भागी विवाहको सजाय ‘न नागरिकता, न काम’

भागी विवाहको सजाय ‘न नागरिकता, न काम’

जनकपुरधाम : ३५ वर्षीया मुन्नीदेवी महरासँग नागरिकता छैन। उनी आफ्नो गाउँमा हुने जुनसुकै सार्वजनिक कार्यक्रम, भेला वा सभा सम्मेलनमा जाँदा एउटै गुनासो गर्छिन् ‘हमरा कहुनाक नागरिकता दिआ दु सर’ (मलाई जसरी पनि नागरिकता दिलाई दिनुस् सर) तर, अहिलेसम्म उनको हारगुहार नत कसैले सुनेको छ, न कसैले उनलाई नागरिकता दिलाउन कुनै चासो देखाएको छ। 

सप्तरीको राजविराज नगरपालिका—४ बरही वीरपुर माइती भएकी मुन्नी यहीँ जन्मेर हुर्किइन्। यहीँको युवकसँग प्रेममा परि भागि विवाह गरिन्। उनको माइती र घर दुवै नेपालमै छ तर, पनि उनले हालसम्म नेपाली नागरिकता पाउन सकेकी छैनन्। 

धनुषाको जनकनन्दनी गाउँपालिका—४, खजुरी गाउँका लतरु महरासँग १७/१८ वर्षकै उमेरमा मुन्नीले प्रेम विवाह गरेकी थिइन्। 

एकपटक मुन्नीको गाउँका साथीहरू काठमाडौं कुनै नेताको जुलुसमा जान लागेका थिए। मुन्नी त्यति बेला सानै उमेर करिब १३/१४ वर्षकी थिइन्। उनलाई पनि काठमाडौं जाने रहर लाग्यो। उनी साथीहरूसँगै घरपरिवार छाडेर काठमाडौं गइन्। तर, त्यहाँ उनी साथीहरूसँग छुट्टिन पुगिन्। ‘मलाई छाडेर उनीहरू फर्के, म काठमाडौंमा एक्लै भएँ। कोही नभएपछि त्यहीँकी एक नास्ता पसल चलाउने निकै राम्रो व्यवहार भएकी साहुनीलाई भेटेँ। उनले पसलमा काम दिइन्, खाने बस्ने सबै मिलाइदिइन्। म करिब तीन वर्ष काठमाडौंमै काम गर्दै बसँे,’ मुन्नीले आफ्नो विगत सम्झँदै भनिन्, ‘काठमाडौंमै हुँदा मैले लतरुलाई भेटँे। उनैले विवाहको प्रस्ताव राखेका थिए। मलाई पनि घर बसाउनु थियो अनि मैले पनि हुन्छ भनिदिएँ। हाम्रो विवाह त्यहीँ मन्दिरमा भयो।’ 

विवाह भएको ६ महिनापछि नै मुन्नीलाई लिएर लतरु गाउँ आइपुगे। तर, गाउँमा उनलाई न त सासु उर्मिलादेवी महराले अपनाइन् न गाउँ समाजले नै। उनलाई खान लगाउनदेखि लिएर, जीवनयापन गर्नसमेत समस्या भयो। केही दिन बित्दै गएपछि मुन्नीले दुई सन्तानलाई जन्म दिइन्। सन्तान भएपछि सासुले ती दुबैको जन्मदर्ता बनाइदिइन् तर, मुन्नीको नागरिकता भने परिवारले बनाउन मानेन। ‘मेरो नागरिकता बनायो भने म घरमा हिस्सा माग्छु। फेरी अर्कासँग भाग्छु जस्ता आरोपहरू लगाउँछन्, तेरो भरोसा छैन भन्छन् त्यही भएर अहिलेसम्म नागरिकता बनाइदिएको छैन,’ उनले सुनाइन्। उनको श्रीमान्को नागरिकता छ तर, त्यो हराइसकेको छ। नागरिकताको नयाँ प्रतिलिपि श्रीमान्ले निकालेका छैनन्। 

श्रीमान् बेरोजगार रहेकाले मुन्नीलाई दुई बालबालिका र आफ्नो गुजारा गर्न भए पनि सानोतिनो काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तर, सबै कामको बीचमा तगारो बनेको छ नागरिकता। 

‘एउटा मोबाईलको सिम निकाल्न पनि नागरिकता नै चाहिन्छ। केही काम गरुँ भने नागरिकता नै चाहिन्छ। गाउँपालिकाले कुनै सेवा सुविधा दिँदा पनि नागरिकता भएकाहरूलाई नै दिन्छन्, यस्तोमा बाँच्नकै लागि नागरिकता चाहिन्छ जस्तो लाग्छ। तर, मैले जतिसुकै हारगुहार गर्दा पनि नागरिकता पाउन सकेकी छुइन।’ खासै पढेलेखेको नभए पनि उनलाई नेपाली राम्रै बोल्न आउँछ। उनी प्रश्न गर्छिन्, ‘म यही देशको नागरिक हुँ अनि मेरो आफ्नै नाममा नागरिकता बनाउन कुनै त उपाय होला ?’

मुन्नीको नागरिकता बनाउन उनको परिवारसँग समन्वयको प्रयास गर्ने गाउँपालिकाका वडाध्यक्ष दिलिप कुमार यादव बताउँछन्। ‘उनको नागरिकता बनोस् भन्ने चाहना हाम्रो पनि छ। तर, उनको परिवारले सनाखत नगरिदिएर समस्या भएको हो। उनलाई नागरिकता दिलाउन हामी प्रयास गर्ने नै छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.