शिक्षक र स्थानीय तहबीच टकराब
विद्यालय बन्द गर्ने प्रधानाध्यापकको निर्णयपछि बालेनले भने : पठनपाठनमा अवरोध भए कारबाही हुन्छ
काठमाडौं महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकले बिहीबारबाट विद्यालय बन्द गरेर माइतीघरमा नियमित हाजिर हुने निर्णय गरेका छन्।
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षकले स्कुल बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन्। काठमाडौं महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकले बिहीबारबाट विद्यालय बन्द गरेर माइतीघरमा नियमित हाजिर हुने निर्णय गरेका छन्। उक्त निर्णयपश्चात मेयर शाहले फेसबुकमार्फत पठनपाठनमा अवरोध पुर्याए कानुनअनुसार कारबाही हुने चेतावनी दिएका हुन्।
मेयर शाहले शिक्षा विधेयकमा असहमति रहेको बताए। मेयर शाहले भने,‘लगभग २ लाख ५० हजार विद्यार्थी तथा १० हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ। आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छ्न्। ’
संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको उनको भनाई छ। ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन।’ मेयर शाहले भने, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यामिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानीत अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ।’
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएका थिए। उक्त सूचना सार्वजनिक भएपछि काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकले बिहीबारबाट विद्यालय बन्द गरेर माइतीघरमा नियमित हाजिर हुने निर्णय गरेका हुन्।
आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील भएको बताउँदै ३० सामुदायिक विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।