मनास्लु स्याउ प्रवर्द्धन गर्न जुटिन हिमाल आरोही नाङ्साल छोदेन
गोरखा : मनास्लु स्याउ प्रवर्द्धन गर्न हिमाल आरोही नाङ्साल छोदेन जुटेकी छन्। विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी छोदेनले हिमशिखरमा मनास्लुमा स्याउ अंकित पोस्टर पुर्याएकी छन्।
आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले स्थानीय कृषि उत्पादनलाई बढवा दिने उद्देश्यले हिमशिखरमा मनास्लु स्याउ अंकित पोस्टर राखेर तस्बिर खिचाइन्।
उनले भनिन्, ‘मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउ भनेर गाउँपालिकाले पनि ब्राण्डिङ गर्ने निर्णय गरेको हुँदा मैले मनास्लु स्याउलाई महत्व दिएको हुँ।’
मनास्लु ब्राण्ड कुनै खास कृषि फारामको मात्र उत्पादन नभै मनास्लु क्षेत्रमा उत्पादन हुने सबै स्याउको ब्राण्डलाई विश्वमा चिनाउन खोजेको उनको भनाइ छ। कुनै व्यक्तिगत लाभका लागि नभै गाउँपालिकाको उद्देश्य र आफ्नो गाउँ ठाउँको कृषि उत्पादनलाई प्रचार गर्ने पवित्र भावनाले यसो गरेको उनको भनाइ छ।
चुमनुब्री गाउँपालिकाको गत असार १० गते सम्पन्न गाउँसभाले मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउको नामले ब्राण्डिङ गर्ने निर्णय गरेको थियो। आठ हजार मिटर अग्लो हिमालको शिखरबाट कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उनी पहिलो महिला आरोही बनेकी छन्।
उनले आफ्नो चुमनुब्री गाउँपालिकाको व्यानरको पनि हिमशिखरमा तस्बिर खिचाएकी छिन्। आफ्नो गाउँपालिकाको नामलाई सम्मानका साथ उचाइमा पुर्याउन गाउँपालिकाको ब्यानर हिमशिखरमा पुर्याएको उनको भनाइ छ।
मनास्लुको फेदी, सामागाउँकी २५ वर्षीया नाङ्साल छोदेनले आइतबार बिहान विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी हुन्।