हेर्दाहेर्दै काँधको सरिया (लुगा लौरी) आफैं भाँचिन्छ। सुन्नेले त पत्याउनै सक्दैन यो यथार्थ। घटनास्थलमै पुगेर साक्षात् देख्नेलाई पनि पत्याउन कठिन पर्छ।
हेर्दाहेर्दै काँधको सरिया (लुगा लौरी) आफैं भाँचिन्छ। सुन्नेले त पत्याउनै सक्दैन यो यथार्थ। घटनास्थलमै पुगेर साक्षात् देख्नेलाई पनि पत्याउन कठिन पर्छ। त्यति मोटो फलामको डन्डी अचानक अनि अचम्म तालले कसरी भाँचिन्छ ? प्रत्यक्षदर्शीले पनि केही समय आफैंलाई प्रश्न गरिरहन्छ। अचम्म तालले भाँचिने लुगा लौरी हो कुमाल जातिको कुलदेवता देहडुको पैठ (पूजा) मा धामी काँप्दै देउमल कुमालको।
मानिसहरू त्यो शक्ति देखेर दंग पर्छन्। हरेक जात्रालुले मोबाइल वा क्यामेरामा धामीले काँधमा राखेर सरिया भाँचेको फोटो र भिडियो कैद गर्छन्। जुन शक्ति प्रदर्शन हेर्नकै लागि कालीकोटका साथै आसपासका दर्जनौं जिल्लाबाट खचाखच भीड लाग्छ। धेरैका आशा अपेक्षाका साथै धमेलो हाल्ने र चामल हेराउनेहरूको पनि उत्तिकै घुइँचो लाग्छ। कालीकोटको पचालझरना गाउँपालिका–५, बाँचकोट दहडु देवता र धामी देउमल कुमालका कारण सधैं चर्चामा छ।
बाँचकोट देहडु कुलदेवताको धानमा हरेक वर्ष एकादशी तिथिका दिन पूजा हुन्छ। स्थानीय भाषामा पैठ भन्छन्। पोहोर परारझैं सोमबार पनि देहडुको थानमा भव्य मेला लाग्यो। मेलाको मुख्य आकर्षण हुन्– देउमल कुमाल। उनी हाल ६२ वर्षका भए। झन्डै १८ वर्षको उमेरमा उनी सरिया
देउमलका बाजे धनवीरे कुमाल धामी हुँदादेखि नै देउमललाई देउता आउँथ्यो। धामी काँप्ने गरेका थिए। उनका बाजेको मृत्यु भएपछि देउमलले धामी काँपेर देउताको थानमा राख्ने लुगा लौरी (सरिया) भाँचेपछि गाउँका सबैले उनलाई नै धामी बनाए। त्यसपछिका हरेक वर्ष उनले यसरी नै लुगा लौरी भाँच्दै आएका छन्। प्रत्येक वर्ष देहडुको थानमा नयाँ लुगा लौरी बनाउनु पर्छ। विगतका वर्षहरूमा झै यस वर्ष पनि देउमलको शक्ति प्रदर्शन भएको हो।
काँधमा बोकेको लुगा लौरी भाँचियो। कुमालको बस्ती बाँचकोट आएपछि यस देवताको धामी स्यामे कुमाल थिए। त्यसपछि रने कुमाल धामी भए। उनले ६० जति फलामका डन्डी भाँचे। त्यसपछि रामसिँगे कुमाल धामी भए। उनले पनि थुप्रै रड भाँचे। त्यसपछि धनवीरे कुमाल धामी भए। उनले पनि दर्जनौं रड भाँचे। हालका धामी देउमलले एक सयभन्दा बढी रड सरियाको लुगा लौरी बाँचिसकेका छन्। उनी हरेक वर्ष देवताको पूजामा एक रड भाँचेकै हुन्छन्।
बाँचकोटमा कुमाल जातिको ८२ घर छन्। दुईवटा बाजेका सन्तान फाट्दाफाट्दै ८२ घरधुरी बने। स्थानीय ७५ वर्षीया वयोवृद्ध स्थानीय अग्रज कन्ने कुमालका अनुसार करिब दुई सय वर्ष अगाडि दैलेखको दुल्लुदरा तिलापाटाबाट कालीकोटको कालीकोट गाउँ (कालिका मुग्राहा) हुँदै बाँचकोट बसाइसराइ गरेर आएका थिए कुमालका दुई बाजे मैरे कुमाल र धनसिंगे कुमाल। उनी दुईजनाको परिवारबाट हाल ८२ घर पुगेका हुन्। उनीहरूसँगै आएको कुलदेवता देहडु हो। जसको धामी एक परिवार र डाँग्री (पुजारी) एक परिवार हुँदै आएका छन्। जसको धामी हुन् देउमल कुमाल।
कालीकोटमा रहेका अन्य मष्टो देवताका १२ भाइले पनि देवताका भित देखाउने (शक्ति देखाउने) क्रम हराउँदै गएका बेला देहडुका धामी देउमलले पुर्खादेखीका धामीले देखाउँदै आएको शक्ति कायम राख्नुले यसको महत्त्व बढाएको छ। जात्रुहरूको आकर्षण पनि बढिरहेको छ। कालीकोटमा रहेका अन्य मष्टो देवता दारेमष्टाले लामो दाँत देखाउने, सिमष्टाले हातमा नुन देखाउने, खोदाई मष्टाले मृग देखाउने, बज्यूमष्टाले आगोको रापभित्र छिरेर धामी काप्नेलगायतका १२ भाइ मष्टाका आआफ्नै शक्ति देखाउने तरिका छन्। तर यी सबै मष्टाका धामीले पछिल्लो समय आफ्नो शक्ति हरेक वर्ष देखाउन छाडिसके।
तर पनि देहडुका धामी देउमलले भने पुर्खादेखिको शक्ति प्रदर्शन हरेक वर्ष निरन्तर देखाउँदै आएका छन्। स्थानीय सुवर्ण कुमालले भन्छन्, ‘देहडुका धामी देउमलको शक्ति प्रदर्शनले बाँचकोटमा पैठ हेर्न आउने सबै दंग पर्छन्। त्यसै शक्तिका कारण यहाँ आउने दर्शकको हरेक वर्ष भीड नै लाग्ने गरेको छ। साँच्चिकै धार्मिक संस्कृति र स्थानीय देवीदेवताप्रतिको विश्वास बढाएको छ।’
गाउँका न्यायालय देवीदेवताका थान
कालीकोटमा परापूर्वकालदेखि गाउँका जनताका लागि न्यायालय भनेकै देवीदेवताका थान हुन्। परापूर्वकालमा जिल्लाका अड्डा अदालतसँग जनताको सहज पहुँच थिएन। सदरमुकाम आउन नदी र खोलानालाले पुलहरू पनि बनेका थिएनन्। जतिबेला गाउँका हरेक टोलमा देवताका थान र धामीहरू भेटिन्थे। गाउँका मानिसको पहुँच देवीदेवतासँग सहज थियो। कालीकोटको खाँडाचक्र नगरपालिका– १ निवासी पूर्वजिविस सभापति कटकबहादुर शाही भन्छन्, ‘गाउँका मान्छेहरू अड्डा अदालतभन्दा गाउँका देवीदेवताको बढी भर र विश्वास मान्ने गरेका छन्।’
मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भए। मुलुकमा संघीयता आएपछि गाउँगाउँका सिंहदरबार पनि आए। पचालझरना गाउँपालिका–८ बज्युमष्टाका धामी नयरूप सन्ज्याल भन्छन्, ‘गाउँका सिंहदरबार अर्थात् गाउँमा रहेका स्थानीय सरकारले न्यायिक समिति बनाएका छन्। तिनका कामहरू पार्टी आस्थासँग जोडिएर हुन्छन्। जसलाई गाउँका न्यायालय पनि भन्छन्। तर त्यसमा जनताको विश्वास खासै छैन। जसका कारण उनीहरूसँग जनताका सबै किसिमका गुनासा नै जाँदैनन्। तर एकजना धामीसँग वर्षमा हजारौं जनताका अपेक्षा, गुनासा र उजुरीहरू आउने गरेका छन्।’
अहिले पनि अड्डा अदालतमा धेरैजसो टाठाबाठा र हुनेखानेहरू मात्र जान्छन्। गाउँका गरिब निमुखाहरूको न्यायालय त देवीदेवताका थान नै छन्। रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्की भन्छन्, ‘बिनापैसा जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन्। गाउँमा केही घटना हुन् वा वादविवाद। जेजस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास अहिले पनि छ।’ उनका अनुसार, धर्म, संस्कृतिअनुसार सन्तानका लागि भाकल गर्ने, विवाह व्रतबन्ध, लगन र साइतजस्ता कामका लागि पनि ग्रामीण बस्तीमा देवता गुहार्ने चलन छ। देवीदेवताको डरले यहाँका बासिन्दा अपराध गर्न पनि डराउने गरेको स्थानीयको भनाइ छ।
व्यक्तिगत समस्यामा ग्रामीण बस्तीमा देवता गुहार्ने चलन अहिले पनि रहेको जिल्ला बारका अध्यक्ष दमनराज बम पनि बताउँछन्। उनी भन्छन्, ‘देवताका अगाडि हरेक मानिसले आफूले गरेका कमजोरी स्वीकार्छन्। परम्परादेखि पुजिँदै आएका मस्टो, धवलपुरो, कालाशिल्लो, कैलाश, महादेव, नैनेल, महाबै जगन्नाथ, खापरलगायतका देवीदेवताका मन्दिर गाउँका लागि न्यायालय हुन्। त्यहाँका धामीले झैझगडा, जारी, चोरी, जग्गा, जमिन, साँध सिमाना, अंशबन्डाजस्ता मुद्दाको फैसला माडु (थान)बाटै गर्ने चलन छ। त्यसलाई सबैले मान्ने पनि गरेका छन्। अदालतमा पुगेका मुद्दामा समेत देवता पुकारेर मिलापत्र हुने गरेका उदाहरण पनि छन्। अदालतमा झुट बोलेको मान्छेले पनि देवताको मन्दिरमा सत्य बोल्ने गरेको उनको अनुभव छ।
कर्णालीको पहिचान मष्टो संस्कृति
भाषा–संस्कृति र परम्पराको हिसाबले कर्णाली भरिपूर्ण छ। घरघरमा कलाकार र कलाकारिता छ। त्यतिमात्र नभई धार्मिक आस्थाका ऐतिहासिक धरोहर कर्णालीमा थुप्रै छन्। तीमध्ये एक हो, कर्णालीको मष्टो सस्ंकृति। अहिले पनि कर्णालीमा जीवित छ यो। खस जातिका कुल देवताका रूपमा लिइने (मष्टो देवता) कर्णालीवासीका घरघरमा छन्। इतिहासअनुसार मष्टो सस्ंकृतिको उद्गमस्थलसमेत कर्णाली प्रदेशको जुम्ला सिन्जालाई मानिन्छ।
पछि भारतको कुमाउ गड्वाल हुँदै नेपालका बझाङ, बाजुरा, डोटी डँडेलधुरा, अछामलगायत जिल्लामा मष्टो प्रचलन सुरु भएको पाइन्छ। छैटौं शताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ। त्यसको चार सय वर्षअघि जुम्लाबाट गई कुमाउँ गडवालमा खस जातिले राज्य गरेको देखिन्छ। त्यसैले जुम्लाबाट जहाँ गए पनि त्यही रहेका खस जातिले मष्टो देवता पुज्ने गर्छन्।
जुम्लाबाटै सुदूरपश्चिमभरि खस जातिसँगै मष्टा देवताको पूजा गर्ने चलन सुरु भएको संस्कृतिविद् रमानन्द आचार्य बताउँछन्। उनका अनुसार हिन्दु धर्मका ठकुरी, बाहुन, क्षेत्री, सन्न्यासी, कामी, दमाई, सार्की गन्धर्व, वादी, राउटेलगायतका जातिहरू कुलदेवताको रूपमा मष्टोको पूजाआजा गर्दछन्। नेपाली भाषाको उद्गमस्थल जुम्लामा मष्टो संस्कृतिको ऐतिहासिक महत्त्व छ। मष्टोले पश्चिम नेपालको खस संस्कृतिमा गहिरो प्रभाव पार्दै आएको छ।
बझाङ, बाजुरा र अछाममा मष्टो संस्कृतिअनुसार चैतली मेलामा (कसु कसु देवले उपायो चैतल मष्टा गोसाई, देवले इन्द्र चैतल पाई) भन्ने फाग गाएको पाइन्छ। जो सुर्ती साईको सम्बत् १५४७ देखि १६२४० को एउटा कागजमा मष्टो शब्दको उल्लेख छ। जुुम्लामा हरेक दुई महिनाको अन्तरमा मष्टो मेला लाग्छ। आफूले चाहेको कदम पूरा होस् भनेर फूलअक्षता चढाउनेभन्दा आफूले चाहेको सोचेको पूरा भएको खुसीमा मष्टो देवतालाई खसी बोका चढाउने भक्तजनको ताँती लाग्छ। भन्छन्, मष्टो संस्कृति कर्णालीको मौलिक पहिचान हो।