पाकिस्तानसँग नेपाल कमजोर
काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो। पाकिस्तानको जितमा अली जफरले गोल गरे। उनले खेलको ७६औं मिनेटमा गरेको एक गोल नै पाकिस्तानका लागि निर्णायक गोल सावित भयो। जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो।
खेल अवधिभर नेपालको प्रदर्शन भने केही कमजोर थियो। अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ। त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ। त्यस्तै समूह ‘बी’मा भारत, बंगलादेश र भुटान रहेको छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।