरीको वास्तविक सुन्दरतालाई नियाल्न सकिन्छ,’ राईले भने ‘बिहानीपख मौसम खुल्छ। त्यसबेला पोखरीको सुन्दरतामा रमाउन सकिन्छ। दृश्यपान गरेर चरम आनन्द लिन सकिन्छ।’  नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रूपमा तिम्बुङलाई चिनिन्छ। घुमन्तेहरूका लागि तिम्बुङ सपनाको गन्तव्य हो। तिम्बुङ नेपालको भर्जिन पदमार्गसहितको पर्यटकीय गन्तव्य हो। पूर्वकै गहनाको रूपमा रहेको तिम्बूङलाई नेपाल सरकारले घोषणा गरेका मुख्य सय वटा पर्यटकीय गन्तव्यमा समेटेको छ। यो क्षेत्र साहसीक पदयात्राको गन्तव्य पनि हो। 

यहाँ लोपन्मुख प्रजातिका केन्जो, माईकोपिला लगायतका वनस्पति पाइन्छन्। जटामसी, बुकीफूललगायतका फूलहरूले तिम्बुङ क्षेत्रलाई सजिसजाउ गरेको छ। यो क्षेत्र पदयात्राको लागि अब्बल स्थान हो। 

पदयात्राका लागि साउनदेखि मंसिरसम्म उयुक्त सिजन मानिन्छ। तर, पर्यटन व्यवसाययीहरू बाहै्रमहिना पदयात्रा गराउन सकिने बताउँछन्। ‘हामी जुनसुकै समयमा पनि पर्यटकहरू ल्याउने कोसिसमा छौं,’ राई भन्छन् ‘सरकारले सहयोग गरेको खण्डमा बाह्रै महिना पर्यटकहरू ल्याउन सकिन्छ।’ स्थानीय स्तरबाटै ट्रयाकिङ रुटलाई व्यवस्थित गरिँदैछ।

अब्बल गन्तव्य भएर पनि पूर्वाधार निर्माणमा सरकारी उदाशिनता देखेर यहाँ पुग्ने पर्यटकहरू आश्चार्य मान्छन्। ‘तिम्बुङ पोखरी प्रचुर सम्भावनाको खानी नै रहेछ,’ पोखरी पुगेका सुबास बाँस्कोटाले भने ‘तर, यसको विकासका लागि सरकारको उदासीनता देखेर आश्चार्य लाग्यो।’

पोखिरदेखि पाँचथरतर्फको चार किलोमिटर र ताप्लेजुङ तर्फको ६ किलोमिटर पैदल मार्गलाई व्यवस्थित गरिएको छ। ‘पर्यटन मन्त्रालय र गाँउपालिकाको आर्थिक लगानीमा कालिखोला तर्फको ६ किलोमिटर पदमार्ग व्यवस्थित गरिएको छ,’ सिदिङ्वा १ कालिखोलका वडाध्यक्ष गोपाल बानियाले भने ‘दुई करोड रुपैयाँले पाङ्दुवासम्म पदमार्ग निर्माण गरिएको छ।’ यहाँ राष्ट्रिय पंक्षी डाँफे पनि देख्न सकिन्छ। चौरी र भेडीगोठ प्रशस्त पाइन्छन्। पछिल्लो समयमा होमस्टेहरू निर्माण भइरहेका छन्। होमस्टे र चौंरी गोठमा बास बस्नुपर्छ। 

तीन दिनमा तिम्बुङ पोखरी

प्राकृतिक छटहरूको भू–स्वर्ग ठानिएको तिम्बुङ पोखरी पुग्न पाँचथर सदरमुकाम फिदिमदेखि तीन दिन लाग्छ। पाँचथरको याङवरक गाँउपालिकाको बेतेनीसम्म गाडीमा जान सकिन्छ। त्यहाँदेखि दुई दिनको पैदल यात्रापछि तिम्बुङ पुग्न सकिन्छ। 

तिम्बुङ जाने दुईवटा पदमार्ग छन्। बेतेनीदेखि ताप्लेजुङको कालिखोला, डढुवा, नुनथला, पाङ्दुवा र ठूलोभञ्ज्याङ हुँदै पोखरी पुगिन्छ। यो मार्ग पदयात्राका लागि सबैभन्दा छोटो र व्यवस्थित मार्ग हो। अर्को पदमार्ग याङवरकको बेतेनीदेखि फलेके, पहाडेमगु हुँदै तिम्बुङ पुग्न सकिन्छ। यता च्याङथापुहुँदै मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ जान सकिने बेतेनीका डिल्लि ओलीले जानकारी दिए। तर, यो मार्ग कालिखोलाको बाटो भन्दा लामो र कठिन छ। बेतेनीदेखि पैदल हिँडेको दुई दिनमा पोखरी पुग्न सकिन्छ। 

null जाँदा हिमाल र उच्च पहाडका मनोरम दृश्यहरू देख्न सकिन्छ। स्थानीय उत्पादन र गोठमा बनेका परिकारहरूको स्वाद चाख्न पाइन्छ। होमस्टे र चौंरी गोठमा बास बस्नुपर्ने हुन्छ। 

किन जाने तिम्बुङ ? 

मानिसहरू तिम्बुङ मुख्य तीन कारणले जाने गरेको पर्यटन व्यवसायी अमिर राईको तर्क छ। धार्मिक, पर्यटकीय र वनस्पतिहरूको अनुसन्धानका लागि मानिसहरू तिम्बुङ आउँछन्। धार्मिक दृष्टिकोणले तिम्बुङलाई अब्बल गन्तव्य मानिन्छ। यहाँ विष्णु भगवान्का भक्तहरूले पोखरीमा गएर पूजा गर्ने गर्छन्। पोखरी नजिकै विष्णुमन्दिर पनि निर्माण गरिएको छ। जनैपूर्णिमा र नागपञ्चमीको बेला हिन्दूधर्मावलम्बिहरूको घुइँचो लाग्छ। ‘यहाँ पूजा गर्दा मनोकाक्षा पुरा हुने भएकाले मानिसहरू भाकल पुरा गर्न आउनुहुन्छ,’ कालिखोलाका नन्दराम बाँनीयाले भने। यो क्षेत्र नेपालको अब्बल पर्यटकीय गन्तव्य हो। ‘प्रकृतिसँग रमाउन पर्यटकहरू आउने गर्छन्,’ अमिर राईले भने ‘यो नेपालको अब्बल धार्मिक पर्यटकीय गन्तव्य हो।’ नेपाल सरकारले तिम्बुङ पोखरीलाई देशका सयवटा गन्तव्यमा समेटेको छ। 

यहाँ लोपोन्मुख जडिबुटी र वनस्पतिको अनुसन्धानका लागि पनि अनुसन्धानकर्ताहरू आउने गरेका छन्। धार्मिक, पर्यटकीय र रिसर्चका हिसावले तिम्बुङ प्रसिद्ध छ।

तिम्बुङको विकासमा सरकारको उदासीनता 

देशका सय पर्यटकीय गन्तव्यको पहिचान गर्दै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा ग¥यो। सय वटा पर्यटकीय गन्तव्यमा तिम्बुङ पोखरी पनि समावेश भएपछि यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले कदम चाल्नेमा स्थानीयहरू ढुक्क थिए। 

धार्मिक पर्यटकीय गन्तव्यको रूपमा तिम्बुङलाई विकास गर्न गर्ने कोसी प्रदेशकै आर्थिक समृद्धिमा कोशेढुंगा हुनेमा सरोकारवालाहरूको ठम्याई छ। तर, ठोस योजनासहित काम गर्न अहिलेसम्म कुनै पनि सरकारी निकाय अग्रसर छैनन्। 

तिम्बुङ क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग गुरुयोजना छैन। ‘सरकारी उदाशिनताले गर्दा तिम्बुङ क्षेत्रको सम्भावना खुम्चिएको छ,’ बर्मेका कृष्ण प्याकुरेलले भने ‘पूर्वाधार विकासमा व्यक्तिगत रूपमा केही प्रयत्नहरू भएका छन् तर त्यो पर्याप्त छैन।’ सरकारी उदासीनता र भौगोलिक विकटताले गर्दा तिम्बुङको सम्भावना अझै ओझेलमा परेको छ। पर्यटनको प्रचुर सम्भावना बोकेको तिम्बुको विकासका लागि सरकारले ठोस गुरुयोजनासहित काम गर्नुपर्ने खाँचो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.