किशोरले भरिएका बालसुधार गृहमा झडपै झडप

किशोरले भरिएका बालसुधार गृहमा झडपै झडप

नेपालगन्ज : 

घटना–१ : बाँकेमा झडप १ को मृत्यु, १० घाइते

४ असोज २०८० : बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयन्दु बालसुधार गृहमा बिहीबार राति झडप हुँदा घाइते भएका ११ मध्ये एक जनाको मृत्यु भएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार झडपमा गम्भीर घाइते भएका रूपन्देहीको कचन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

अस्पतालमा १० जनाको उपचार भइरहेकोमा ६ जना डिस्चार्ज भइसकेका छन् । टाउकोमै चोट लागे पनि उनीहरू सबै खतरामुक्त रहेको बाँँके प्रहरीले जनाएकोे छ । शुक्रबार दिउँसोसम्म पनि बालसुधार गृहमा विरोध प्रदर्शन जारी थियो । भवनका छतछतमा बसेर उनीहरूले विरोध प्रदर्शन गरेका थिए । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरी दुई सयभन्दा सुरक्षाकर्मीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएका थिए । आन्दोलन गर्नेमध्ये चार दर्जन बढीलाई तत्कालका लागि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहाको हिरासतमा स्थानान्तरण गरेर स्थितिलाई नियन्त्रणमा लिएको जिप्रका बाँकेले जनाएको छ । बाल सुधार गृहमा रहेका २ सय ५४ बालक र किशोरमध्ये ४ जना किशोर फरार भएका छन् । शुक्रबार राति अबेर यो समाचार तयार पर्दा पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । 

घटना –२ : भक्तपुरमा झडप १ को मृत्यु २९ घाइते 

३ भदौ २०८०: भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहमा झडप हुँदा एक जना किशोरले ज्यान गुमाएका थिए । त्यहाँ भएको झडपमा सुरक्षाकर्मीतर्फ १९ र १० बालबालिका गरी २९ जना घाइते भएका थिए । 

रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेत बेहोस भई भक्तपुरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए । बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए । प्रहरीसँगको झडपपछि सुधार गृहभित्र रहेका २ सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर भागेका थिए ।

घटना –३ : वीरगन्जमा झडप, १४ घाइते 

२७ भदौ २०८० मा वीरगन्जको बालसुधार गृहमा पनि झडप भएको थियो । झडपमा ३ प्रहरी र ११ बालक र किशोर घाइते भएका थिए । बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १ सय ४९ जना कैदी बन्दी थिए । भक्तपुर बालसुधार गृहमा झडप भएपछि उनीहरूलाई वीरगन्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगन्जमै रहेका कैदीबन्दीबीच पटकपटक झडप र विवाद हुने गरेको थियो । भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बालसुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

घटना –४ : भैरहवामा डीएसपीसहित २ प्रहरी घाइते 

७ असार २०७९ : भैरहवास्थित प्रदेशस्तरीय बालसुधार गृहमा झडप हुँदा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी नवरत्न पौडेल र प्रहरी जवान टोपबहादुर रखालमगर घाइते भएका थिए । बालगृहमा बस्ने १८ वर्ष उमेरमाथिका किशोरहरूलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा रहेका किशोरहरूले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका थिए । 

पटकपटक विभिन्न घटना घटाइरहेका विवादमा परेका किशोरहरूले बालसुधार गृहको भवनको सिसासमेत तोडफोड, पंखाहरू तोडेका थिए । ६० जनाको क्षमता भएको बालसुधार गृहमा त्यत्तिबेला १ सय १० जनालाई राखिएको थियो । किशोरहरूले बालसुधार गृहमा तोडफोड र बेडमा आगजनी गरेपछि दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा ल्याएको थियो । सुरक्षाकर्मीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले १७ जना किशोरहरूलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । 

झडपमा गम्भीर घाइते भएका रूपन्देहीको एक जनाको उपचारका क्रममा मृत्यु भएको होे । आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौं । किन यसरी झडप हुन्छ हामी गम्भीर रूपमा अनुसन्धान गर्छौं । सन्तोषसिंह राठौर, प्रहरी उपरीक्षक, बाँके

चार वटा बालसुधार गृहमा भएका यी घटना प्रतिनिधिमूलक मात्र हुन् । १८ वर्ष मुनिका बालमिझ्याइँमा परेका बालबालिकालाई कारागार चलान नगरेर सुधारका लागि भन्दै बालसुधार गृहमा पठाइन्छ । तर यी सबै घटनामा संलग्न अधिकांशको उमेर १८ वर्षभन्दा माथि छ । अर्थात् बालसुधार गृहमा हुने झडप बालबालिकाबीच होइन कि १८ वर्षभन्दा माथिका किशोर संलग्न छन् । बाँकेका प्रहरी प्रमुख राठौर केही दिन अघिसम्म बाँकेको बालसुधार गृहमा ३२ वर्षको युवा पनि रहेको बताउँछन् । उनले भने, ‘बाँकेको बालसुधार गृहमा रहेका २ सय ५४ जनामध्ये १ सय ६५ जना त १८ वर्षभन्दा माथिकै छन् । २६ देखि २८ वर्र्षका पनि छन् । लागूऔषधको कुलतमा रहेका व्यक्तिबीच झडप भएको छ ।’ 

यस अर्थमा बाँकेकोे बालसुधार गृहका कुल बालमिझ्याइमा परेकामध्ये ६४.९६ प्रतिशत त १८ वर्षभन्दा माथिकै उमेरसमूहका छन् । बालसुधार गृहकी प्रमुख विमला काउचा पनि बिहीबार राति ११ बजेतिर लागूऔषध सेवन गर्ने र सेवन नगर्नेबीच झडप भएको बताउँछिन् । लागूऔषध सेवन गरेर झुमेका युवाले अर्कोलाई हानें भनेर आफ्नै साथीमाथि टाउकोमा आक्रमण गरेको थियो । उनले यसअघिका झडपमा पनि बालकभन्दा किशोर नै संलग्न भएका थिए । यो सुधार गृहमा यसअघि पनि झडप भएको थियो । झडपका क्रममा आगजनी पनि गरिएको थियो । सो घटनामा संलग्न १९ जनालाई स्थानान्तरण गरिएको काउचाले जानकारी दिइन् । 

बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ४२(१) मा नेपाल सरकारले आवश्यकताअनुसार बालसुधार गृहको स्थापना गर्ने वैधानिक प्रबन्ध गरेको छ । यस्ता सुधार गृहमा प्रथमत: कसुरको अभियोगमा मुद्दाको तहकिकात वा पुर्पक्षको निमित्त थुनामा बस्नुपर्ने र कैदको सजाय पाएका बालबालिका राखिने कुरा ऐनको दफा ४२ (२) ले निर्देश गरेको छ । बालबालिकाको सर्वोत्तम हितलाई विचार गरी तिनीहरू कसुरदार भएका मुद्दामा १० वर्ष उमेरसम्मका लागि कुनै सजाय हुँदैन । १० भन्दा माथि १४ वर्षसम्मका लागि अरू बालकलाई हुने कैदको आधा अर्थात् ६ महिना बालसुधार गृहमा राख्नुपर्ने व्यवस्था छ । १६ देखि १८ वर्षसम्मका बालबालिकाले अपराध गरेमा उमेर पुगेकालाई हुने सजायको दुई तिहाइ मात्र सजाय हुने व्यवस्था छ । ती बालबालिका सुधार गृहमै रहँदा १८ वर्ष लागे भने पनि उनीहरूलाई छुट्टै राख्नुपर्ने व्यवस्था छ । 

बाँकेको बालसुधार गृहमा लागूऔषध सेवन गर्ने र नगर्ने, भेगीय हिसाबले पूर्व र पश्चिम अझ राजनीतिक दलकै आधारमा पनि ग्याङ बनाएर बसेकाले बेला बेलामा झडप हुन्छ । यो समस्या समयमै हल गर्नुपर्छ । वसन्त गौतम, अधिवक्ता

बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बालसुधार गृहमा राख्ने व्यवस्था गरेको छ । ऐनमा ‘१८ वर्ष पुगेमा बानी व्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ । केही वर्षअघिसम्म बालमिझ्याइमा परेका बालकको उमेर १८ वर्ष पूरा हुँदा उनीहरूलाई कारागार चलान गरिन्थ्यो । 

सर्वोच्च अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएपछि सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गरेको बाँकेको बालसुधार गृहका बालकको पक्षमा वकालत गर्दै आएका अधिवक्ता वसन्त गौतम बताउँछन् । उनी भन्छन्, ‘बाँकेको बालसुधार गृहमा लागूऔषध सेवन गर्ने र नगर्ने, भेगीय हिसाबले पूर्व र पश्चिम अझ राजनीतिक दलकै आधारमा पनि ग्याङ बनाएर बसेकाले बेला बेलामा झडप हुन्छ ।’

सुधार गृहमा अधिकांश जबर्जस्ती करणी, लागूऔषध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, चोरीलगायतको मुद्दाका बालक र किशोर छन् । किशोरावस्था र पटकपटक कानुनी झमेला सहेका व्यक्तिका कारण पनि बालसुधार गृहमा झडप हुने गरेको गौतमको बुझाइ छ ।

क्षमताभन्दा धेरै

केन्द्रीय बाल न्याय समन्वय समितिका अनुसार देशभर मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रूपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन् । चार वटा बालसुधार गृह नेपाल सरकारले नै सञ्चालन गरेको छ । अरु चार वटा बालसुधार गृह गैरसरकारी संस्था बालबालिकाको लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) भक्तपुरलाई व्यवस्थापनको जिम्मा दिएको छ । 

बाँकेमा लागूऔषध सेवन गर्ने र सेवन नगर्नेबीच झडप हो । यसअघिका झडपमा पनि बालकभन्दा किशोर नै संलग्न भएका थिए । यो सुधार गृहमा यसअघि पनि झडप भएको थियो । विमला काउचा, प्रमुख, बालसुधार गृह

सरकारले चार वटा बालसुधार गृह सञ्चालनको लागि वार्षिक एक करोड रुपैयाँ दिने गरेको छ । पछिल्लो समय अपराध कर्ममा बालबालिकाको संख्या बढ्दै गए पनि बालसुधार गृहको संंख्या वृद्धि वा भएका बालसुधार गृहको क्षमता बृद्धि हुन सकेको छैन । 

क्षमताभन्दा बढी भएका कारण सबैभन्दा समस्या सुत्न हुन्छ । क्षमताभन्दा दोब्बर तेब्बर संख्यामा राखिएकाले शौचालय, नुहाउँदा र लुगा धुन पनि समस्या हुने गरेको बालबालिकाहरू बताउँछन् । यी समस्या पनि झडप हुने कारणमा पर्छन् । देशभरिका बालसुधार गृहको क्षमता ५ सय ३० रहे पनि अहिले ८ वटा बालसुधार गृहमा एक हजारभन्दा बढीलाई राखिएको छ ।

बालसुधार गृहको सञ्चालनमा देखिएका समस्या

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय मातहतको केन्द्रीय बालकल्याण समितिले २०७१ सालमा बालसुधार गृहको स्थिति अध्ययन गरेको थियो । बालसुधार गृहलाई व्यवहारत: सुधार गृहका रूपमा सञ्चालन गरी त्यहाँ पुगेका बालबालिकाको व्यवहार, स्वभाव र मनोभावनामा सुधार ल्याउन आवश्यक रहेको सिफारिस गरेको छ । यो अध्ययन प्रतिवेदनले सुधार गृहको बालबालिका राख्ने क्षमता निर्धारणको आधार स्पष्ट नभएको र हाल मानिएको क्षमताका आधारमा क्षमताभन्दा बढी बालबालिका रहेको जनाएको छ ।

सुधार गृहमा रहेका बालबालिकाको मनोसामाजिक समस्याको प्रारम्भिक लेखाजोखा व्यवस्थित नगरी देखा परेको व्यवहारको अवलोकन वा व्यक्त गरेको लक्षणका आधारमा सेवा उपलब्ध छ । कस्तो सहयोगात्मक वा उपचारात्मक हस्तक्षेप गर्ने भन्ने कुराको सुव्यवस्थित दिशा निर्धारण गरी सेवा उपलब्ध हुन सकेको छैन । यसले मनोसामाजिक सेवाको व्यावसायिक परिपूर्णतामा कमी देखाएको उल्लेख छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भक्तपुरको बालसुधार गृहमा बालकको मृत्युको भएको घटना लापरबाही र उदासीनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । अध्ययन प्रतिवेदनमा बालसुधार गृहमा न्यूनतम सुविधा पनि नभएको साथै न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) को लापरबाही र प्रशासनको उदासीनताका कारण उक्त घटना भएको अध्ययनको निष्कर्ष छ । 

इन्सेकको अध्ययन प्रतिवेदनमा बालसुधार गृहको सञ्चालनको जिम्मा नेपाल सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रूपमा विकास गर्न आवश्यक भएको तथा सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको उल्लेख छ । युसेप नेपालले नेपाल कानुनका मातहतमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग गरी नेपाल सरकारका दुई निकायसँगको पृथक्पृथक् सम्झौताअन्तर्गत सुधारगृह सञ्चालन गर्ने जिम्मेवारी लिएको छ ।

‘बालसुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बालसुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ट छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.