साउदीमा संविधान दिवस मनाइयो

साउदी : साउदी अरेबियामा संविधान दिवस मनाइएको छ। नेपाल वाणिज्य दूतावास जेद्दाले नवौं संविधान दिवस मनाएको हो।
साउदीको जेद्दा सहरस्थित अलसामामा शुक्रबार संविधान दिवस मनाएको हो। संविधान दिवस असोज ३ गते पर्ने भएपनि साउदीमा भने समय अनुकूल पारेर शुक्रबार कार्यक्रम गरिएको छ।
महावाणिज्यदूत शत्रुधन पोखरेलले सबै जनाले कानुनको पालना गरी कार्यान्वयन गर्नुपर्ने बताए। उनले नेपाल र साउदी अरबबीच पर्यटन, लगानी र व्यापारका लागि महत्वपूर्ण अवसर रहनुको साथै पर्यटन व्यवसायी र व्यापारिक संस्थालाई नेपालमा विदेशी लगानीका अवसर खोजिनुपर्नेमा जोड दिए।
दिवसमा दूतावासले वैदेशिक रोजगारीमा आएर अलपत्र परेका नेपालीलाई उद्धारमा सहयोग गर्ने नेपाली समुदायका व्यक्ति, संस्था लगायत मिडियालाई सम्मान गरिएको थियो।
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा पुगेर अलपत्र परेका दुर्गाबहादुर सुनारको उद्धारका लागि सहयोग गर्ने एनआरएन लगायत सामाजिक संघसंस्थाहरूलाई धन्यवाद दिँदै प्रशंसापत्र वितरण गरिएको थियो।
दूतावासका वाणिज्यदुत भुवन पौडेलको कार्यकाल सकिएको अवसरमा दूतावास लगायत विभिन्न संघ संस्थाले बिदाई समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
