सुरक्षापरिषद् बैठक : धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि बढे

‘सेना ‘स्टान्डबाई’ रहनु’

‘सेना ‘स्टान्डबाई’ रहनु’
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बुधबार बसेको बैठकमा सहभागी। तस्बिर : प्रम सचिवालय

काठमाडौं : धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधि बढ्न थालेपछि सरकारले कुनै पनि बेला सेना परिचालन गर्नुपर्ने अवस्थासहितका विषयमा छलफल गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बुधबार बसेको बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको र आवश्यक परे सेना परिचालनसमेत गर्नुपर्ने विषयलाई केन्द्रमा राखेर छलफल भएको उच्च स्रोतले जनाएको छ। 

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले जारी गरेको प्रेस विज्ञप्तिमा पनि धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको उल्लेख छ। स्रोतका अनुसार बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाका सबै युनिटहरूलाई ‘स्टान्डबाई’ (उच्च सतर्क) अवस्थामा रहन निर्देशन दिएका थिए। सार्वजनिक विज्ञप्तिमा भने बैठकमा सुरक्षा चुनौती समाधानका विषयमा छलफल भएको उल्लेख छ।

‘पछिल्ला केही दिनहरूमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरू, विभिन्न प्रदेशहरूको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरू तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा समेत छलफल भयो,’ विज्ञप्तिमा भनिएको छ। 

बुधबार बसेको परिषद्को ३१औं बैठक हो। सो बैठकले धार्मिक तथा जातीय सद्भाव बिग्रदा राष्ट्रिय सुरक्षामै असर पर्न सक्ने सम्भावनालाई नजर राखी सुरक्षा सतर्ककता कायम राख्ने निर्णय गरेको बताइएको छ। बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ। 

पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सरकारले शान्ति सुरक्षाका लागि सेनालाई अघि सार्ने तयारी गरेको हो। नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ। त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ। बुधबार केही खकुलो पारिए पनि कर्फ्यु अनिश्चित छ। 

सरकारले मंगलबार मन्त्रिपरिषद्मा विशेष प्रस्ताव पारित गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको थियो।

‘सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न–नगराउन’ सरकारको अपिल छ। नेपाल प्रहरीले पनि  यस्ता गतिविधि गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.