हेलिकोप्टर अनुमति प्रक्रियाको झन्झट

हेलिकोप्टर अनुमति प्रक्रियाको झन्झट
सुन्नुहोस्

ज्येष्ठ नागरिकलाई घरघरै लगेर सामाजिक सुरक्षा भत्ता दिने घोषणा चुनावमा निकै सुनिएको थियो । तर कमै पालिकाका जनप्रतिनिधिले मात्रै त्यसो गरेका छन् । सहरमै पनि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिक तथा अपांगता भएकालाई कठिन छ भने दुर्गमको के कुरा । भीरपाखा छिचोल्दै वडा कार्यालय पुगेपछि मात्रै भत्ता हात पर्छ । घरमै भत्ता पुग्थ्यो भने गोरखाको चुमनुब्री गाउँपालिका–२ स्योका ८० वर्षका छेवा दोर्जे लामा वडा कार्यालय धाउनु पर्थेन । र सोमबार भत्ता बुझ्न जाँदा भीरबाट लडेर उनी घाइते हुनुपर्थेन । घाइते त भए, भए, उद्धारसमेत हुन नसक्नु चाहिँ अर्काे दुर्भाग्य बन्यो ।

दुर्गमका बासिन्दालाई दैनिक जीवनमै यातायातको बडो कष्ट छ । गाडी नपुगिसकेका चुमनुब्रीजस्ता गाउँले आपतविपतमा हेलिकोप्टरकै सहारा लिनुपर्छ । तर सक्नेले आफैं खर्च गरेर हेलिकोप्टरमा उद्धार हुन चाहे पनि त्यो सम्भव हुँदैन । सोमबार पनि छेवा दोर्जेको हालत त्यही भयो । सर्वसाधारणले हेलिकोप्टर चार्टर्ड गर्न यसै मुस्किल हुन्छ । एक त भाडा महँगो हुने भइहाल्यो । अर्काे हेलिकोप्टर उडानको अनुमति लिनै झन्झटिलो प्रक्रिया छ । चुमनुब्री निषेधित क्षेत्र पनि भन्छ सरकार । त्यहाँ त हेलिकोप्टर उडान गृह मन्त्रालयकै अनुमति चाहिन्छ । त्यस्तो पहुँच जो कोहीले कहाँ राख्न सक्नु ? कहाँ पु¥याउन सक्नु ? गोरखाका सांसद राजेन्द्र बजगाईं नै आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा छेवा दोर्जेको उद्धारमा हेलिकोप्टर खटाउन प्रयास गर्दा पनि असफल भए । सांसदले नै चाहँदा पनि अनुमति लिन सकेनन् भने सर्वसाधारणको के कुरा ?

निषेधित क्षेत्रको संवेदनशीलता हेरी र आवश्यकता पहिचान गरेर अनुमति दिएको भए छेवा दोर्जे टाउकोको घाउ लिएर छटपाइरहनु पर्थेन । अरू यस्ता झन्झटका घटना कति छन् कति ! हेलिकोप्टर कुर्दाकुर्दै र प्रक्रिया छिचोल्दा छिचोल्दै कैयौं गर्भवती, सुत्केरी महिला र छेवाजस्ता घाइतेको ज्यान गएको छ । त्यही दुःखको एउटा शृंखलामात्रै सोमबार पुनरावृत्त भएको हो । हेलिकोप्टर उडानका लागि जिल्लाको प्रमुख अधिकारीले अनुमति दिएर नहुने, गृह मन्त्रालयकै चाहिने र त्यो पनि सचिव र गृहमन्त्रीसम्म पहुँच पु¥याउनुपर्ने प्रक्रिया छ । जसका कारण नागरिकको जीउज्यान जोखिममा पर्नु वा मृत्युवरण गर्न बाध्य हुनु भनेको राज्यको गैरजिम्मेवारीपन नै हो । हो, निषेधित क्षेत्रको संवेदनशीलतालाई ख्याल गरिनुपर्छ तर विश्वसनीय प्रक्रियाबाट आएका मागको सम्बोधन गर्ने प्रणाली बसाइएन भने दुर्गमका नागरिकले सधैं अकालमा ज्यान गुमाउनुपर्छ । यस्तो समस्याको अन्त्य अत्यावश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.