हाङचाओमा पदकको खोजी

हाङचाओमा पदकको खोजी

हाङचाओ (चीन) : अहिले मुलुकको सिंगो खेलकुद क्षेत्र १९औं एसियाली खेलकुदमा होमिएको छ। नेपालका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीसँगै नेतृत्व तहमा रहेका पदाधिकारी चीनको हाङचाओ सहरमा व्यस्त छन्।

एसियाली राष्ट्रको महाकुम्भका रूपमा रहेको १९औं एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। गत असोज ६ गतेबाट सुरु भएको प्रतियोगितामा ४० खेलमा ४ सय ८१ स्वर्ण पदकका लागि खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गरिरहेका छन्। 

आशा गरिएकै खेलमा कमजोर प्रदर्शन

१९औं एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २ सय ५३ जना खेलाडी सहभागी छन्। नेपालले सहभागिता जनाएकामध्ये आधाजसो खेल सम्पन्न भइसक्दा पनि पदक जित्न सकेको छैन। नेपालले पदकको आशा गरेको तेक्वान्दो, उसु, जुडोलगायतका मार्सल आर्ट्सका खेल सम्पन्न भइसकेका छन्। आशा गरिएको अर्को खेल बक्सिङको पनि अधिकांश खेल सम्पन्न भइसकेको छ। पहिलो खेलमा बाई पाएर क्वार्टरफाइनलमा स्थान बनाएकी सरस्वती रानाले शनिबार खेल्दैछिन्। उनले भियतनामकी खेलाडीलाई प्रतिद्वन्द्वी पाएकी छन्। 

एसियाली खेलकुदमा गौरवपूर्ण इतिहास बोकेको नेपाली तेक्वान्दो पछिल्लो चार संस्करणमा पदकविहीन बन्दै आएको छ। एसियाली खेलकुदमा नेपालले अहिलेसम्म २४ पदक जितेको छ। त्यसमध्ये तेक्वान्दोबाट मात्रै सर्वाधिक १५ पदक भित्र्याएको छ। जसमा एक रजतसहित १४ कांस्य छ। सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा तेक्वान्दो र बक्सिङमा नेपालले ४/४ कांस्य पदक जितेको थियो। त्यसपछि तेक्वान्दोले सन् १९९० बाहेक २००६ सम्म हरेक संस्करणमा पदक जित्दै आएको थियो। त्यसयता भने तेक्वान्दोले एसियाली खेलकुदमा पदक जित्न सकेको छैन। 

सन् १९९८ मा थाइल्यान्डमा भएको एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोबाट नेपाललाई पहिलो रजत दिलाएकी थिइन्। त्यसपछि पछिल्लो पटक सन् २००६ को दोहा एसियाली खेलकुदमा दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले तेक्वान्दोबाट कांस्य पदक भित्र्याएका थिए। तेक्वान्दोपछि नेपालले बक्सिङबाट ६, कराँतेबाट २ र प्याराग्लाइडिङमा १ रजत पदक जितेको छ। आशा गरिएको अर्को खेल कराँतेको प्रतिस्पर्धा भने बिहीबारबाट सुरु हुँदैछ।

तेक्वान्दो प्रशिक्षक कुमार लामा घिसिङ उत्साहबिनाको तयारी, छोटो बन्द प्रशिक्षण र अपर्याप्त सेवा सुविधाका बाबजुद पनि तेक्वान्दोले उत्कृष्ट प्रदर्शन गरेको बताउँछन्। ‘अहिले धेरै जना तेक्वान्दोले पदक ल्याएन भनेर कुर्लिरहेका छन्। अरूले सहभागिता मात्रै जनाउँदा उत्कृष्ट प्रदर्शन हुने तेक्वान्दोले चाहिँ पदक नै ल्याउनुपर्छ भन्ने भावना छ ?’,उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘सरकारले तेक्वान्दोलाई प्राथमिकतामा राखे पनि पर्याप्त सेवासुविधा दिएन। पूर्ण कोटा भने पनि मिक्स टिमको कोटा नदिँदा तेक्वान्दो पदकबाट वञ्चित हुन पुग्यो।’ 

भलिबल प्रशिक्षक जगदीश भट्ट नेपालले अझै थुप्रै खेलमा प्रतिस्पर्धा गर्न बाँकी रहेकाले अहिले नै पदकका विषयमा टीकाटिप्पणी गर्ने समय नभएको बताउँछन्। ‘पदकका विषयमा अहिले नै टीकाटिप्पणी गर्ने समय भएको छैन। हामीले अझै थुप्रै खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ’, उनी भन्छन्, ‘प्रतिस्पर्धा नै नगरी पदक आउँदैन। पदकका लागि खेल्नै पर्छ।’

कमजोर तयारी

प्रशिक्षक घिसिङ एसियाली खेलकुदका लागि नेपालको तयारी निकै कमजोर रहेको दाबी गर्छन्। ‘नेपालले १९औं एसियाली खेलकुदमा कुन–कुन खेलमा सहभागिता जनाउने भन्ने निर्णय नै समयमा गर्न सकेन। कतिपय खेलको टुंगो त प्रतियोगिता सुरु हुनुभन्दा एक÷डेढ महिनाअघि मात्रै गरिएको छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा कहिले खेलाडी छनोट गर्ने अनि कहिले प्रशिक्षण सुरु गर्ने ? तयारी नै कमजोर भएपछि पदकको आशा राख्नु व्यर्थ हो।’ उनी पदक जितेन भनेर खेलाडीलाई मात्रै दोष दिनुभन्दा सम्बन्धित निकायले पनि आत्मालोचना गर्नुपर्ने बताउँछन्। 

भलिबल प्रशिक्षक भट्ट पनि योजनाबिनाको तयारीले प्रतिफल नदिने भएकाले एसियाली खेलकुदका लागि हामीले स्पष्ट योजना बनाउन नसकेको बताउँछन्। ‘हामीले हरेक कुरामा योजना र पूर्वतयारी गर्नुपर्छ। एसियाली खेलकुदका विषयमा हामीले न योजना बनाउन सक्यौं न त यथेष्ट तयारी नै। कोरोना महामारीका कारण एक वर्षपछि धकेलिँदा पनि हामीले अन्तिम समयसम्म कुरिरह्यौं’, उनी भन्छन्, व्यवस्थापकीय हिसाबले काम गर्न नसकेकै कारण आक्कलझुक्कल मात्रै पदक आइरहेको छ।’

नाम मात्रको वैदेशिक प्रशिक्षण

विशेष प्रशिक्षणका लागि स्वदेशमा पूर्वाधारको अभाव देखिएपछि १९औं एसियाली खेलकुदलाई लक्षित गर्दै नेपालले केही खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पनि पठाएको थियो। तेक्वान्दोको पुम्से टोली मलेसिया, ग्योरोगी थाइल्यान्ड, बक्सिङ भारत, उसु चीन, रग्बी मलेसिया, भारोत्तोलन साउदी अरेयिबा, पौडी इजरायल र टेबुलटेनिसको  वैदेशिक प्रशिक्षण दक्षिण कोरियामा भएको थियो।

तर, वैदेशिक प्रशिक्षणमा सहभागीहरूले त्यसको अवधि निकै छोटो भएको, पुरानै प्रशिक्षण शैली अपनाइएको भन्दै असन्तुष्टि जनाएका थिए। ‘वैदेशिक प्रशिक्षण पनि नाम मात्रकै भयो। विदेश गएर पनि हामीले नेपालको जति पनि सेवा सुविधा पाउन सकेनांै’, एक प्रशिक्षक भन्छन्, ‘विदेश गएर पनि स्वदेशको जतिकै सेवा सुविधा र एक्सपोजर पाइएन भने त्यसको के महत्र्व रहन्छ र ?’ 

२४ बाट २९ खेल पुर्‍याइयो

राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित ‘हाई परफमेन्स कमिटी’ले सुरुमा एसियाली खेलकुदमा २४ खेलमा सहभागी हुने निर्णय गरेको थियो। तर, युवा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलगायतको प्रत्यक्ष दबाबमा खेल संख्या बढाएर २९ पुर्‍याइएको थियो। ‘हाई परफमेन्स कमिटी’को सुझावका आधारमा पहिले तेक्वान्दो, महिला फुटबल, साइक्लिङ, थ्री बाई थ्री बास्केटबल, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, कराँते, स्क्वास, पौडी, फेन्सिङ, टेबुलटेनिस, भलिबल, जुडो, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, ह्यान्डबल, कुस्ती, सुटिङ, कबड्डी र गल्फमा सहभागिता जनाउने निर्णय गरेको थियो। पछि डान्स स्पोर्ट्स, क्यानोइङ, ई–स्पोटर््स, उसु र रग्बी गरी पाँच खेल थप गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू भने ‘हाई परफमेन्स कमिटी’को सुझावकै आधारमा थप खेलहरू पनि समावेश गरिएको बताउँदै आएको छ। 

टिम व्यवस्थापकको चर्चा

हाङचाओस्थित हाङचाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १९ औं एसियाली खेलकुदको उद्घाटनको तयारी भइरहँदा नेपालमा भने टिम व्यवस्थापकमा रहेका व्यक्तिहरूलाई लिएर चर्चा सुरु भएको थियो। सम्बन्धित खेलकुदसँग सम्बन्ध नै नभएका राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीलाई टिम व्यवस्थापक बनाइएको भन्दै चर्को आलोचना भएको थियो। टिम व्यवस्थापक सम्बन्धित संघका पदाधिकारी वा सो खेलसँग सम्बन्धित विज्ञ हुनुपर्ने प्रावधान रहे पनि राष्ट्रिय खेलकुद परिषद्ले संघको अधिकार र कोटा खोसेर आफ्नो कर्मचारीलाई टिम व्यवस्थापक बनाएको थियो। 

टिम व्यवस्थापकका विषयमा सबैभन्दा बढी विवाद उसुमा भयो। वीरबहादुर तामाङ नेतृत्वको नेपाल उसु महासंघले नारायण गिरीलाई टिम व्यवस्थापक तोकेको थियो। महासंघका उपाध्यक्षसमेत रहेका गिरीको ‘एक्रिडेसन कार्ड’समेत बनेको थियो। यसबीचमा राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त उसु महासंघ आफ्ना महासचिव नवराज ढुंगानालाई टिम व्यवस्थापक बनाउन लागिपरेको थियो। तर, उनको ‘एक्रिडेसन कार्ड’ आएन।

दुई महासंघबीचको झगडाको फाइदा उठाउँदै परिषद्ले कराँते प्रशिक्षक दीपक श्रेष्ठलाई उसुको टिम व्यवस्थापक बनाएको थियो। श्रेष्ठलाई उसुको टिम व्यवस्थापक बनाइएपछि उनको निकै आलोचना भयो। राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा कराँते महासंघका अध्यक्ष युवराज लामाले एउटा खेलको प्रशिक्षक अर्को खेलको व्यवस्थापक बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए। त्यसपछि बुधबार र बिहीबार यी दुईबीच सामाजिक सञ्जालमा जुहारी नै चलेको थियो। दीपकले आफू उसुको नभई कराँतेको व्यवस्थापक भएको जिकिर गरेका थिए। तर, परिषद्को टिम व्यवस्थापकको सूचीमा भने उनको नाम उसुमै छ। 

यसैगरी पूर्वओलम्पियन तथा तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई गल्फको टिम व्यवस्थापक बनाएको विषयले पनि निकै चर्चा पायो। धेरैले दुई दीपकको विदेश मोहलाई लिएर आलोचना पनि गरेका थिए। तेक्वान्दो प्रशिक्षक विष्ट तेक्वान्दोबाट कोटामा नपरेपछि अर्कै संघको टिम व्यवस्थापक बनेका थिए। श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् भने विष्ट पूर्वअध्यक्ष। खेलाडीको हिकहितका लागि गठित संस्थाका व्यक्तिहरू नै अरूको कोटा खोसेर विदेश भ्रमणका लागि मरिहत्ते गरेकोमा धेरैले आलोचना गरेका छन्। 

यसैगरी राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेत, पूर्वमहासचिव फणीन्द्र पौडेल, डिल्लीराम काफ्लेलगायत पनि विभिन्न खेलको टिम व्यवस्थापक बनेर हाङचाओ आएका छन्। कुमार क्यानोइङ, फणीन्द्र डान्स स्पोर्ट्स र डिल्लीराम कबड्डीको टिम व्यवस्थापकको भूमिकामा छन्। 

असम्बन्धित खेलको टिम व्यवस्थापक बन्नेमा परिषद्का कर्मचारीमात्रै होइन, विभागीय टोली नेपाल पुलिस, एपीएफ र आर्मीका खेलकुद हेर्ने व्यक्तिहरू पनि छन्। पुलिसका रुकेश तन्डुकार सुटिङ, एपीएफका सुधीर सुवेदी कुस्ती र आर्मीका मुनाल बस्नेत एथलेटिक्सको टिम व्यवस्थापकको भूमिकामा हाङचाओ आएका छन्। 

क्रिकेटको कीर्तिमान 

१९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले नवप्रवेशी मंगोलियालाई २ सय ७३ रनले पराजित गर्दा कीर्तिमानको ओइरो लागेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटिएको थियो। टीट्वेन्टी क्रिकेटमा कुनै पनि टोलीले तीन सयको आँकडा पूरा गरेको यो पहिलो पटक थियो। यस्तै मंगोलियाविरुद्धको जित पनि सबैभन्दा फराकिलो जित थियो। 

टीट्वेन्टी क्रिकेटमा नेपाललाई कीर्तिमानी जित दिलाउन कुशल मल्लले १ सय ३७ रनको अविजित शतकीय पाली खेलेका थिए। कुशलले ३४ बलमै शतक प्रहार गर्दै टीट्वेन्टी क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान नाममा लेखाए। यसअघि टीट्वेन्टीमा सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेशविक्रम शेखरले ३५ बलमा शतक प्रहार गरेका थिए।
यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए। पाँच सयभन्दा बढी स्ट्राइक रेटमा रन बनाउने दीपेन्द्र पहिलो खेलाडी बने। १० बलमा ५२ रन बनाउँदा उनको स्ट्राइक रेट ५ सय २० थियो। मंगोलियाविरुद्ध ३ सय १४ रन बनाउँदा १५.७ को रनरेटमा नेपालले रन बनाएको थियो। जुन अहिलेसम्मकै उच्च हो। उक्त खेलमा नेपाली खेलाडीले २६ छक्का प्रहार गरेका थिए। जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ छक्का हिर्काएका थिए। एकै खेलमा सर्वाधिक छक्का पनि यही खेलमा प्रहार भएको हो। यसअघि अफगानिस्तान र वेस्ट इन्डिजले एकै खेलमा २२ छक्का हानेका थिए। 

पदक भित्र्याउन अबको रणनीति

नेपाल एसियाली खेलकुदको पछिल्लो २५ वर्षदेखि पदकबाट वञ्चित भएको छैन। हरेक संस्करणमा एउटा भए पनि पदक भित्र्याउँदै आएको छ। हाङआचो एसियाली खेलकुदमा पनि सबैको ध्यान पदकमै केन्द्रित छ। नेपालले आशा गरेका खेलहरू सकिँदा पदकको सम्भावना कम हुँदै गएको बताए पनि सदस्यसचिव घिसिङ भने नेपालले पदक जित्नेमा आशावादीजस्तै देखिन्छन्। १९औं एसियाली खेलकुदको मुख्य लक्ष्य उत्कृष्ट प्रदर्शन गर्ने र पदक तालिकामा आफूलाई उभ्याउने रहेको बताउँदै त्यहीअनुसारको तयारी गरेर चीन आएको उनी बताउँछन्।

‘१९औं एसियाली खेलकुदको मुख्य लक्ष्य उत्कृष्ट प्रदर्शन हो। यससँगै नेपाललाई पदक तालिकामा उभ्याउनु पनि हो’, नेपाली टोलीका सेभ द मिसनसमेत रहेका घिसिङ भन्छन्, ‘खेलाडीहरू पनि उच्च मनोबल लिएर हाङचाओ पुगेका छन्। हामी पदक जित्नकै लागि यहाँ आएका हौं।’ उनले खेलकुदलाई ग्रासरुट तहबाटै व्यवस्थित बनाउन यसअघिका नेतृत्व चुकिरहेको बताउँदै परिषद्को अहिलेको नेतृत्व गम्भीर रूपमा लागेको बताए। 

प्रशिक्षक कुमार लामा घिसिङ भने पदकको सम्भावना कम हुँदै गएको र दुई/तीन महिनाको तयारीले पदकको आशा राख्नु गलत भएको बताउँछन्। ‘राज्यले एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितामा ठूलो जमात बोकेर ल्याउने होइन। अब खेलहरूको प्राथमिकीकरण हुनु जरुरी छ। त्यहीअनुसार संघलाई पनि सेवासुविधा दिनुपर्छ। संघलाई सबल बनाएर तयारीको सम्पूर्ण जिम्मा सुम्पिनुपर्छ’, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका कुमार लामा घिसिङ भन्छन्, ‘एसियाली खेलकुदका लागि हाम्रो तयारी नै पुगेन र हामीले खेलभित्र पनि इभेन्टहरूलाई प्राथमिकीकरण गर्न नै सकेनौं।

आयोजक चीनबाहेक तेक्वान्दोमा कुनै पनि राष्ट्रको पूर्ण टिम छैन। तर, हामीले क्वालिटीमा भन्दा क्वान्टिटीमा ध्यान दियौं। जम्बो टोली बनायौं। जुन आवश्यक नै थिएन।’ उनी एउटा स्पष्ट योजना बनाएर अहिलेदेखि नै तयारी थाल्ने हो भने एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनु नपर्ने बताउँछन्। 

यसैगरी भलिबल प्रशिक्षक भट्ट १९औं एसियाली खेलकुदमा ओलम्पिकमा भन्दा बढी खेलाडी सहभागी भएको बताउँदै हाम्रो प्रदर्शन कस्तो भयो र त्यसबाट के सिक्यौं भन्ने बहस हुनुपर्नेमा जोड दिन्छन्। ‘यस पटक अहिलेसम्मकै जम्बो टोली हाङचाओ आएको छ। धेरैको खेल सम्पन्न भएर स्वदेश पनि फर्किसकेका छन्’, उनी भन्छन्, ‘चीनमा हामीले के सिक्यौं भन्ने कुराको बहस हुनुपर्छ र त्यही अनुरूप योजना पनि बनाउनु पर्छ।’ 

नेपालले १९औं एसियाली खेलकुदमा कुन–कुन खेलमा सहभागिता जनाउने भन्ने निर्णय नै समयमा गर्न सकेन। कतिपय खेलको टुंगो त प्रतियोगिता सुरु हुनुभन्दा एक/डेढ महिना अघिमात्रै गरिएको तयारी नै कमजोर भएपछि पदकको आशा राख्नु व्यर्थ हो। 
– कुमार लामा घिसिङ, तेक्वान्दो प्रशिक्षक

नेपालले अझै थुप्रै खेलमा प्रतिस्पर्धा गर्न बाँकी रहेकाले पदकका विषयमा अहिले नै टीकाटिप्पणी गर्ने समय भएको छैन। हामीले अझै थुप्रै खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ। आशा गरिएका खेलहरू पनि छन्।
– जगदीश भट्ट, भलिबल प्रशिक्षक 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.