वन्यजन्तुको असफल स्थानान्तरण
चितवन : चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ। यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्।
विगत ३६ वर्षको अन्तरालमा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २ वटा गैंडा लगियो। अहिले त्यहाँ ३८ वटा मात्रै छन्। २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार र २०७३ मा १० वटा गरी १४ गैंडा सारियो। अहिले बल्ल बढेर १७ मात्रै छ। बर्दियामा बढ्नुको सट्टा उल्टै घट्यो र शुक्लाफाँटामा खासै बढ्न सकेन।
यस्तै शुक्लाफाँटाबाट ल्याइएको बारसिंगे चारवटा र साथै कोसीटप्पुबाट ल्याएको १२ र चिडियाखानाबाट ल्याएको ३ गरेर १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा मरे। उनीहरूलाई त्यो स्थान उपयुक्त भएन। स्थानान्तरणपछि वन्यजन्तुको संख्यामा प्रगति नभएको घटनाक्रमले देखाइरहँदा अहिले चितवन राष्ट्रिय निकुञ्जबाट दुइटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्ष लैजाने तयारी गरिएको छ।
माउबाट अलग भएका गैंडाका बच्चा पुष्पा र अञ्जलीलाई स्थानान्तरणको तयारी भइरहँदा संरक्षणकर्मीले नेपालमा वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गरेका छन्। वन्यजन्तु अन्यत्र सार्न उपयुक्त नभएको भन्दै स्थानान्तरणप्रति असन्तुष्टि पोखेका छन्। उचित अध्ययन र छलफल नगरी भएको स्थानान्तरण सफल नभएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव बताउँछन्। उनी अहिले गैंडा सार्न नहुने पक्षमा छन्।
‘बर्दिया र शुक्लाफाँटामा गैंडा बढेन। यहाँ अर्ना र बारसिंगे बाँचेन। घटनाक्रममले वन्यजन्तु सार्दा राम्रो देखिएको छैन,’ यादव भन्छन्, ‘वासस्थान, वातावरण र घाँसेमैदान सबै राम्रो अध्ययन गरेर उचित भए मात्रै गर्नुपर्ने हो। त्यो भएको छैन।’
भारतको उत्तर प्रदेशस्थित दुधवा राष्ट्रिय निकुञ्जलाई असामस्थित काजिरंगा राष्ट्रिय निकुञ्जले गैंडा नदिएपछि नेपालले पठाइएको थियो। नेपालमा भने सहजै स्थानान्तरण हुने गरेको छ। यसरी स्थानान्तरण गरिएको स्थानमा गैंडाको संख्या वृद्धिमा प्रगति देखिएको छैन। सन् १९८६ मा पहिलोपटक, त्यसपछि सन् २००३ र २०१७ मा स्थानान्तरण गरिएको थियो।
सन् २००५ को गणनामा बर्दियामा गैंडाको संख्या ६७ थियो। २००८ मा यो संख्या घटेर २२ मा आयो। सन् २०२१ को गणनाअनुसार बर्दिया निकुञ्जमा ३८ वटा गैंडा छन्। बर्दियाबाट भारतको कतरनियाँघाट वाइल्डलाइफ स्याङचुरीमा जाने गर्छन्। शुक्लाफाँटामा सन् २०१७ मार्चमा १० वटा गैंडा लगिएको थियो। अहिले १७ मात्रै छन्।
घाँसे मैदान, प्राकृतिक बासस्थान र वातावरण उपयुक्त नहुँदा गैंडाको संख्या बढ्न सकेन। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पूर्वप्रमुख रामकुमार अर्यालले राजनीतिक कारण देखाए पनि स्थानान्तरणपछि संरक्षणमा चुनौती भएको बताए।
‘संरक्षण गर्न दुई/तीन हजार संख्या भएको भए सार्दा फरक हुन्थ्यो। एक हजार पनि नपुगेको गैंडा स्थानान्तरण गर्नु उपयुक्त होइन। अहिलेसम्म सफल भएको देखिएन,’ उनले भने, ‘सयको गैंडाबाट सुरु भएको निकुञ्जको स्थापनापछि यहाँ बढ्यो। त्यही संख्याको गैंडा बर्दियामा घटेको छ। तत्काल सार्नु भनेको थप चुनौती बढाउने मात्रै हो। त्यसैले यसो नगर्दा राम्रो हुन्थ्यो।’
पुष्पा चार वर्ष र अञ्जली साढे दुई वर्षको भएको छ। २०७६ सालको माघमा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुरको तमासपुरमा जन्मिएको एक सातामा माउबाट छुट्टिएर हिलोको दलदलमा भासिएको अवस्थामा पुष्पाको उद्धार गरिएको हो। २०७७ को गैंडा गणनाको क्रममा चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरको दिव्यपुरी क्षेत्रमा करिब एक साताको उमेरको अञ्जलीको उद्धार गरिएको थियो।
गैंडाका टुहुरा बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएर गत जेठमा निकुञ्जको लामितालमा छोडिएको थियो। पुष्पा र अञ्जलीलाई असोज १० गते कोसी पठाइँदैछ। अघिल्ला स्थानान्तरणपछिको नतिजा हेरेर गैंडा सार्न उपयुक्त नभएको तर्क संरक्षणकर्मीको छ। क्षेत्रयी होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे वन्यजन्तु सारेपछि सुरक्षाको सुनिश्चितता नभएको आरोप लगाउँछन्। ‘यसअघि गैंडा सारेर भएको क्षतिको जवाफ कसले दिने हो ? हचुवाको भरमा काम गर्दा दुःख गरेर हुर्काएको गैंडा असुरक्षित भएका भए,’ उनले भने, ‘हामी वन्यजन्तु स्थानान्तरणको विरोधी होइनौं। तर, हचुवाको भरमा काम गर्दा नोक्सानी भएको छ। अध्ययन र छलफल नगरी एकैपटक सार्ने निर्णप्रति हाम्रो आपत्ति हो।’