डुम्रे-गुफाचौर पर्यटकीय सडक निर्माण हुँदै, विश्व बैंकसँग सम्झौता
तानसेन : तानसेन नगरपालिका-८ डुम्रेदेखि वडा नम्बर १० गुफाचौर हुँदै होलाङ्दी सडकको कालोपत्रे तथा स्तरोन्नति हुने भएको छ।
तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरी सडक फराकिलो तथा कालोपत्रेको काम सुरु भएको हो। तानसेन नगरपालिकाको गौरव योजनाका रूपमा रहेको पर्यटकीय सडकले प्रत्यक्ष रुपमा डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दीसम्मका जनतालाई फाइदा पुग्ने छ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने पर्यटकीय सडक स्तरोन्नतिका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता गरिएको छ। तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरूको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो।
आयोजनाको कुल रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसा रहेको छ। तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पर्यटकीय सडक तानसेन नगरपालिकाको गौरव योजनाको रहेको भन्दै सडकको योजना धेरै प्रयास पछि नगरपालिका ल्याउन सफल भएको बताए। सडक निर्माण भएपछि तानसेन वडा न वडा नम्बर ८ १० ११ र ५ का नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताए।
बाटो स्तरोन्नति भएपछि गुफाचौर जाने पर्यटकहरूमा वृद्धि हुने, स्थानीय स्तरमा होटल रेष्टुराहरू सञ्चालन हुने, कृषि उत्पादन तथा पशुपालनमा वृद्धि हुने, स्थानीयहरूको आयआर्जनमा वृद्धि हुँदै समग्रमा तानसेनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्तरीय सडक नहुँदा गुफाचौरमा लैजाने भनी ८ वर्षअघि निर्माण गरिएको भव्य गणेश मुर्ति वडा नम्बर १० को वडा कार्यालय परिसरमा अलपत्र अवस्थामा रहेको छ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले १३ महिनाभित्र काम सम्पन्न हुने गरिएको बताए। यस आयोजनाबाट ६ दशमलव ८ किलोमिटर सडकको स्तरोन्नति हुने बताए। अन्य सडक तानसेन नगरपालिकाबाट बजेट बाट निर्माण गरिने नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !