काठमाडौं : मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’
जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ। ‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुनसक्छ। त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं।’ मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन्। चरम मौसमी अवस्थाहरू पनि देखिएका छन्। अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ।
जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागार्इं जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुनसक्ने बताउँछन्। पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ। हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो। तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ।’
पहिला जूनदेखि सेप्टेम्बरलाई मनसुन ‘सिजन’ भनिन्थ्यो। त्यही बेला पानी पनि धेरै पथ्र्यो। तर, सन् २००० यता अक्टोबरसम्म पनि पानी पर्न थाल्यो। अक्टोबरको दोस्रो सातासम्म पनि पानी परिरह्यो। पहिला सेप्टेम्बर २३ सम्ममा मनसुन सकिन्छ भन्ने औसत अनुमान हुन्थ्यो। अहिले अक्टोवर २ मा मौसम बाहिरिने आकलन गरिए पनि उक्त मिति अझै पछाडि सर्दैछ।
हुमागार्इंका अनुसार बंगालको खाडीमा न्यून चापीय प्रणाली अझै पनि सक्रिय छ। त्यसले दक्षिणपूर्व तिरबाट पानी पर्ने जलवाष्पयुक्त हावा आइरहेको छ। त्यसले मनसुन लम्बाउने गर्छ। जब न्यून चापीय क्षेत्र सर्दै जान्छ तब मनसुन सकिने क्रममा आउँछ। पर्सिबाट मात्रै नेपालमा पानी कम पर्ने जस्तो देखिने हुमागार्इंले बताए।
वरिष्ठ मौसमविद् पौडेलले भने, ‘मनसुन ठूलो परिघटना (फेनोमेनन) भएकाले प्रशान्त महासागरको अवस्था कस्तो हुन्छ। त्यहाँको समुद्र कति तातिन्छ। त्यसको आधारमा पनि नेपालको मनसुनमा परिवर्तन हुने बताउँछन्।
मनसुनमा ‘ग्लोबल इफेक्ट’ पनि हुन्छ। त्यसैले सबै कुरा हेरेर मात्र मनसुनको आगमन र बहिर्गमनको बारेमा भन्न सकिन्छ।’ मनसुन ढिला बाहिरिँदा नेपाल जस्तो मुलुकमा खाद्य सुरक्षालाई चुनौती हुन्छ। वनस्पति तथा बालीनालीमा प्रभाव पार्छ। निरन्तर चक्रको प्रक्रियामा पनि प्रभाव पार्नेछ। चरम घटनाहरू बढ्न सक्छन्। जीवित वस्तुमा असर त छँदैछ।
पौडेलका अनुसार मनसुनको भित्रिने तथा बाहिरिने प्रक्रिया वातावरणीय परिघटनाका मापदण्डका आधारमा हुन्छन्। वायुमण्डलको सिस्टमहरू हेर्नुपर्ने हुन्छ। मनसुनको चार महिना बंगालको खाडीबाट मनसुनी वायुहरू नेपालको पूर्वतिरबाट आइरहेको हुन्छ। विस्तारै पश्चिमि वायुले धकेल्नुपर्छ। पूर्वीवायु कमजोर हुँदै जानुपर्छ। ‘हाइप्रेसर सिस्टम’को विकास हुँदैजान्छ। समुद्रमा विस्तारै जाडो समय सुरु हुन्छ। यता पनि विस्तारै जाडो सुरु हुन्छ। यस्ता विभिन्न कुरा हेरेर मनसुन बाहिरिने मापदण्ड बनाएको हुन्छ।
तर, सामान्यतया मनसुनी वायु पूर्वी नेपालबाट लगातार आएमा वर्षा हुन्छ। सकिने बेलामा पनि पश्चिममा पानी पर्छ र पश्चिमी वायु पनि आइरहेको छ भने त्यसपछि मनसुन छोड्ने संकेत बुझ्न सकिन्छ।
तर, मनसुनको आगमन र बहिर्गमन निकै महत्वपूर्ण मानिन्छ। सन् २०२१ मा मनसुन सकिएपछि भएको वर्षाले किसानका धान खेतमै कुहिएको थियो। जल तथा मौसम विज्ञान विभागले सही सूचना जनमानसमा पु¥याउन नसकेको भन्दै निकै आलोचना पनि खेप्नुपरेको थियो। त्यतिबेला १६६ मिलिमिटरसम्म वर्षा भएको थियो। नेपालका प्रायजसो भूभागमा पानी परेकाले अत्यन्त ठूलो क्षति बेहोर्नु परेको थियो। यो वर्ष पनि मनसुन कम्तीमा अझै एक सातासम्म सक्रिय रहने भएकाले विभागले किसानलाई सचेत गराएको छ। विभागले सोमबार विज्ञप्ति जारी गर्दै धान काटिएको भए यथाशीघ्र भिœयाउन वा नकाट्न सुझाएको छ। यो वर्ष सामान्य मितिभन्दा एक दिन ढिलो (जून १४) मा मनसुन भित्रिएको थियो।
विभागले यस मनसुनमा औसतभन्दा कम पानी पर्ने भन्दै सचेत गराएको थियो। तर, देशभरीबाट मनसुनको तथ्यांक आएपछि मात्रै कति पानी प¥यो भन्न मिल्ने पौडेलले बताए। उनले भने, ‘हालसम्म हेर्दा औसतभन्दा कम पानी परेको छ।’