ठोरीवासीको गुनासो, सरकारले हामीलाई बारम्बार झुक्याउँदै आएको छ
वीरगन्ज : मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको पर्साको ठोरीमा बुधबार ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ।
ठोरी गाउँपालिका वडा नम्बर २ राइधारास्थित गणेशमान पार्कमा बुधबार औपचारिक कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको हो।
ठोरी २ का वडाध्यक्ष अमृत कृष्ण सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई संघीय सरकार र प्रदेश सरकारले बारम्बार झुक्याइरहेको गुनासो गरे। ठोरीमा संघीय सरकारका मन्त्री आएर आफैंले शिलान्यास गरेको विभिन्न योजनालाई पुर्णता दिन संघीय सरकारले बेवास्ता गरेको आरोप उनले लगाए।
उनका अनुसार गत वर्ष तत्कालीन सहरी विकास मन्त्री मेटमणी चौधरीले ठोरीमा आएर विभिन्न योजनाको शिलान्यास गरेका थिए। २०७८ चैत ११ गते ठोरी मै मधेस सरकारको मन्त्रीपरिषदको बैठक बसेर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन विकासका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको थियो।
तर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको डेढ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन गर्न नसक्नु प्रदेश सरकारकै लागि लज्जास्पद भएको उनले बताए। अध्यक्ष श्रेष्ठले मधेस सरकारले ठोरीलाई हेप्ने गरेको गुनासो गरे। उनले भने, 'संघ र प्रदेश सरकार दुबैले ठोरीलाई अनेक आश्वासन दिएर झुक्याउँदै आएका छन्। ठोरीमा आजसम्म परिणाममुखी काम न मधेस सरकारले गरेको छ न संघ सरकारले गरेको छ।'
पर्यटनका सन्दर्भमा मधेस प्रदेशमै ठोरी जत्तिको सम्भावना बोकेको क्षेत्र अन्य नरहेको बताउँदै उनले अबका दिनमा मधेस सरकार र संघीय सरकारले ठोरीलाई हेर्ने नजरमा परिवर्तन आउनेमा आशावादी भने भएको उनले बताए। उनले भने, 'यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाल अहिले संघीय सरकारको उद्योगमन्त्री बन्नुभएको छ, अब भने केही आशा पलाएको छ।'
कार्यक्रममा ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी,पूर्व वडाध्यक्ष किशोर तामाङ, निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत , समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनाल, पर्यटन व्यवसायी धीरसिंह घिमिरे, अमृत सामुदायिक होमस्टेका अध्यक्ष यादवराज कुँवर लगायतकाले मन्तव्य राखेका थिए।
उनीहरुले पनि प्रदेश सरकारले ठोरीलाई झुक्याएकोमा आक्रोश पोखे। उनीहरुले ठोरीलाई विकास गर्न पर्यटनलाई नै प्रमुख आधार मानेर काम गर्न सके ठोरीको विकास सम्भव रहेको धारणा राखे।
पर्यटन दिवसकै अवसरमा ठोरीको ठुटेखोला पुलमा राष्ट्रिय झण्डा फेर्नुका साथै अरु झण्डाहरु थपिएको छ। पुलमा हालसम्म १२ ओटा झण्डा राखिएकोमा बुधबार थपेर २२ ओटा बनाइएको वडा सदस्य केशरबहादुर भण्डारी जानकारी दिए।
ठोरीमा राइधारा, रानीवन, गणेशमान पार्क, मनमोहनपार्क, सहिदपार्क, सीता गुफा, सेतो भीर, रातो डाँडा, पानीघट्ट, स्टोन पार्क, बौद्ध स्तूप, झरना लगायतका दर्जनौं पर्यटकीय गन्तव्य रहेको छ।