पूर्वराजा ज्ञानेन्द्र भक्तपुर पुग्दा...
भक्तपुर : विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पुरानो ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल भक्तपुर दरबार स्क्वायरमा आइतबार दिउँसो १ बजेदेखि नै निकै भिडभाड थियो। १० वर्षको बालकदेखि ८० वर्षका ज्येष्ठ नागरिकहरू दरबार स्क्वायरको सत्तलमा नेपालको राष्ट्रिय झन्डा हातमा बोकेर बसिरहेका थिए। भीड निकै बढ्दै गयो।
धिमे बाजा, नौमति बाजाहरू घन्किरहेका थिए। सांस्कृतिक महाकाली नाच नाचिरहेका थिए। लामबद्ध हजारौं नागरिक दरबार स्क्वायको गेटदेखि गोल्डेन गेटसम्म लामबद्ध थिए। कोहीको हातमा पुष्प गुच्छा त धेरैको हातमा नेपालका झन्डा हल्लिरहेको थियो। दरबार स्क्वायरको सिंगो प्रांगणमा हजारौं नागरिक र उनीहरूले बोकेका नेपालको झन्डाले राताम्मे देखिन्थ्यो। खाली ठाउँ कतै थिएन, भुइँदेखि, मन्दिरको सिँढी, सत्तल, पेटी मानिसको भीडले खचाखच भरिएको थियो।
करिब सवा तीन बजे पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार स्क्वायरमा प्रवेश गरेसँगै उनका पक्षमा नाराबाजी गरेका थिए। भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नु स्थानीयवासीको आग्रहलार्ई स्वीकार्दै आएका ज्ञानेन्द्रलार्ई तलेजु मन्दिरसम्म पुग्न निकै सकस भयो, त्यो भन्दा ठूलो सकस त उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलार्ई भयो। स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा रामेश्वर थापा सदस्य सचिव रहेको आयोजक समितिका पदाधिकारीहरू, नेपाली सेनाका पूर्व जर्नेल तथा कर्णेलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री टंक ढकाल, राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, मुकुन्द कार्की, भरत जंगम, रमा सिंह, प्रदेश सांसदलगायतले ज्ञानेन्द्रलार्ई स्वागत गरेका थिए।
भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटबाट पैदल हिँडेर भीडमा ठेलिँदै गोल्डेन गेटभित्र प्रवेश गरेपछि भीडलार्ई रोक्न सुरक्षाकर्मीले गेट नै लाउनु पर्यो। करिब १५ मिनेट तलेजुको पूजा एवं दर्शन गरेका ज्ञानेन्द्र पैदल नै जनताको भीडलार्ई छिचोल्दै पाँचतले मन्दिर अगाडि रहेको आकाश भैरब मन्दिर पुगेका थिए। उनलार्ई हेर्न पाँचतले मन्दिरको प्रत्येक सिँढी र आसपासका घर एवं होटलका छतहरू भरिएका थिए।
भैरब मन्दिरमा बेताल देवताको पूजा एवं प्रसाद ग्रहणपछि आकाश भैरबको पूजा एवं दर्शन गरेका थिए। उनलार्ई कार्यक्रमका संयोजक अनन्तप्रसाद धौभडेलले मन्दिरको महत्व र जात्रा पर्वकाबारेमा जानकारी गराएका थिए। मन्दिर भित्र विजयप्रसाद धौभडेललगायत पुजारीहरूले प्रसाद र भैरबको रथको प्रतिक सानो रथ प्रदान गरेका थिए। त्यसपछि बाहिरिएका ज्ञानेन्द्रलार्ई सवारी साधनसम्म पुग्न निकै कठिन भयो।
गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्वराजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भबानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गर्ने आउने क्रममा उर्लिएको जनताको भीड यसअघि सायदै कुनै राजनीतिक दलको कार्यक्रम देखिएको थिएन।
स्थानीयसँग तीन घण्टा लामो भेट
तलेजु भबानी र भैरवानाथको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारीस्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका थिए। करिब तीन घण्टा भन्दा बढी भेटमा बिताएका उनले ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीकोे आवाज सुनेका थिए।
भेट्ने अधिकांशले उनलार्ई देश जेगाइदिन आग्रह गरेका थिए। भेट अवधिभरसँगै बसेका राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले भेटमा अधिकांश नागरिकले देश संकटमा पर्दै गएकाले देश जोगाइदिन आग्रह गरेको बताए। देशविदेशका गलत शक्तिले देशलार्ई धार्मिक एवं सांस्कृतिक द्वन्द्वमा लैजान लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग चिन्ता व्यक्त गरेको जानकारी दिए।