आमा समूहले सञ्चालन गरे दुगुनागढीमा होमस्टे

आमा समूहले सञ्चालन गरे दुगुनागढीमा होमस्टे

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ यार्मासिङलाई ‘होमस्टे हब’का रूपमा विकास गर्न स्थानीय आमा समूह अग्रसर भएका छन्।

ऐतिहासिकस्थल दुगुनागढी र सो क्षेत्र आसपासलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आमा समूह होमस्टे प्रवर्द्धनमा जुटेका हुन्। दुगुनागढी क्षेत्रमा भूकम्पपछि निर्माण भएको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ। 

शेर्पा समुदायको बाहुल्यता रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम गरी गरेर आन्तरिक पर्यटकलाई भित्र्याउन सुरु गरिएको छ। ‘हामीले हरेक घरमा दुईवटा कोठा पाहुनाका लागि छुट्याएका छौं’, आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाले भनिन्- ‘हामीले पाउनालाई यहाँको शेर्पा संस्कृति र परिकारले स्वागत गर्ने गरेका छौं।’

यहाँ आउने पर्यटकहरूलाई होमस्टे सञ्चालकहरूले शेर्पा संस्कृति अनुसार अतिथि सत्कार, जलपान र खानपिन र बसोवासको व्यवस्था गर्दै आएका छन्। आर्थिक स्रोत नभएकाले पर्यटकीय गन्तव्यहरूको व्यवस्थीकरण गर्न सके स्थानीय नागरिकको रोजीरोटी तथा आर्थिक जीवनमाथि उठ्न सक्ने आमा समूहकी अध्यक्ष शेर्पाको भनाइ छ।

यार्मासिङ एकीकृत बस्तीमा एकै प्रकृतिका ५१ वटा घर रहेको छ। सो एकीकृत बस्तीलाई नै स्थानीय आमा समूहले होमस्टेका रूपमा विकास गरेका हुन्। ‘यार्मासिङ होमस्टे’ नाम दिई सञ्चालनमा ल्याइएको सो होमस्टेमा एकै पटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्ने गरी तयार गरिएको छ। 

ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन तथा विकास गराउन होमस्टे सञ्चालन गरिएको स्थानीय खगुवा आङछिरी शेर्पाले बताए। ‘हामी ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्र्याउने अभियानमा लागेका छौं’, शेर्पाले भने।

भूकम्पले पूर्णरूपमा ध्वस्त बनेको गढीको संरक्षण गर्न पुरातात्विक विभाग तथा नेपाली सेनाले विशेष चासोका साथ लागे पनि दुगुनागढीको संरक्षण तथा सम्बर्द्धनका लागि तीनवटै तहका सरकारले खासै चासो नदिएको उनको भनाई छ। ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं’, उनले भने– ‘गढीमा आउने पर्यटकलाई होमस्टेमा राख्ने र यहाँको शेर्पा कला, संस्कृति, खानपान र रहनसहनको रसस्वादन गराउने हाम्रो योजना हो।’

ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यार्मासिङ होमस्टेलाई देशकै नमूना होमस्टेको रूपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए। भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचनाहरू नष्ट भएपनि पुर्नजीवित गर्न लागिएको उनको भनाइ छ। दुगुनागढीमा आउने बाह्य पर्यटकहरूलाई राख्ने उद्देश्यले ३० वर्ष अगाडि थालिएको होमस्टे अवधारण जिल्लाकै पुरानो भएको उनी बताउँछन्। 

‘दुगुनागढी देशकै ऐतिहासिक गढी हो, घुम्नका लागि अन्यन्त्र जानुभन्दा अन्य ठाउँका पर्यटकहरूलाई भित्र्याउन पर्छ भनेर अभियान चलाएका हौं’, शेर्पाले भने– ‘यो अभियानमा यहाँका सबै राजनीतिक दल, व्यापारिक संघ संस्था, सामाजिक संघसंस्था, बुद्धिजीवि, स्थानीयहरू लागिरहेका छौं।’

होमस्टे सुचारु भएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन्। पर्यटकलाई शेर्पा समुदायले गर्ने सत्कार, माया र बोलीवचन नै स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किएका ताप्लेजुङका कृष्ण भुजेलले बताए। 

पर्यटक होमस्टेमा पुग्न साथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन्। पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ। त्यस्तै बेलुका साँझ शेर्पा समुदायले पाहुनाहरूका लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन्। पाहुनाहरूले समेत आफ्नो मौलिक अनुसारको नाचगान लगायत सांस्कृतिक मनोरञ्जन लिने व्यवस्था मिलाएको सञ्चालकहरू बताउँछन्।

पर्यटकहरूलाई बास, खाना तथा आरमका लागि निर्माण गरिएको होमस्टेमा पुग्न लार्चा सुख्खा बन्दरगाहबाट जम्मा ५ किलोमिटर मात्रै माथि पर्दछ। तर कच्ची सडक त्यसमाथि खाल्डाखुल्डी ज्यादै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन निकै कठिनायी झेल्नु परेको होमस्टे सञ्चालक पासाङ शेर्पा बताउँछन्। 

चीनसँग जोडिएको तातोपानी नाकासमेत यही गाउँपालिकामा पर्दछ। भोटेकोशी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकहरूले सोही यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन्। 

भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगाएत दर्जनौ पर्यटकीय स्थलहरूमा पर्यटकहरूका लागि महिनौं दिनसम्म घुम्ने स्थानहरू रहेको गाउँपालिकाले जनाएको छ। 

पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गर्न महत्वका साथ जनप्रतिनिधिहरू लागिरहेको पालिका पासाङ नुर्बु शेर्पाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.