बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा...

काठमाडौं : दार्जिलिङको घुममा जन्मिएर नेपालको काठमाडौंलाई कर्मथलो बनाए पनि कोकिलकण्ठी गायिका दिलमाया खातीले बुधबार जन्मस्थानमै देहत्याग गरिन्। अतिरूपा खाती र नन्दलाल खातीकी तीन सन्तानमध्ये कान्छी दिलमाया थिइन्। आजीवन अविवाहित उनले ८४ वर्षको उमेरमा देहत्याग गरेकी हुन्।
गायक एवं संगीतकार हिरण्य भोजपुरेले दिलमायाको निधन नेपाली गीत–संगीतका लागि अपूरणीय क्षति भएको बताए। ‘दिलमायाको स्वरमा बेग्लै आनन्द दिने आभाष थियो, उहाँको स्वरमा आफ्नै पन र शैली थियो’, रेडियो नेपालका लोकप्रिय प्रस्तोता अमेरिकामा रहेका उनले फोनसम्पर्कमा अन्नपूर्णसँग भने, ‘धेरैको स्वर अरूसित मिल्छ तर उनको नितान्त पृथक थियो। नेपाली सुगम संगीतको इतिहासमा बेग्लै स्थान बनाएकी उनी यसकारण अमर बन्नेछिन्।’
रेडियो नेपालमा रोदी र चौतारी चर्चित कार्यक्रम थिए। दुवै कार्यक्रम पाण्डव सुनुवार र भोजपुरे भएर सञ्चालन गर्थे। भोजपुरे सम्झन्छन्, ‘धेरै स्रष्टालाई हाम्रो संस्कृति कार्यक्रममा ल्याएँ तर उहाँलाई ल्याउने अवसर जुरेन तर उहाँका गीतचाहिँ पाण्डवजी र मैले खुबै बजायौं।’ ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा... बोलको गीत आफूलाई अत्यन्तै मन परेको उनको भनाइ छ।
दिलमायाले १९ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गरेकी थिइन्– ‘मनमा तिम्रो प्रित बसोस्।’ १९३९ अक्टोबर ६ तारिखमा जन्मिएकी दिलमाया सर्वप्रथम २०१६ सालमा साथी कृष्ण कन्दङ्वाले बोलाएर नेपाल आएकी थिइन्। उक्त कुरा थाहा पाएपछि शिवशंकर, नातिकाजी र तारादेवी भेट्न पुगे। ‘राम्रो गाउनु हुँदोरहेछ’ भन्दै उनीहरूले दिलमायालाई ‘रेडियो नेपालमा गाइदिनु पर्यो’ भनेको चलचित्रकर्मी प्रकाश सायमी सुनाउँछन्। त्यसपछि दिलमायाले रेडियो नेपालमा ‘मनमा तिम्रो प्रित बसोस्...’ बोलको गीत पन्नाकाजी शाक्यसँग गाएकी थिइन्। ‘उक्त गीत रेडियो नेपालबाट बजेकै कारण दिलमाया दार्जिलिङमा लोकप्रिय हुनुभयो’, सायमी सम्झन्छन्, ‘दार्जिलिङकै कर्म योञ्जनको पहिलो संगीतमा गोपाल योञ्जनको पहिलो गीत सावन फर्की फेरि आयो, त्यो पापी आएन बोलको युगल गीत उहाँले गाउनुभयो।’
दार्जिलिङमा भएको प्रतियोगितामा गाएको उक्त गीत सर्वोत्कृष्ट भयो। ‘अर्की गायिका अरुणा लामाले यहाँ फूल नखिलेछ बहार आउन नै भुलेछ बोलको गीत गाइन्। यी दुईजनाको प्रतिस्पर्धा यति चर्को भएछ कि निर्णायक कमिटीले ‘दार्जिलिङ नगर गायन प्रतियोगिता’मा दुवैलाई प्रथम घोषणा गरेका थिए।’ क्यासेट उत्पादन र बिक्रीवितरण गर्ने कम्पनी केसिडे उक्त गीत रेकर्ड गर्न भारतको कलकत्तामा दिलमायालाई पठायो। गीत रेकर्डमात्र भएन, ‘पपुलर’ पनि भयो।
‘यो बुझेर नारायण गोपाल काठमाडौंबाट दार्जिलिङ जानुभयो र दिलमायासँग भन्नुभएछ– मसँग युगल गीत गाउनुहुन्छ ?’, सायमी थप्छन्, ‘दिलमाया चकित पर्दै र डराउँदै अल्मलिएपछि कर्म योञ्जनले चिनाइदिनु भएछ– नारायण गोपाल राम्रो गायक हो अनि राम्रो मान्छे पनि।’ त्यसपछि गोपालले पनि हाँसेर ‘मसँग डराउनु पर्दैन, म तपाईंको दोस्त हुँ। तपाईं पनि मेरो दोस्त हो’ भन्नुभएछ। त्यसपछि दिलमाया र नारायण गोपाल एकअर्कामा ‘दोस्त’ ‘दोस्त’ भनेर सम्बोधन गर्न थालेको बताइन्छ। नारायण गोपालले इन्द्रेणी रेकर्डस्बाट आठवटा गीत रेकर्ड गर्ने मौका पाएका थिए। त्यसमा दुइटा युगल गीत थियो। एउटा दिलमायासँग गाउनुभयो।
‘२०१८ सालको कुरो हो, बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा भन्ने बोलको गीत गोपाल र दिलमायाले कलकत्तामा रेकर्ड गराउनुभयो। त्यो गीत हिट भयो’, सायमी सम्झन्छन्। पछि अर्को पनि गीत गाउनुभयो– तिमी देख्दा रहर मेरो जागेर आउँछ। कर्म र गोपाल योञ्जनकै संगीतमा खातीले धेरै गीत गाएकी छन्। खोकीले चापेपछि खातीले झन्डै २०/२५ वर्ष गाउन बन्द गरिन्। एक हिसाबले गायन क्षेत्रबाट अलग्गिइन्।
फेरि साथीकै घर ललितपुरको बखुण्डोलमा आएको थाहा पाएर सायमीले दिलमायासँग रेडियो सगरमाथा एफएममा २०५६ फागुनमा एक घण्टाको अन्तर्वार्ता गरे। धेरैले बिर्सिसकेकी गायिका अझै हुनुहुन्छ भनेर थाहा पाएपछि धेरैले उनीसँग सम्पर्क राखे। ‘गाउन छोडेको’ भने पनि नमानेपछि दिलमाया पुनः सामान्य गतिमै भए पनि फर्किइन्। रत्नबहादुर खड्गीले खातीले आफ्नो अन्तिम एल्बममा ‘खोलाको किनार भो’ बोलको गीत रेकर्ड गराए। यस्तै हरसाँझ, तिम्रो बिछोडमा फूल बोलका गीत रेकर्ड भए। दिमलायाको पुनरावलोकन भयो। नेपाली संगीतमा सचिन सिंह, डा. किराँत, आलोकश्री आदिको संगीतमा उनले गीत गाइन्। यसरी पुनः २०६१ सालमा ‘दिलमाया’ एल्बम निकालेर दार्जिलिङ फर्किइन्। त्यसपछि पनि बेलाबेला काठमाडौं आइरहने उनी एलर्जी र कफले गाउन र अन्तर्वार्तामा बोल्नसमेत उनले अत्यन्तै कम गरिन्।
सायमीका अनुसार, तीन साताअघि दार्जिलिङ घुममा भदैनी सरिता दर्नालले सिलगुडी लगेर उपचार गराएर ल्याएपछि अलि ठीक थियो। पुनः गाह्रो भएपछि दार्जिलिङकै अस्पतालमा लगे पनि डाक्टरले घरै लैजान सुझाव दिएको सरिताले बताएकी थिइन्। उनले भनिन्, ‘बुधबार बिहान ३.३० बजे फुपू दिलमायाले देह त्याग गर्नुभयो।’ नेपालबाट दिलमायाका दुईवटा एल्बम ‘बचाई राख’ र ‘दिलमाया’ निस्किएका थिए। उनले १५० भन्दा बढी गीत गाएको सहकर्मीहरूको भनाइ छ। भनिन्छ, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ पहिले दिलमायाले गाएको र पछि त्यही गीत तारादेवीले गाएकी थिइन्। यस्तै दिलमायाले गाएर हिट भएको गीत ‘तिम्रो जस्तो मुटु मेरो पनि...’ पनि पछि अनुमति लिएर स्वर सम्राट नारायण गोपालले गाएका थिए।
नेपालमा लोकप्रिय भएको उनको अर्को गीत हो– ‘सम्झेर बुझेर दिइहाल जोबन, आँखा लोभी मन पापी बुझ्दैन यो मन...।’ दार्जिलिङ सुटिङमा आएको बखत अन्तर्वार्ताका क्रममा बलिउडका निर्देशक राजकपुरले दिलमायालाई गाउन लगाएपछि तपाईंको स्वर लता मंगेश्वरजस्तो राम्रो रहेछ भनेका रहेछन्। राजकपुरले ‘बम्बै बोलाएँ भने आउनुपर्छ है’ भनेको वाक्य उनको जीवनको सबैभन्दा ठूलो पुरस्कार बनेको दिलमायाले बेलाबखत भन्ने गरेकी रहिछन्। ‘बोलाइएन तर जिन्दगीभर उहाँको त्यो बोलीले प्रेरित गर्यो’ दिलमायाले भन्ने गर्थिन्।
प्रतिक्रिया दिनुहोस !
