संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्छ : प्रदेश प्रमुख शर्मा
हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको रक्षा गर्दै संघीयता,धर्म निरपेक्षता र समाजवादमार्फत् नेपाली जनताको आर्थिक समुन्नति,विकास पूर्वाधार र मौलिक हकको सम्वद्र्धनका लागि सबैलाई आह्वान गरेका छन् ।
प्रमुख शर्माले संविधान दिवसको अवसरमा हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुकको संविधानलाई सबै जनप्रतिनिधि,संवैधानिक निकाय, नेपाली जनताले आफ्नो स्वामित्व ग्रहण गरिसकेको हुँदा यदाकदा देखिने विरोधबाट कुनै परिवर्तन नहुनेसमेत बताए ।
उनले मुलुकमा आन्दोलनमार्फत् राजनीतिक परिवर्तन भएको भएता पनि अब प्रदेश सरकारले जनताको मन जितेर आर्थिक,भौतिक पूर्वाधार विकासको क्षेत्रमा विभेद नगरी सम्मानजनक वितरण गर्न सके लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहने बताए ।
सोही समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधानको अक्षरष पालना गर्दै प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको स्रोत साधन परिचालन गरिने बताए । उनले प्रदेशका सबै जिल्लाहरुमा सम्मानजनक ढंगबाट राष्ट्रिय गौरवको भौतिक पूर्वाधार विकास र मानव अधिकारको सम्वद्र्धनको लागि प्रतिवद्ध हुँदै कार्यान्वयन गरिएको बताए ।
समारोहमा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले संविधानले परिकल्पना गरेको तीन तहहको सरकारले आ–आफ्ना कमिकमजोरीलाई सुधार गरेर संघीयता र गणतान्त्रिक व्यवस्थालाई दीगो तुल्याउन राजनीतिक दलहरूको सहकार्य र समन्वय आवश्यकता परेको बताए ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले राष्ट्रिय झण्डोतोलन गरेका थिए । उनले अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी नेपाली सेना र प्रहरीका खेलाडीहरूलाई नगद र प्रमाणपत्र वितरण गरेका थिए ।
संविधान दिवस मूल समारोह समितिद्वारा हेटौंडास्थित बुद्धचोकबाट निस्किएको झाकी,ब्यान्ड,पञ्चेबाझासहितको र्याली हेटौंडा नगरको परिक्रममा गरी मन्त्रिपरिषद्को परिसरमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो ।