पोखरियामा बजार अनुगमन, १० पसललाई कारबाही
वीरगन्ज : पर्साको पोखरिया नगरपालिका-४, पोखरिया बजारमा अनुगमन गरी १० वटा पसललाई कारबाही गरेको छ। पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवको नेतृत्वमा गठित अनुगमन समितिले पोखरिया बजारमा बिहीबार अनुगमन गर्ने क्रममा १० वटा पसललाई कारबाही गरेको हो।
उपमेयर रुबी ठाकुरको निर्देशनमा बिहीबार खटिएको टोलीले होटल, औषधी, कस्मेटिक, पान, फलफूल लगायतका पसलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहीन सामान फेला परेपछि ३ वटा किराना पसल, दुई वटा होटल, एउटा औषधी पसल, दुई वटा कस्मेटिक पसल र दुई वटा फलफूल पसललाई कारबाही गरिएको श्रीवास्तवले जानकारी दिए।
म्याद गुज्रिएका र गुणस्तरहीन सामान जफत गरिएको उनले बताए। कारबाहीमा परेका पसलका सञ्चालकहरूलाई शुक्रबार नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उनले बताए।
अनुगमन टोलीमा पशु अस्पताल पोखरियाका प्रमुख कौशल कुमार झा, पोखरिया अस्पतालका डाक्टर सन्जय गुप्ता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रा, शिक्षा शाखा प्रमुख विजय कुमार झा, सामाजिक शाखा प्रमुख बाल्मिकी साह, प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह लगायतको सहभागीता थियो।