डडेल्धुरा कारागारबाट सातजना कैदीबन्दी रिहा
डडेल्धुरा : डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।
‘मूलुकी अपराध संहिता कार्यान्वय हुनु अगाडिका मुद्वामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ,’उनले भने, ‘सोहीअनुसार १ जना ४० प्रतिशत र अन्य ६ जना ५० प्रतिशत कैद भुक्तानग गरेकालाई रिहा गरिएको छ ।’ कर्तव्य ज्यान मुद्दाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एकरएक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए ।
उनीहरुलाई आफन्तको जिम्मा लगाउने कार्य भइरहेको ओझाले बताए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । हरेक वर्ष संविधान दिवसको अवसरमा कैदीलाई रिहा गरिन्छ ।