चोरलाई चिनेपछि पोल खुल्ने डरले बुहारीको हत्या, जेठाजुसहित ३ जना पक्राउ
वीरगन्ज : पर्सामा दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या उनकै जेठाजुहरूले गरेको खुलेको छ। जगरनाथपुर गाँउपाालिका वडा नम्बर ५ मसिहानीमा स्वर्गीय सनिक राउतकी पत्नी ५६ वर्षकी कान्तीदेवी बिनको घाँटी रेटेर हत्या गरिएको अवस्थमा असोज २३ गते घरभित्रै शव भेटिएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार घटना विवरणसहित सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा मृतकका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमेरिका राउत बिन तथा मसिहानीकै ३६ वर्षीय लालबाबु राउत बिन छन्। लालबाबुलाई असोज ७ गते तथा चन्द्रिका र अमेरिकालाई असोज १४ गते पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले जानकारी दिए।
प्रहरीका अनुसार असोज १ गते मध्यरातामा चन्द्रिका, अमेरिका र लालबाबु तीनै जना मृतक कान्तिदेवीको घरमा चोरी गर्न सुरुङ खनेर पसेका थिए। उनीहरूले बाक्सा खोतल्ने क्रममा घरमै सुतिरहेकी कान्तिदेवीले ब्युँझिएर चिनेपछि पोल खुल्ने डरले उनीहरूले कान्ति देवीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक शाहले बताए।
तीनै जनाले कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएपछि सिरानीले मुख थुनेर खुर्पी (धारिलो हतियार)ले घाँटी रेटेर हत्या गरेको पक्राउ परेकामध्येका लालबाबुले बयानका क्रममा स्वीकारेको प्रहरी उपरीक्षक शाहले बताए।
उनका अनुसार मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोष्टमार्टमपछि शव बुझेर पक्राउ परेका जेठाजु चन्द्रिकाले नै दाहसंस्कार गरेका थिए।
आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो।