पहिलो नारी स्रष्टा भुवनेश्वरी

पहिलो नारी स्रष्टा भुवनेश्वरी

नेपालमा वैदिककालपछि प्राचीनकालमा रहेका नारी स्रष्टाको खोजी हुन बाँकी छ। तर, भुवनेश्वरीले महाभारतका एक लाख श्लोक उतार्ने काम वि.सं. १७९२ मै पूरा गरेकी थिइन्। मध्यकालमा भने नेपालमा कवयित्रीहरू थिए।

नेपालमा पुरुष लेखकहरूको इतिहास शदियौं पुरानो छ। तर पुरुषको तुलनामा नारी स्रष्टाहरूको आगमन धेरै पछिमात्र भएको देखिन्छ। यद्यपि वैदिककालमा भने ‘ब्रह्मवादिनी’ समूहका नारी वैदिक शिक्षामा ग्रहण गर्थे भने ‘सद्योवधू’का महिला विवाहपूर्व ‘वेदमन्त्र’ र ‘याजक’ प्रार्थनासम्बन्धी ज्ञान हासिल गर्थे। वैदिक वाङ्मयमा अध्यापिका थिए जसलाई ‘उपाध्याया’ भनिन्थ्यो (मदनमणि दीक्षित, हाम्रा प्राचीन नारी, १९९९ : ८०४)। वैदिककालमै ‘याज्ञवल्क्य’की पत्नी ‘मैत्रेयी’का प्रश्नका जवाफमा ‘याज्ञवल्क्य स्मृति’ र वेदको व्याख्याबाट ‘मैत्रेयी उपनिषद्’ बनेको थियो। उनकी अर्की पत्नी ‘कात्यायिनी’ उपनिषद् रचना गरेकी थिइन्।

नेपालमा नारी स्रष्टा : नेपालको सन्दर्भमा वैदिककालपछि प्राचीनकालमा रहेका नारी स्रष्टाहरूको खोजी हुन बाँकी छ। मध्यकालमा भने नेपालमा कवयित्रीहरू थिए। उनीहरू कविता लेख्थे। राजघरानासित सम्बन्धित उनीहरू साक्षर हुन्थे। यस वर्गका नारीहरूको काव्य रचनाप्रति निकै चाख हुन्थ्यो (डा. जनार्दनराज लामिछाने, नेपालको प्रशासनिक संस्कृति, २०७४: ७०)। मल्लकालमा राजा प्रताप मल्लकी रानी लालमती कवयित्री थिइन्। त्यतिबेला शक्तिमाई नामक लेखिका धार्मिक परम्पराका कविता लेख्थिन् (प्रा.डा. कुमारबहादुर जोशी, प्रथम नारी स्रष्टा ललितत्रिपुर सुन्दरीबारेको पत्र, २०६४ भदौ ९)।

नेपाल एकीकरणअघि र पछि राजपरिवारका महिला साक्षर थिए। उनीहरूलाई कला, शास्त्रीय र नीतिशास्त्रसम्बन्धी शिक्षा दिइएको हुन्थ्यो (डा. राजेश गौतम, राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू, २००४: १५१)। पृथ्वीनारायण शाहकी बहिनी ‘पद्मावती’ साक्षर थिइन्। उनले राजकाजमा समेत सघाएकी थिइन्। पद्मावतीको अध्यक्षतामा ‘पञ्च–कचहरी’ बस्ने गथ्र्यो (सत्यभामा मानन्धर, नेपालमा नारीहरू एक ऐतिहासिक अध्ययन, २०३६ : १७)। भद्रलक्ष्मीदेवी जंगबहादुर राणाको मन्त्रिमण्डलमा मिनिस्टर रहेको पाइन्छ (प्रा.डा. कुमारबहादुर जोशी, पूर्ववत्)।

नेपाल एकीकरणपछि खासगरी राणाकालमा महिलाहरू लेखनमा अगाडि आए। १९५४ सालमा ‘दुर्गादेवी आचार्य दीक्षित’ले ‘स्त्री शिक्षा’बारे लेख लेखी नारी जागरणको सूत्रपात गरेकी थिइन् (सहाना प्रधान, नेपाली महिला आन्दोलनको दिशा, २०५२)। १९६६ जेठमा बनारसबाट प्रकाशित ‘माधवी’ मासिकमा ‘कल्पसुन्दरी’को कविता छापिएको थियो। बनारसबाट सन् १९१४ (वि.सं. १९७१) प्रकाशित ‘चन्द्र’ मासिकमा ‘सुकेशरी’को ‘स्त्री शिक्षा’ र ‘कादम्बिनी’को ‘वीरपत्नीको साहस’ शीर्षकका लेखहरू प्रकाशित भएका थिए (गृष्मबहादुर देवकोटा, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, २०५९, १२२–१२३)।

देहरादुनबाट १९८३ मंसिर १५ गते प्रकाशित ‘गोरखा संसार’ साप्ताहिकमा दिव्यकुमारीदेवी कोइराला (बीपी कोइरालाकी आमा)को ‘स्त्री शिक्षाको आवश्यकता’ शीर्षकको लेख छापिएको थियो। १९८३ चैत्र ३० गतेको ‘गोरखा संसार’ साप्ताहिकमा ‘लावण्यमयीदेवी’को ‘कस्ता थिञौ के भञौ’ शीर्षकको लेख प्रकाशित भएको थियो। शरद्चन्द्र शर्मा भट्टराईका अनुसार भने ‘लावण्यमयीदेवी’ कुनै महिला नभई शम्भुप्रसाद आँसुकवि (शम्भुप्रसाद उपाध्याय)को छद्मनाम थियो (शरद्चन्द्र शर्मा भट्टराई, ओझेलमा परेकाहरू, २०५६: २११)।

भोजपुरको नेपालेडाँडामा जन्मिएकी योगमाया न्यौपानेले १९७२–७६ सालतिरका प्रवचन १९८८ सालतिर उनकी निरक्षर छोरी नैनकलाले धाराप्रवाह सुनाउँदा ती वाणीहरू प्रेमनारायण भण्डारीले लिपिबद्ध गरेका थिए। तिनै वाणीमा आधारित योगमायाको ‘सर्वथा योगवाणी’ २००६ असारमा प्रकाशित भएको थियो।

१९९२ भदौको ‘शारदा’ मासिकमा नर्स ‘विद्यापति’को ‘आत्माका पाँच इमान्दार सबकहरू’ शीर्षकको लेख तथा ‘गोमादेवी’को ‘जलन’ शीर्षकको कविता छापिएको थियो। पूर्व २ नम्बर दोलखा–रामेछापकी ‘मधुधारा छेत्रिनी’को ‘कविता मधुधारा’ शीर्षकको कविता १९९४ भदौ १९ गतेको ‘गोरखापत्र’मा छापिएको थियो। ‘लोकप्रियादेवी’, ‘प्रियदर्शिनीदेवी’, ‘तारादेवी’हरूका आलेख ‘शारदा’ र ‘गोरखापत्र’मा प्रकाशित हुने गरेका थिए।

१९९७ असारमा बनारसबाट मोतीदेवीको सञ्चालनमा ‘सर्व हितैषी’ मासिक र सन् १९४९ नोभेम्बर (२००६ कात्तिक) मा ‘सुनकेशरी प्रधान’को सम्पादनमा ‘शिक्षा’ पत्रिकाहरू प्रकाशित हुँदै आएका थिए। बनारसबाट सन् १९५१ मार्च (२००७ चैत) मा ‘देवकुमारी सिन्हा’को सम्पादनमा ‘हिमाल किशौर’ पत्रिका निस्केको थियो। ‘कुमारी सहानादेवी’को ‘निशा कान्ति’ शीषर्कका कविता २००४ सालको ‘साहित्य स्रोत’ पत्रिकामा छापिएको थियो (देवकोटा, २०५९: १२२)। साधना प्रधान र कामाक्षादेवी राणा बस्नेतको सम्पादनमा २००८ सालमा ‘महिला’ मासिक निस्केको थियो (बज्राचार्य, प्रभादेवी बज्राचार्य, नेपालका प्रेरणादायी महिलाहरू, २०७१ : ४५)।

‘महिला’ मासिकको सम्पादन टोलीमा ‘श्रीमाया’ र ‘चम्पादेवी बज्राचार्य’ पनि थिए (कमला पराजुली, सम्झनामा साधना, २०६३: ३९)। २००८ सालमा ‘प्रियम्बदा शर्मा’को सम्पादनमा कन्या मन्दिर हाइस्कुलको मुखपत्र ‘प्रभा’ मासिक निस्केको थियो। २००९ भदौमा ‘अखिल नेपाल महिला संघ’को मुखपत्र ‘प्रतिभा’ मासिक ‘कुन्तीदेवी’को सम्पादनमा छापिएको थियो। २०१० सालमा ‘रमादेवी पन्त’को सम्पादनमा ‘जनविकास’ मासिक निस्केको थियो (देवकोटा, २०५९: १२१)। प्रजातन्त्र स्थापना पछिको खुला वातावरण र शैक्षिक विकाससँगै महिला महिला लेखिका अगाडि आउँदै गए।

भुवनेश्वरी उप्रेती : नेपाल एकीकरणअघि वर्तमान डँडेलधुरा, डोटी, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरअन्तर्गतका सम्पूर्ण भूभाग डोटी राज्यअन्तर्गत थिए। राज्यको राजधानी अहिलेको डँडेलधुरा जिल्लाको ‘अजयमेरुकोट’ थियो। पछि राज्यको राजधानी डोटीको दिपायलमा सर्‍यो। डोटी राज्य रैका मल्ल राजाहरूबाट शासित थियो। डोटी राज्यमा क्षत्री–ब्राह्मणहरूको बाहुल्य थियो। तीमध्ये उप्रेती, पन्तहरू डोटेली राजाका राजगुरु थिए।

डोटी (डँडेलधुरा)मा उप्रेती, पन्त, भट्टका साथै चटौतहरूको समेत बस्ती थियो। डँडेलधुराको बगरकोटका तिनै चटौत परिवारमा आजभन्दा ३ सय २४ वर्षअघि भुवनेश्वरी चटौतको जन्म भएको थियो। भुवनेश्वरीको विवाह डँडेलधुराकै हाटगाउँका प्रधुम्न उप्रेतीसँग भएको थियो। भुवनेश्वरीको चल्तीको नाम नर्मदादेवी थियो।

भुवनेश्वरी जन्मिँदाको डोटी (डँडेलधुरा)मा शिक्षा कुनै अवसर थिएन। ब्राह्मण समुदायमा छोराहरूलाई घरमै शिक्षक राखेर पढाउने चलन थियो। घरमै शिक्षकद्वारा पठनपाठन गरिने हुँदा ती परिवारका छोरीहरूले समेत संग्ला अक्षर चिन्न पाउँथे। सोही कारण भुवनेश्वरीसमेत सामान्य अक्षर लेख्न पढ्न सक्ने भएकी थिइन्।

विवाहपछि भुवनेश्वरीमा एकाएक ‘महाभारत’ पढ्ने इच्छा जागृत भयो। सो कुरा उनले परिवारका सदस्यहरूलाई सुनाइन्। त्यसपछि परिवारले उनलाई महाभारत उपलब्ध गरायो। संस्कृत भाषामा रहेको महाभारत भुवनेश्वरीले अक्षरश: वाचन गरिन्। त्यसपछि उक्त महाभारत ग्रन्थका एक लाख श्लोक हातले हुबहु भोजपत्रमा उतारिन्। भुवनेश्वरीले महाभारतका एक लाख श्लोक उतार्ने काम वि.सं. १७९२ मै पूरा गरेकी थिइन्। संस्कृत भाषाका रहेको महाभारत भुवनेश्वरी उतारेका हस्तलिखित अक्षर अति सुन्दर र आकर्षक छन्। भुवनेश्वेनरी चटौत उप्रेतीद्वारा उतारिएको उक्त महाभारतको पाण्डुलिपि पछि उनका परिवारका शाखा सन्तानले अंशबन्डा गरेका थिए। तीमध्ये भेटिएको एउटा दुर्लभ पृष्ठ सुदूरपश्चिमका साहित्यकार तथा भुवेनश्वरीका माइती खलकका एघारौं पुस्ताका आरडी प्रभास चटौतले प्रभासगीता महाकाव्यमा प्रकाशित गरेका छन् (आर.डी. ‘प्रभास’ चटौत, श्रीमद्भगवद्गीता, प्रभासगीभा महाकाव्य, २०७१ : १०६–१११)।

भुवनेश्वरी चटौत उप्रेती पूर्वराजदूत त्रैलोक्यनाथ उप्रेती, पुष्करनाथ उप्रेती, पूर्वराजदूत डिल्लीराज उप्रेतीकी दस–एघार पुस्ताअघिकी बूढी बज्यै हुन्। पूर्वराजदूत त्रैलोक्यनाथ उप्रेतीले भने विदुषी भुवनेश्वरी उप्रेतीले भागवत लेखेको बताएका छन्। उप्रेतीले लेखेका छन्– ‘हाम्री बूढी बज्यै आफैंले लेखेको हस्तलिखत भागवत पनि थियो। मैले त्यो पुस्तक अहिलेसम्म हेर्न पाएको छैन। अंशबन्डा हुँदा त्यो पुस्तक पनि बाँडिएकाले पन्त परिवारसँग छ भन्ने सुनेको छु’ (त्रैलोक्यनाथ उप्रेती, विगतका पाना, २०६१: ६०)। तर पूर्वराजदूत उप्रेतीले भनेजस्तो भुवनेश्वरीले भागवत नभई महाभारत ग्रन्थ हातले लेखेकी थिइन्। तर, भुवनेश्वरी उप्रेतीको विद्वताबारे राष्ट्रिय त के स्थानीयस्तरमा समेत जानकारी छैन।

ललितत्रिपुर सुन्दरी : राजा रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुर सुन्दरीलाई नेपालको पहिलो लेखिका मानिँदै आइएको छ। योगी नरहरिनाथका अनुसार ललितत्रिपुर सुन्दरीले १८८१ सालमा महाभारतको शान्तिपर्वअन्तर्गतको ‘राजधर्म’ नेपालीमा अनुवाद गरेकी थिइन्। ललितत्रिपुर सुन्दरीको ‘राजधर्म’ जगदम्बा प्रकाशनले २०१९ सालमा छापेको थियो।

योगी नरहरिनाथद्वारा २०१६ मंसिर २० गते मृगस्थलीमा ५० जनाबढी लब्ध प्रतिष्ठितहरूको भेला बोलाई महाभारतको शान्ति पर्वअन्तर्गतको राजधर्मको नेपाली भाषानुवादक रानी ललिता भनेकी श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुर सुन्दरी हुन् भनी निर्णय गराएका थिए (प्रा.डा. कुमारबहादुर जोशी, पूर्ववत्)। सोही आधारमा ललितत्रिपुर सुन्दरीलाई हालसम्म नेपालको पहिलो लेखिका मानिँदै आइएको हो।

तर, ललितत्रिपुर सुन्दरीले राजधर्म अनुवाद गर्नु ८८ वर्षअघि १७९२ सालमा डँडेलधुराकी भुवनेश्वरी उप्रेतीले महाभारतका एक लाख श्लोक हातले उतारेकी थिइन्। उल्लिखित तथ्यका आधारमा ललितत्रिपुर सुन्दरीभन्दा अघि डँडेलधुराकी भुवनेश्वरी उप्रेती कलम चलाएको देखिन्छ। यस हिसाबले नेपालको पहिलो नारी स्रष्टा भुवनेश्वरी उप्रेती रहेको तथ्य पुष्टि हुन आउँछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.