नेपाल बारको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु
वीरेन्द्रनगर : सुर्खेतमा नेपाल बार एशोसियसनको केन्द्रीय साधारणसभा सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका छन्।
साधारणसभालाई विधान सभाको रुपमा लिइएको छ। यसपटक आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई वर्षको एकैपटक साधारण सभाभएको हो। साधारणसभामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीसहित एक हजार बढी बारका प्रतिनिधिको सहभागिता छ।
बारको साधारणसभाकै अवसरमा सुर्खेत कांक्रेबिहार, देउति बजै, दैलेख पंचकोशी, कालिकोट तिलागुफा, जुम्ला चन्दनाथ हुँदै मुगु रारा तालसम्मको भ्रमण लगायतका पर्यटन प्रवर्द्धनसँग सम्बन्धित प्याकेजहरू पनि राखिएको अधिवक्ता उमाकान्त न्यौपानेले बताए। उनका अनुसार साधारण सभाकै अवसरमा कर्णालीको पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरु राखिएको छ।